रौनक मधुश्रावणीको

mithila‘सखी फूल लोढ चलु फुलबरिया,
सीताके सँग सहेलिया, कोई बेली फुल लोढे चमेली फुल लोढे,
कोई लोढेला चम्पाके कलिया, सीताके सँग सहेलिया….’
यस्तैयस्तै सुमधुर गीतले हिजोआज मिथिला क्षेत्र गुन्जायमान भइरहेको छ । जब नवविवाहित महिलाहरू सोह्रशृंगार गरेर गीतहरू गाउँदै समूहमा महिलाहरू निस्कन्छन् तबको दृश्यले सबैलाई रोमाञ्चक बनाउने गर्छ ।
मिथिलाञ्चलका नवविवाहिता मैथिल नारीहरूले हर्षोल्लास र धुमधामका साथ मनाउने पर्व मधुश्रावणीको महिना भएकाले यस्तो रौनकतामा मिथिला क्षेत्र झुमेको हो ।
१५ दिनसम्म मनाइने यो पर्वमा नवविवाहिता महिलाहरू गृहस्थी कसरी चलाउने भन्नेबारेमा शिक्षा प्राप्त गर्ने कथाहरू सुन्ने गर्दछन् । त्यसैगरी पतिको दीर्घायुको कामना गर्दै उनीहरू गौरी, विषहरालगायतको पूजासमेत गर्दछन् ।
हरेक श्रावण कृष्णपञ्चमीदेखि सुरु भई श्रावण शुक्ल द्वितीयासम्म यो पर्व मिथिलाञ्चलका कायस्थ, ब्राम्हण, सोनार र देवजातिका नवविवाहिता महिलाहरूले मनाउने चलन रहे पनि हिजोआज यो मिथिला क्षेत्रकै साझा पर्व बनेको छ । श्रावण मासको झरी, कालो बादल र न्यानो घामको स्पर्श गर्दै युवतीहरू नाच्ने, गाउने र विवाहिताहरूले आफ्नो पतिसँग बितेको मधुर क्षणबारे साथीसँगीहरूसँग कुराकानी गर्ने गरेकाले यो पर्वलाई मधुश्रावणी भनिएको हो ।
यो पर्वमा नवविवाहिताले आफ्नो साथीहरूलाई यौनको कुरादेखि लिएर पति सँग बिताएको क्षणसम्म भन्ने गरेका कारण यसलाई यौनशिक्षा दिने पर्वसमेत भनिएको छ । यो पर्वमा नवविवाहिताले नागपञ्चमीसम्बन्धी कथाहरू सुन्नुका साथै नागको अर्थात् विषधरको पूजा गर्ने गर्दछन् ।
पतिप्रेम बढोस् र पतिप्रति आदरभाव जागोस् भनी यो पर्व अवधिभर शिवगौरी, विषहारा, शिवलीला र श्रवणकुमारलगायतको कथा सुनाउने गरिन्छ । यो पर्व माइतमै मनाउने प्रचलन रहे पनि आजभोलि यो पर्व पतिको घरमा समेत मनाउन थालिएको छ ।
यो पर्वको विशेषता भनेको विषघरको पूजा बासी फुल र पातबाट गर्नु र पूजा अवधिभर नवविवाहिताले खानेकुरा सबै पतिको घरकै खाने चलन छ । सोही कारण पतिको घरबाट नवविवाहिताहरूका लागि पूजा अवधिभरसम्म पुग्ने सबै सामान जोहो गरी पठाइने गरिन्छ ।
mithila_02श्रावणको झरी, कालो बादल, चारैतिर हरियाली, नवविवाहिता महिलाको सिंगारपटारलगायत दृश्यहरूले कामोत्तेजना बढाएको हुन्छ र यो पर्वमा सोही कारणले जतिसुकै टाढा पति भए पनि आउने गरेकाले यसलाई मिथिलाञ्चलको ‘हनिमुन’ पनि भनिन्छ ।
बासी पूmल र पातबाट खोज्न नवविवाहिता महिलाहरूलगायत छरछिमेकका सँगीसाथीहरू मिली समूहमा गीत गाउँदै गाउँबाहिर स्वछन्द भई घुम्ने गर्दछन् । कहिले पनि घर बाहिर ननिस्कने महिलाहरूसमेत पूजा अवधिभर साथीहरूसँग गफिँदै झरीको मजा लिन चुक्दैनन् भने उनीहरू समूह समूह बनाई चौमासा, छमासा, बटगवनीको सुमधुर गीतहरू पनि गाउने गर्दछन् । सो समयमा नवविवाहिता महिलाहरूले शृंगारपटार गरी निस्कँदा युवादेखि वृद्धसम्मका हेर्नेको घुइँचो लाग्ने गर्दछ ।
यो पर्व टेमी (आगोले पोल्ने कार्य) दिएर सकिने गरिन्छ । नवविवाहित महिलालाई सासुलगायत जेस्ट महिलाहरूले घुँडामा बत्ती बालिदिने र सो बत्तीलाई आँकको पातले निभाउने गरिन्छ जसलाई ‘टेमी’ दिने भनिन्छ । महिलाहरूलाई अग्नि परीक्षा स्वरूप घुँडामा टेमी दिइन्छ र जति ठूलो फोका उठ्छ त्यत्ति बढी नै पतिप्रति माया र पतिको दीर्घायु हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । यो पर्वलाई समय सापेक्षरूपमा अगाडि बढाउँदै लगियो भने अझ पनि यसको महत्व बढने पं. कैलाश मिश्र बताउँछन् ।

प्रतिक्रिया