हस्ताक्षर आज : गच्छदार

bijayकाठमाडौं, २१ साउन । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आज (शुक्रबार) प्रमुख दलहरूबीच हस्ताक्षर हुने दाबी गरेका छन् ।
राजधानीमा प्रमुख दलका शीर्ष नेताहरूबीच गम्भीर छलफल भइरहेको बेलामा अकस्मात् विराटनगर पुगेका गच्छदारले शुक्रबार दिउँसो सहमतिमा हस्ताक्षर हुने ठोकुवा गरे । प्रमुख दलहरूबीच धेरै कुरा मिलिसकेकाले अब दलहरूका बीच हस्ताक्षर हुने उनको भनाई छ । ‘धेरै मिलिसकेका छन्,’ उनले भने, ‘केही विषय टुंग्याएर भोलि हस्ताक्षर हुन्छ ।’
गच्छदारले जनताको सुझावअनुसार धर्म र नागरिकतामा पनि सहमति भएको बताउँदै शब्दावली मिलाउन मात्र बाँकी रहेको बताए ।
संघीयतामा सप्तरीलाई पनि पूर्वीप्रदेशमा राख्नुपर्ने अडानमा आफू अडिक नरहेको समेत उनले संकेत गरेका छन् । सप्तरीलाई पनि पूर्वीप्रदेशमा राख्नुपर्ने अडानमा उनी विराटनगर पुगेको भन्ने कुरालाई उनले अस्वीकार गरेका हुन् । ‘देशलाई संविधान चाहिएको छ,’ विराटनगरमा पत्रकारहरूसँग गच्छदारले भने, ‘सानातिना कुरामा विवाद झिकेर पछि हट्ने मान्छे म होइन ।’ गच्छदारले संघीयतामा भएका छलफलबारे कार्यकर्तालाई जानकारी गराउन आफू विराटनगर आएको भने उल्लेख गरे ।
उनले झापासहित पहाडी जिल्लाको एक प्रदेश, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर मधेस प्रदेशमा राख्न आफूले प्रस्ताव गरेको बताए । ६ प्रदेशमा सहमति हुने सम्भावना बाहिर आएकाबेला उनले भने ८ प्रदेशमै कुरा मिल्न लागेको बताए । उनले ८ प्रदेशको सीमांकन प्रस्तावलाई एमाओवादीले स्वीकार गरेको, कांग्रेसले अस्वीकार नगरेको र एमालेले ठाडै अस्वीकार नगरेको उनको भनाइ थियो ।

प्रतिक्रिया