दुःखेको घाउमा मलहम लगाउने प्रयास

chaminaभूकम्पले क्षतविक्षत भएको नेपाली मनलाई मल्हम लगाउने प्रयास धेरैले गरे । नेपालमा भएका अनि नेपाल बाहिर भएकाले मात्र होइन, सात समुद्र पारि बस्नेले पनि सकेको सहयोग गरे । नेपालीहरूलाई हृदयदेखि खुलेर सहयोग गर्ने अन्तर्राष्ट्रिय संस्थामध्ये एक हो ‘खाल्सा एड’ । बेलायतमा मुख्य कार्यालय रहेको उक्त संस्थाले नेपालमा भूकम्प आएको १२ घन्टामै उद्धार राहतको काम सुरु गरे । भारतबाट आएको पहिलो उद्धार टोलीसँगै उक्त संस्थाका प्रतिनिधि पनि आए । नेपालमा कार्यालय र उसको प्रतिनिधिसम्म नरहेको उक्त संस्थाले काम सुरु ग¥यो । जहाँ जे पर्छ त्यहीअनुसार काम गर्ने उद्देश्यले आएका थिए खाल्साका प्रतिनिधि । भारतमा रहेका संस्थाको शाखा कार्यालयबाट आएका टोलीले सक्रियतापूर्वक काम ग¥यो ।
‘खाल्सा एड’ विश्वको अठारवटा देशमा सक्रिय छ । संस्थाका भारत शाखा हेर्ने प्रबन्ध निर्देशक अमरप्रित सिंहको नेतृत्वमा भूकम्पपीडितको साहयोगमा नेपालमा क्रियाशील थियो संस्था । मान्छे मरेको, दुःख पाएको वा हिंसाले थलिएको देशमा पर्छ खाल्सा एडको नजर । भूकम्पले जनता घरबारविहीन भए थिए । एक प्रकारले सबैतिर त्रास थियो । यस्तो बेलामा सहयोग गर्ने जो कोही भेट्दा आफन्त जस्तै लाग्दै थियो । यस्तै बेलामा आएको थियो, खाल्सा जहाँ जे आवश्यक पर्छ त्यहीअनुसार सहयोग गर्न बिनायोजनाले । नेपाल आएर बन्यो, उनीहरूको योजना कहाँ के गर्दा प्रभावकारी हुन्छ भन्ने, आफ्ना भोलिन्टियर्सलाई परिचालन गरेर । कुनै कसर बाँकी राखेनन् उनीहरूले । उनीहरूले तन, मन र धनले भ्याएसम्म सहयोग गरे । जुन आज पनि जारी छ । जहाँ–जहाँ द्वन्द्व वा अरू कारणले जनता समस्यामा पर्छन् तिनै ठाउँमा क्रियाशील हुने गरेको छ, खाल्सा एड । सिरिया, लिविया, अफगानिस्तान, सोमालिया, युके, अमेरिका, अष्ट्रेलिया, भारतलगायत देशका जनतालाई सहयोग गरिरहेका छन्, संस्थाका भोलिन्टियर्सले । वैशाख १२ गते दिउँसो भूकम्प गयो, खाल्सा एडका प्रतिनिधि राति दुई बजे नै नेपाल आइपुगे । नेपाल आएका उक्त संस्थाका केही सदस्य अहिले पनि नेपालमा क्रियाशील छन् । भारत शाखाका प्रबन्ध निर्देशक सिंह दुई महिना नेपालका गाउँ–गाउँ पुगे । उनले दुःखमा परेका र समस्याले झेलेका नेपालीको मनमा मल्हम लगाउने प्रयास गरे । भारतमा व्यापार गर्ने उनका लागि व्यापारभन्दा सेवा प्रमुख लाग्यो । सिंहले नोपलमा रहेका आफूनिकटलाई संस्थामा लिएर राहतको काम सुरु गरे । केहीले धादिङ, रसुवा, नुवाकोट भक्तपुर लागाएको ठाउँ पुगें, उनी ।
१९८४ मा पञ्जावमा चर्किएको जातिए द्वन्द्वले धेरैले घरबारका साथै परिवारसमेत गुमाए । पञ्जावीहरूको पीडामा पनि मल्हम लगाउन पुग्यो, खाल्सा एड । अरूको दुःखलाई आफ्नो भावनासँग गास्ने उक्त संस्थाले पञ्जावी जनताको दुःखमा साथ दियो । पञ्जाव द्वन्द्वमा विस्थापित भएका करिब पैँतीस सय नागरिकलाई प्रत्येक महिना पेन्सन उपलब्ध गराउँदै आएको निर्देशक सिंहले बताए । अमरप्रित भन्छन्, ‘द्वन्द्वले घरबारविहीन भएका एक सयभन्दा बढीलाई घर बनाए छौँ । पञ्जाव द्वन्द्वको घाउ अझै मेटिएको छैन । संसारको कुनै पनि कुनामा बसेको मान्छेलाई दुःख पर्दा अर्को मान्छेले सहयोग गर्ने भावना हुनुपर्छ । हामी जे गर्छाैं, मानवीय भावनाले गर्छाैं । केही पाउँला भनेर वा प्रचारका लागि गरेका होइनौँ ।’ अमर भन्छन्, ‘देश अर्को भएर के भयो ? अखिर जुन देशमा जन्मिए पनि हामी सबै मान्छे । समस्यामा परेको बेला, देशको, कुन जाति, कस्तो वर्ण वा उसको रूप हरेर गरिने सहयोग भावनात्मक हुँदैन । जसले सबै कुरा बिर्सिएर मानवीय भावनामात्र देखाउँछ, त्यो हो वास्तविक सहयोग ।’ भारतमा रहेको आफ्नो सबै व्यवसाय छोडेर उनी नेपाल आए । अफ्ना स्वयंसेवकको साथमा सिन्धुपाल्चेक, धादिङ, काभ्रे, काठमाडौंलगायतको गाउँ बस्ती पुगे । दुःख नियाले, भूकम्पले बेघर भएका, आफन्त गुमाएका सबै आफन्त जस्तै लाग्यो उनलाई । कति ठाउँका दृश्यले मन उनको रोयो । उनी भन्छन्, ‘हामीलाई कसैले बोलाएर आएका होइनौँ सायद ईश्वरको आदेश थियो आयौँ सकेको सहयोग गर्ने प्रयास ग¥यौँ ।’
भूकम्प गएको केही दिन उद्धारमा लागे, संस्थाका भोलिन्टियर्स । उनीहरूले घरटहराबाट आफ्नै मूलका दुई बाबुछोराको लास निकाल्न सहयोग गरे । चारैतिर भग्नावशेष, लास, दुर्गन्ध भएको काठमाडौंमा के गर्दा राम्रो हुन्छ भनेर चिन्ता थियो, उनीहरूसँग । घाइतेको उपचारमा आफँै सक्रिए भए । उपचारका लागि औषधिको खाँचो थिएन, संस्थामा । जसलाई जे पर्छ, त्यही गर्ने उद्देश्यले आएका थिए नेपाल । टिममा रहेका कोही युरोपमा पाइलट थिए, कोही इन्जिनियर्स । आफ्नो घरमा केही नगर्ने उनीहरूले टुँडिखेलमा जनतालाई खाना पकाएर खुवाए । सोख र वैभवको जीवनभन्दा टाढा आज पनि नेपालमा सक्रिय छन्, केही युवा । उनीहरूलाई यहाँको धुलो, जनताको आँसु आफ्नै जस्तो लाग्न थालेको छ । सबै नेपाली आफन्त जस्तै लाग्छ, उनीहरूलाई ।
असनमा कपडा व्यापार गर्ने भारत पञ्जावका युवा हुन् रिम्पल सिंह । भूकम्पसँगै गाँसिए खाल्सा एडसँग उनी । भारत र नेपालमा रहँदा सिंहले खाल्सा एडका बारेमा धेरै सुनेका थिए । यो संस्थामा लागेर केही गर्ने मन थियो उनीसँग । खाल्सा एडमार्फत सामाजिक काम गर्ने उनको चाहना नेपालको भूकम्पले जुरायो । सिंहका दिनरात त्यही संस्थमा लागेर उद्धार र राहत विरण जस्ता काममा बिते । रिम्पल भन्छन्, ‘१२ गते राति नै बसेर योजना बनायौँ, कहाँ के गर्ने भनेर । लामो समयदेखि नेपाल बसेँ । तर, मलाई यहाँको गाउँ र जनताको जीवनशैली थाहा थिएन । अहिले धेरै बुझँे, साथी पनि धेरै भए ।’ भूकम्प गएको दुई÷चार दिन भएको थियो, एकजनाले रुक्ला जस्तै गरेर भने, ‘दाइ धादिङको अवाही भन्ने ठाउँमा खान केही छैन । नूनसम्म भए त्यहाँका जनताले सिस्नोमा हालेर खान्थे’ उनको कुरा सुनेर साहै्र दुःख लाग्यो नुनुको लागी पनि यति साह्रो समस्या भनेर । उनले भनेको तीन घन्टापछि चार बोरा नुन र ७७ वटा त्रिपाल हेलिकप्टरमा हालेर पठाए । नेपाल आउनेबित्तिकै उनीहरूले एउटा घर भाडामा लिएर सम्पर्क स्थान बनाए । विदेशबाट आउने राहत सामग्री राख्ने र वितरण गर्ने स्थान बन्यो उक्त घर । अहिले पनि धेरै सामान छ, उनीहरूसँग । युरोप, अमेरिकाबाट आएका ती सामान नेपाली बजारमा निकै महँगो र गुणस्तरीय मानिन्छ । बच्चालाई खुवाइने नौ सय ग्राम दूधको नेपाली बजार मूल्य चौबीस सय रुपैयाँसम्म छ । राहत दिने भन्दैमा कमसल सामान दिनु हुँदैन भन्ने मान्यता राख्छ खाल्सा एड । रिम्पल भन्छन्, ‘दिएपछि राम्रो दिने हाम्रो उद्देश्य हो । बाध्यताले वा देखाउनका लागि बाँडेका होइनाँै । दुःखमा परेका छन् । कति ठाउँमा जाँदा जनताको अवस्था देखेर मन रोयो । अहिले पनि कैयाँै ठाउँमा राहत पुगेको छैन । कहिल्यै डाँडाकाँडा नदेखेको मैले देखेँ । जनताको अवस्था नजिकबाट हेरँे । सम्पत्ति जति कमाए पनि मर्दा कसैले केही लादैन भन्ने लाग्छ मलाई । नेपाल मेरो कर्मभूमि हो । त्यो नाताले पनि केही गर्नु मेरो कर्तव्य हो । नेपालमा व्यापार गरेर केही कमाएको छु भने व्यक्तिगत रूपमा केही गर्नुपर्छ भनेर आफँैले पनि केहि गरेँ ।’
मान्छे कोही आफ्नै घरमा पुरिएर ज्यान गुमाएका थिए कोही जीवितै घरभित्र छटपटाइरहेका थिए । घर भत्किएर खुला आकाशमुनि आएकासँग न खाना थियो न त नाना । अस्पतालमा बिरामीका लागि बेड थिएन । यस्तो अवस्थामा खाल्सा एड आफँैले कैयाँै स्थानमा अस्थायी उपचार केन्द्र राखेर उपचार गराए । प्रसूतिगृह थापाथली, कान्ति बाल अस्पताललगायत स्थानमा औषधि र बिरामीका लागि पौष्टिक खाद्यान्न वितरण ग¥यो । टँुडिखेलमा दैनिक पाँचदेखि दश हजार मान्छेका लागि पचास दिनसम्म खाना पकाएर खुवाए उनीहरूले ।
खाल्सा एडले त्रिपाल, कम्बल, झुल, सोलार लाइट, तौलिया, तयारी सुख्खा खाना, वेवीफ्रुट, दूध, पानी टंकी, सेनेटरी सामानलगायतका समान वितरण गरे । केही स्थानमा त्रिपाल बाँढेपछि उनीहरूलाई लाग्यो– त्रिपाल समस्याका समाधान होइन, वर्षौं टिक्नका लागि जस्ता ठीक हुन्छ । जनताका लागि साँच्चै राहत हुन्छ भन्ने सोचेर जस्तापाता वितरण गरेको रिम्पलले बताए । ‘हामीसँग जस्तासँगै इन्जिनियर पनि थिए, औजारका सामान किन्यौँ, जस्ता दिँदै घर बनाउन सिकायौँ । कसरी घर बनाउन छिटो र सजिलो हुन्छ, त्यसैको आधारमा काम भयो । धेरैले खुसी व्यक्त गरे हामीले सन्तुष्टि पायौँ । अर्को देशमा जन्मे पनि कर्मभूमिमा केही गर्ने प्रयास गरेका छौँ । नेपालीले माया दिएका छन् त्यसको बदलामा केही गर्ने प्रयास हो,’ उनले भने ।

प्रतिक्रिया