काठमाडौं, २७ साउन । प्रमुख चार राजनीतिक दलले सीमा निर्धारणलगायत महत्वपूर्ण पक्षमा जनताबाट आउने न्यायोचित सुझावलाई समेटिने जनाएका छन् ।
नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा बसेको चार दलका शीर्ष नेताको बैठकले संविधानको मस्यौदामा केन्द्रित भएर सुझाव आइरहेको हुँदा उपयुक्त सुझावलाई विभिन्न चरणमा सम्बोधन गर्न सकिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए । उनले भने, ‘न्यायोचित र तर्कपूर्ण सुझावलाई ग्रहण गरेर स्थान दिन हामी तयार छौँ, छलफल चलिरहेको छ । मंगलबारै संयुक्त वक्तव्य जारी गरेर आग्रह गरिएको छ । संविधानसभाबाट पनि सुझाव आएको छ । सबै सुझावको उचित सम्बोधन गरिन्छ ।’
जनताबाट आएका जायज सुझावलाई आआफ्नो माध्यमबाट केन्द्रमा ल्याउने व्यवस्था मिलाइएको नेताहरूले बताएका थिए । बैठकमा सीमा निर्धारणपछि मुलुकका विभिन्न स्थानमा उत्पन्न परिस्थितिका बारेमा विश्लेषण गर्नुका साथै आगामी कार्यदिशाका सन्दर्भमा गहन छलफल भएको थियो । बैठकमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार थिए ।
प्रतिक्रिया