काठमाडौं, २५ साउन । महोत्तरी र प्युठानमा भएको दुई छुट्टाछुट्टै बस दुर्घटना हुँदा १८ यात्रुको मृत्यु भएको छ भने एक सय घाइते भएका छन् । प्युठान सदरमुकाम खलंगाबाट बांगेफेदी जाँदै गरेको यात्रुवाहक बस प्युठान नगरपालिका–३ खलंगा ब्यारेकनजिकै दुर्घटना भएको छ । दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
६ जनाको घटना स्थलमै, तीन जनाको अस्पतालमा उपचारका क्रममा र एकको उपचारका लागि भैरहवा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । घटनास्थलमै मृत्यु हुनेमा प्युठान नगरपालिका–१५ का ३२ वर्षीय माया केसी, तोरबाङ–५ निवासी नरेन्द्र जिसी, सवारी चालक तोरबाङ–६ का दानबहादुर पोख्रेल, निर्धन उत्थान बैंकमा कार्यरत दाङ गढवाकी सीता पण्डित छन् । थप दुईको सनाखत हुनसकेको छैन ।
यस्तै, उपचारका क्रममा प्युठान नगरपालिका–२ खलंगाका ३१ वर्षीय सन्देश सुनार, कपिलवस्तु सिरुगढी–४ का १७ वर्षीय लंकबहादुर राहु मगर र एक महिला रहेको स्वर्गद्वारी लाइफ केयर हस्पिटल बाग्दुलाले जनाएको छ । उपचारका लागि भैरहवा लैजाँदै गर्दा खैरा–६ का ५३ वर्षीय हस्तबहादुर बस्नेतको मृत्यु भएको आफन्तले जनाएका छन् ।
स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसायी समितिको ना३ख ८३८३ नम्बरको बस मोटरसाइकललाई साइड दिने क्रममा सडकबाट करिब दुई सय मिटर तल खसेको छ । घाइतेको नेपाली सेना, नेपाल प्रहरी र स्थानीय समुदायले उद्धार गरेका थिए । दुई पहाडबीचको खोँचमा बस खसेकाले उद्धारमा समस्या भएको थियो । घटनास्थलमा नेपाल रेडक्रस सोसाइटी प्युठानले प्राथमिक उपचार गरेको थियो ।
दुर्घटनामा घाइते १७ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । गम्भीर घाइते १२ जनालाई विभिन्न अस्पतालमा रिफर गरिएको छ । ७ जनालाई स्वर्गद्वारी लाइफ केयर हस्पिटलले भैरहवा मेडिकल कलेजमा रिफर गरेको अस्पतालका निर्देशक ज्योति कुँवरले बताए ।
रिफर हुनेमा कोहलपुरका ३१ वर्षीय चित्रबहादुर ओली, खैराका ५३ वर्षीय नारायण केसी, दाङ लमहीका ६० वर्षीय हरिबहादुर श्रेष्ठ, प्युठान नगरपालिका–३ का सञ्जय गिरी, प्युठान नगरपालिका–२ का रावल घर्ती, नेपाली सेनामा कार्यरत स्याङ्जाका २३ वर्षीय लोकराज राना र प्युठान नगरपालिका–९ का ३२ वर्षीया मञ्जु धिताल, बाँदिकोट–१ का ५२ वर्षीय पीतबहादुर एमसी, मन्ठाना–३ का २८ वर्षीया सावित्रा केसी, बिजुली–५ उदिककी ५६ वर्षीया कृष्णमाया थापा, तोरवाङ–८ का २० वर्षीय रवि विष्ट, खवाङ–२ का २३ वर्षीय राहुल घर्ती छन् ।
१६ घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । दुर्घटनाका घाइतेमा अर्खा–६ का ५२ वर्षका ज्ञानबहादुर विक, अर्खा–३ का ५८ वर्षीय प्रेमबहादुर थापा, प्युठान नगरपालिका–१ कसेरीकी २२ वर्षीय पवित्री नेपाली, धरम्पानी–२ का २३ वर्षीय गणेशबहादुर कुँवर, प्युठान नगरपालिका–३ की २० वर्षीया केसरी राना, प्युठान नगरपालिका–३ का १९ वर्षीय यशोदा राना, सारी–१ की ४० वर्षीया हिमा भण्डारी, तुषारा–५ का २३ वर्षीय बालु गिरी, बाँदिकोट–६ का ४६ वर्षीय रामबहादुर केसी, बाँदिकोट–४ का ५२ वर्षीय खदेवबहादुर विक, नारिकोट–५ का ४४ वर्षीय टीकाराम पुरी, ढुंगेगढी–१ का ३७ वर्षीय धर्मासरी सेढाईं, ढुंगेगढी–१ की ५४ वर्षीया फनिसरा राई मगर, नारिकोट–६ का ५० वर्षीय चिरञ्जीवी केसी, अर्खा–६ का ५२ वर्षीय मनबहादुर विक, अर्खा–६ का ६० वर्षीय रतिमान राना र धर्मावती–४ का सागर पाण्डे घाइते भएका छन् ।
महोत्तरीको बर्दिवास–५ स्थित पाटुमा तीर्थयात्री चढेको बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन् । मृतक कसैको पनि सनाखत हुनसकेको छैन । दुर्घटनामा घाइते भएकामध्ये आठ जनाको अवस्था गम्भीर रहेको छ । बिपी राजमार्गस्थित बर्दिवास–५ पाटुमा सिन्धुलीको हतपतेस्थित लंगुर खोलाबाट बोलबम तीर्थयात्री चढेर फर्कंर्दै गरेको ज१ख ५२९ नम्बरको बस दुर्घटनामा परेको हो । बस राजमार्गबाट करिब ३० मिटर तल खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले मृतकको संख्या बढ्नसक्ने जनाएको छ । तीर्थयात्री अझै बसमा च्यापिएका हुनसक्ने अनुमानका कारण घटनास्थलमा अबेर रातीसम्म स्थानीय, प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ । बस घुक्तीमा मोड्न खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शी प्रेमबहादुर भुजेलले जानकारी दिए । बसमा यात्रुहरू खचाखच रहेको र ओभरलोड रहेको उनले बताए ।
प्रतिक्रिया