इलाम, ३० साउन । चार दलको १६ बुँदे सहमतिका आधारमा आएको संविधानको मस्यौदा नसच्याए विद्रोह हुने आदिवासी र धार्मिक नेताले चेतावनी दिएका छन् ।
शनिबार इलाममा ‘पहिचान र धर्म निरपेक्षता नागरिक संघर्ष समिति इलाम’ ले आयोजना गरेको कार्यक्रमका वक्ताले अन्तरिम संविधानमा समेत व्यवस्था भएका आदिवासी जनजातिका अधिकारलाई कटौती गरिएको मस्यौदा सच्याउन माग गरे । आदिवासी नेता तथा धार्मिक गुरुहरूको उपस्थिति रहेको कार्यक्रमका वक्ताले मस्यौदाले उत्पीडित समुदायलाई युद्धको उद्घोष गरिएको मस्यौदा नसच्चिए परिणाम ठीक नहुने चेतावनी दिए ।
नेपाल आदिवासी महासंघ इलामका कानुनी सल्लाहकार यामप्रसाद लिम्बूले आदिवासी जनजातिको समानता, न्याय, धर्म निरपेक्षता र उत्पीडित समुदायको मुक्तिको लागि नयाँ आन्दोलनको सुरुआत भएको उद्घोष गरे । ०१९ सालदेखि हिन्दुस्तानको सहयोगको लागि नेपाललाई हिन्दूराज्य बनाउन थालिएको स्मरण गराउँदै उनले अहिले हिन्दूराज्य माग गर्नु राजतन्त्र फर्काउनु सरह भएको दाबी गरे । उनले यस्तो कदम प्रतिगामी भएको भन्दै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको अन्दोलनमा लाग्न सबैलाई आग्रह गरे ।
महासंघका निर्वतमान अध्यक्ष किरण सुनुवारले चार दलीय सिन्डिकेटले ल्याएको संविधान मस्यौदालाई सच्याउन दलहरूसँग माग गरे । उनले मस्यौदा नसच्चिए युद्धका लागि तयार हुन आदिवासी जनजातिलाई आग्रह गरे । अहिलेसम्म राज्यले हिन्दूको मात्र पक्षपोषण गर्दै आएको बताउँदै सुनुवारले यदि हिन्दूराज्य कायम गरिए गाउँगाउँमा हिन्दू मन्दिर भत्काउने र चोकचोकमा सामूहिक गाई काट्ने चेतावनी दिए । उनले भने, ‘हिन्दूले हतियार उठाइसकेका छन् । हामी आदिवासी जनजातिले हतियार उद्याउँदै छौँ । यसको जिम्मा राज्यले लिनुपर्छ ।’
किरात धर्मका तर्फबाट किरात साम्यो नालिफुङ्वाका केन्द्रीय अध्यक्ष विक्रमवनेम फागोले चार दलीय सहमतिमा आएको संविधानको मस्यौदाले मुलुकको सबै धर्म सम्प्रदायको पहिचान संरक्षण नहुने भएकोले यसलाई सच्याउनुपर्नेमा जोड दिए । पहिचान र धर्म निरपेक्षताको विरोधमा हिन्दू धार्मिक सम्प्रदायले हिन्दूराज्यको माग गर्नु एकल जातीय शासन सत्ताको माग गर्नु भएको भन्दै फागोले हिन्दूधर्मको मागले देशलाई भारत बनाउन खोजेको आरोप लगाए । ‘अन्तरिम संविधानमा धर्म निरपेक्ष भइसकेको देशलाई फेरि अतिवादीले धार्मिक द्वन्द्वमा फँसाएको छ’ उनले भने ‘यसले अन्य धार्मिक समुदायलाई कि मर्ने कि मार्ने अवस्थामा पु¥याएको छ ।’
अध्यक्ष फागोले आदिवासी नेतृत्वले आदिवासीको मुद्दामा गम्भीर हुनुपर्नेमा जोड दिँदै आदिवासी जनजाति, महिला, अल्पसंख्यक, दलित, मधेसीको हक, अधिकार, अवसर सुनिश्चित गराउन वर्तमान संविधानसभाका आदिवासी सदस्यले राजीनामा दिएर सडकमा आउनुपर्नेमा जोड दिए ।
स्वार्गिक मार्ग समाजका अध्यक्ष कर्ण सम्पाङले सबै धर्मको साझा अधिकार सुनिश्चित हुनुपर्ने माग गरे । उनले साझा अधिकारले मात्र सबैको बाँच्ने अधिकार ग्यारेन्टी हुने विचार राख्दै धर्म निरपेक्ष नभए देशमा धार्मिक विद्रोह हुने उल्लेख गरे । बौद्ध धर्मका लामा गुरु हिसिनोर्बु लामाले चार दलको निर्णय नसच्याए धर्मयुद्ध हुने सम्भावना बढेको बताए । दलीय स्वार्थले देशलाई यो अवस्थामा पु¥याएको भन्दै उनले सबै आदिवासी जनजाति आआफै सचेत हुनुपर्ने बेला आएको बताए ।
महासंघका जिल्ला अध्यक्ष राजु राईले राज्यले आदिवासी जनजातिको हकअधिकार अवसर सुनिश्चत गर्न माग गर्दै यसका लागि सम्पूर्ण आदिवासी जनजाति एक भएर आन्दोलनमा लाग्न आग्रहसमेत गरे ।
यसअघि संघर्ष समितिको आयोजनामा हजारौँको संख्यामा ¥याली निकालिएको थियो । विभिन्न जातीय भेषभुषासहित ठूलो टुँडीखेलबाट सुरु भएको ¥याली चोक बजार, नारायणस्थान, धोवीधारा हुँदै चोकबजार आएर कोणसभामा परिणत भएको थियो ।
प्रतिक्रिया