अझै मिलेन कुरो

Senior leaders of major political parties during a meeting of Constitutional Political Dialogue and Consensus Committee (CPDCC) chair by Dr Baburam Bhattarai to give a concert resolution for the New Constitution Draft held on Thursday at Singha Durbar, Kathmandu. Photo: Kumar Shrestha, RSS

काठमाडौं, २१ साउन । सीमांकनसहित प्रदेशको संख्या तोकेर संविधान जारी गर्नका लागि प्रमुख चार दल गहन छलफलमा बसे पनि बिहीबारसम्म कुनै निर्णय भएकोे छैन ।
सिंहदरबारभित्र शीर्ष नेताहरू सीमांकनका विषयमा बहस र छलफलमा जुटिरहेका बेला बाहिर र जिल्लाहरूमा प्रदर्शन र विरोध भएका छन् । ६ प्रदेशमा समझदारी भएको बताइए पनि सीमांकनका विषयमा दलहरूबीच कुरा नमिल्दा विशेष समितिको बैठकमा बिहीबार संघीयताका विषयमा प्रमुख दलहरूले कुनै निष्कर्ष निकाल्न सकेका छैनन् ।
सुदूर पश्चिममा अखण्ड सुदूरपश्चिमको कुरासहित कैलालीको विषय, लुम्बिनी अञ्चललाई टुत्र्mयाउन नपाइने अडानसहित सप्तरी जिल्लालाई झापा, मोरङ र सुनसरीसँगै जोड्नुपर्ने दलीय अडानका कारण सहमति हुन नसकेको बताइएको छ । ‘सीमांकनका विषयमा सहमति हुनसकेको छैन, सकभर सहमति गरेर अगाडि बढ्ने कुरो भएको छ । नेताहरू पनि बाहिरी कार्यक्रममा व्यस्त भएका कारण शुक्रबार सहमति हुने विश्वास लिइएको छ,’ विशेष समिति बैठक स्रोतले भन्यो, ‘संख्याको हिसाबले ६ प्रदेशमा जान सकिने सैद्धान्तिक सहमति भइसकेको छ ।’
सत्तारुढ र प्रतिपक्षी दलहरूकै आन्तरिक विवादका कारण पनि बिहीबार सहमति हुन नसकेको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र प्रतिपक्षी एकीकृत नेकपा माओवादीका सभासद् र नेताहरूले पश्चिममा कञ्चनपुर कैलालीलाई छुट्याउन नपाइने भन्दै पार्टीमा ठाडो चुनौती दिएपछि शीर्ष नेताहरू निर्णयमा पुग्न सकेनन् ।
यता, एमाओवादीका मधेसी नेताहरूले झापा, मोरङ र सुनसरीलाई मधेस प्रदेशमा नै राख्नुपर्ने भन्दै अडान लिएपछि कुरो बिग्रिएको छ । पहाडसँग जोड्ने गरी पूर्वप्रदेशमा सुनसरी, मोरङ र झापालाई गाम्न नेतृत्व तयार भए पनि एमाओवादीका रामचन्द्र झा, प्रभु साह, विश्वनाथ साह, रामकुमार साहलगायतका नेताहरूले नमान्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् । तीन जिल्ला मधेसमा मिल्न नसके फरक प्रदेश बनाउनुपर्ने माग उनीहरूको रहेको छ । यता अखण्ड सुदूरपश्चिमको माग गर्दै कैलालीलगायत जिल्लाहरूमा बन्द आह्वान हुँदा जनजीवन असामान्य बनेको थियो । लुम्बिनी अञ्चललाई नटुत्र्mयाउन माग गर्दै ३२ सभासद्हरूले त नेताहरूलाई ज्ञापन नै दिएका थिए ।
गम्भीर देखिएनन् शीर्ष नेता
यता, बैठकमा शीर्ष नेताहरू गम्भीर नबन्दा सहमति नभएको हो । तीन दिनदेखि सिंहदरबारमा छलफलमा जुटेका नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरू सहमतिमा भन्दा पनि बाहिरका कार्यक्रमलाई महत्व दिएर हिँड्दा सहमति नभएको हो ।
बिहीबारको बैठकमा अन्य नेताभन्दा केही समय ढिला पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली बीचैमा उठेर निस्किएका थिए । उनी राजधानीको एक कार्यक्रममा सहभागी हुन शीर्ष नेताको बैठक छाडेर हिँडेका थिए ।
प्रधानमन्त्री सुशील कोइराला पनि रामचन्द्रलाई बैठकमा पार्टीको नेतृत्व छाडेर बाहिरिएका थिए । प्रमुख दलका अध्यक्ष र सभापति बाहिरिएको केही समयमा नै विराटनगर जानु छ भन्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बैठक छाडे ।
कोइराला, ओली र गच्छदारले बैठक छाडेपछि प्रचण्ड, विद्या भण्डारी, रामचन्द्र पौडेल र नारायणकाजी श्रेष्ठ बैठकमा बसेका थिए । जनताका राय सुझावलाई संविधानमा कसरी समेट्ने भन्नेमा दलहरूबीच गम्भीर मतभेद छ । दलहरू भने विवादलाई कसरी हल गर्ने भन्ने विषयमा गम्भीर देखिएनन् ।
उता, बिहीबारै सहमति गरी संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक गरिने भनिए पनि विशेष समितिले सहमति हुन नसकेपछि शुक्रबारकै लागि सारिएको छ ।

प्रतिक्रिया