ढोँग, पाखन्ड र आडम्बरबाट मुक्ति

‘तपाईंहरूले दिनुभएको सुझाव र विचार संविधानसभामा राख्न पाइएला भन्ने विश्वास छैन । संविधान निर्माणमा हामी सभासद्हरूको कुनै भूमिका हुँदैन । हामी त, शीर्षस्थ नेताहरूले विरोध गर भन्दा हात उठाएर विरोध गर्ने, समर्थन गर भन्दा यी हातले छाप लगाइदिने हो । विल्कुल पालिएका दासझैँ रहन बाध्य छौँ ।’ साउन १० गते, आइतबारका दिन सर्वसाधारण नागरिकसँगको छलफलमा सभासद् मदनबहादुर अमात्यजीले यसो भनिरहँदा उहाँको अनुहारमा निरीहताभाव प्रस्टै झल्कन्थ्यो । संविधानसभा सदस्य अमात्यजी ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित सभासद् मात्र हौनन, उहाँ नेपाली कांग्रेस ललितपुर जिल्ला कमिटीको सभापति पनि हुनहुन्छ । अझै अगाडि बढेर उहाँले भन्नुभयो, ‘प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरू राजाभन्दा चर्का सामन्त र चरम निरंकुश भए । विगतमा राजा श्री ५ थिए, अहिले नेताहरू श्री ६ भएका छन् । नेताहरूको मानसिकता परिवर्तन नभएसम्म जनताको काम गर्न कठिन हुने मात्र होइन, जनताको आवाज सुनिने छैन ।’ मदनबहादुर अमात्यजीले जे भन्नुभयो त्यो अधिकांश सभासद्हरूकै भित्र गुम्सिएर रहेको सकस हो । शीर्षस्थ नेताको परिक्रमा गरी नेताहरूलाई रिझाएबापत् तथास्तु भनेर कृपापूर्वक समानुपातिक सभासद् बन्न पाएका र ३/४ करोड ख्वाएर बनेका समानुपातिक सभासद्हरूबाहेक जनताको मतबाट निर्वाचित सम्पूर्ण सभासद्हरूको साझा पीडा यही हो । अरूले भित्रभित्रै गुम्स्याएर राखे, अमात्यजीले प्रष्ट अभिव्यक्त गर्नुभयो, फरक यत्ति हो ।
अब प्रश्न उठ्छ, जननिर्वाचित सभासद्हरूलाई भूमिकाविहीन बनाएर र केवल सहीछाप ठोक्ने रबरस्ट्याम्पमा परिणत गरेर जारी गरिएको संविधानको वैधानिक हैसियत के होला ? अहिलेसम्म हामीले शीर्षस्थ भनिएका यी नेताहरू जनताको आवाज सुन्दैनन् भन्ने मात्र बुझेको थियौं, अमात्यजीको यो रहस्योद्घाटनले उनीहरू जनप्रतिनिधिहरूलाई समेत पटक्कै महत्व दिँदैनन् भन्ने प्रस्ट भएको छ । जनताका गुनासा र आवाज मिडियामार्फत अभिव्यक्त हुने हुनाले यिनीहरूले अखबारै पढ्न छाडिदिएका थिए । एफएम रेडियोहरूले जनआवाजलाई स्थान दिन थालेपछि रेडियो नै सुन्न छाडिदिएका थिए । जनतालाई छि:छि: र दूर–दूर गरिबस्ने यी नेताहरू सुन्नचाहिँ कसको कुरा सुन्छन् र कसको भरमा चल्छन् ? यो अजंगको प्रश्न हाम्रोसामु तेर्सिएको छ । उनीहरू आसेपासे, चाकरिवाजहरूकै माझमा बस्न रुचाउँछन् र तिनीहरूकै कुरा सुनिरहेका हुन्छन् । जसरी हिजोका दिनमा दरबारियाहरू हुक्के, बैठके र भाटहरूसँग रमाउँथे । कोसँग हुन्छन् र कसका कुरा सुन्छन् भन्ने विषयमा द्विविधा रहेन । बाँकी रह्यो, कसको भरमा चल्छन् भन्ने प्रश्न ? ‘ओपेन सेक्रेट’ नै छ कि उनीहरू दिल्ली साउथब्लकको निर्देशनमा चल्छन् । साउथ ब्लकको निर्देशनमा चल्ने भएकाले उनीहरूको भर र आधार पनि स्वत: त्यही हुने भयो । त्यताको आड लिएर यता जनतालाई हेप्नु र जनआवाजलाई कुल्चनु स्वाभाविकै हुने भयो । जो जति बढी भ्रष्टाचारी छ, त्यसैले नै बढी सदाचारको डीङ हाँक्छ । जो जति बढी सर्वसत्तावादी छ, त्यसैले चर्को स्वरमा लोकतन्त्रको हल्ला मच्चाइरहेको हुन्छ । जसले वर्गसंघर्ष छाडेर जात र सम्प्रदायको राजनीति गर्छ, त्यसैलेचाहिँ आफूलाई क्रान्तिकारी कम्युनिस्ट भनेर परिचय दिइरहेको हुन्छ । यस्तो ढोंग, पाखन्ड र आडम्बरको राजनीति अन्यत्र अपवादमा मात्र हुन्छ भने नेपालमा चाहिँं यही नै हुन्छ, हाक्काहाक्की हुन्छ र खुलेआम हुन्छ ।
आजभन्दा दुई सय ५० वर्षअघि पृथ्वीनारायण शाहले विराज बखतीलाई काजी पदमा नियुक्त गर्न ठीकठाक परेका थिए । जनताको राय बुझ्दा जनताले कालु पाँडेलाई उपयुक्त ठानेकाले कालु पाँडेलाई नै काजी बनाए । यो निर्णय प्रक्रियाले बरु त्यसबेला राजाहरू जनताको राय लिन्थे र जनताको रायअनुसार चल्थे भन्ने जनाउँछ । यस हिसाबले दुई सय ५० वर्षपछि हामी झनै अलोकतान्त्रिक र सर्वसत्तावादी भएको ठहर्छ । दुई सय ४० क्षेत्रमा संकलित जनताका सुझावको पोको अहिलेसम्म खोलेकै छैन, तर जनताको सुझाव भनेर संविधानसभामा प्रतिवेदन पेस गरिसकियो । यसले जनताको राय संकलन देखावटी नाटक मात्र रहेछ भन्ने जनाउँछ ।
यो डबल स्ट्यान्डर्ड, ढोंग, पाखन्ड, आडम्बरका व्यवहार तथा सर्वसत्तावादी सोचलाई अब यो राष्ट्रले थेग्न सक्दैन । यसबाट मुक्ति पाउनका लागि अभियान चाल्नुबाहेक अर्को विकल्प देखिँदैन ।

प्रतिक्रिया