‘आगो लगाउनेहरूसँग एमाले मिल्दैन’

– एमाले खण्ड र अखण्डको नाममा आगो लगाउनेसँग मिल्ने होइन, त्यसलाई निभाउन लागिपर्छ, दमकल लिएर त्यहाँ पुग्छ
– एमाले सेक्टरको कुरा पनि गर्दैन, समग्र देशको कुरा गर्छ, सबै मिलेर मुलुक बनाउने काममा लागिपरौँ
– एमाले कुनै जातीय र क्षेत्रीय संगठन होइन, त्यसकारण क्षेत्र र जातको कुरा होइन, मुलुकको कुरा गर्छ

काठमाडौं, २७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातजाति र खण्ड–अखण्डका नाममा आगो लगाउन खोज्नेहरूको साथ नदिएर आगो निभाउने काममा लाग्न एमालेका सभासद्हरूलाई निर्देशन दिएका छन् ।
प्रदेशहरूको सीमांकनसँग असन्तुष्ट थारु, आदिवासी, जनजातिलगायत विभिन्न क्षेत्रका सभासद्हरूलाई ओलीले बुधबार संविधानसभा भवनमा सम्बोधनका क्रममा भने, ‘आगो लाउँछु भन्नेहरूलाई साथ दिने होइन, निभाउने काम एमालेको हो । जसले आगो लाउँछ एमाले त्यहाँ दमकल लिएर जान्छ ।’
वरिष्ठ नेता माधवकुमार नेपालसहित असन्तुष्ट सभासद्हरूलाई सम्बोधन गरेका ओलीले एमालेले ‘सेक्टर’का कुरा होइन, समग्र देशको कुरा गर्नुपर्ने बताए ।
अहिले प्रस्तावित ६ प्रदेश मोटामोटी रूपमा ठीक भएकाले ठूलो परिमार्जन नहुने पनि ओलीले प्रस्ट पारे । ‘सबैका माग पूरा गर्ने हो भने कसैका माग पनि पूरा हुँदैनन्, एउटाले धान रोप्न पानी पार्दे भन्छ, अर्कोले बिस्कुन सुकाउन घाम चाहियो भन्छ, अब भन्नुस् कसको माग पूरा गर्ने ?’ ओलीले भने । एमाले कुनै जातीय, क्षेत्रीय संगठन नभएकाले सिंगो देशको कुरा गर्ने बताए । ओलीले भने, ‘आवेग र उत्तेजनामा आउनेबेला यो होइन, तर्कपूर्ण ढंगले केही कुरा आएका छन् भने त्यसअनुसार सामान्य परिमार्जन हुनसक्छ ।’
संविधान जारी नहुन्जेल केही सच्याउन सकिने भन्दै ओलीले पटक–पटक सच्याउँदा झन् अप्ठेरो पर्ने भएकाले सबै कुरा एकैपटक सच्याउने तयारी भइरहेको उनले बताए । आफ्ना जनजाति र थारु अनि मधेसी सभासद्लाई अफ्रिकी मुलुक रुवान्डाको उदाहरण दिँदै उनले जातीय विषय बुझ्न सक्यो भने गौरवपूर्ण विषय हुने तर बुझ्न नसके रुवान्डाको हालत हुने चेतावनी दिए । ‘रुवान्डामा एउटा मान्छेले आफ्नी आमा अर्कै जातकी भएको थाहा पाएपछि आमालाई मारेको घटना कथा होइन, सत्य हो,’ उनले भने ।
कुनै पनि हालतमा मुलुकलाई जातीय विद्वेषमा लैजाने ढंगले र भविष्यमा जात–जातबीच वैमनस्य आउने खालको प्रदेश नबनाउनेसमेत ओलीले प्रस्ट पारे ।

प्रतिक्रिया