निर्देशक चौधरीद्वारा पदीय दुरुपयोग

pushpa-chaudharyकाठमाडौं, १३ साउन । परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. पुष्पा चौधरीले नेपाल सरकारको जिम्मेवार पदमा बहाली छँदै पदीय मर्यादाविपरीत दोहारो लाभ लिएको खुल्न आएको छ । सरकारी कर्मचारीले दोहोरो लाभको पदमा रहनुलाई पदीय दुरुपयोग मानिन्छ ।

सरकारी सेवामा आबद्ध रहेकी डा. चौधरीले अन्यत्र पनि तलबमा काम गरेको देखिन आएकाले दोहोरो सेवा लिएको खुलेको हो ।

हाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञको अन्तर्राष्ट्रिय संगठन (फिगो) ले नेसोगको समन्वयमा ‘पोस्ट पार्टम–आइयुडि सेवाः नेपाल’ कार्यक्रम सञ्चालन गरिरहेको छ । सो अन्तर्राष्ट्रिय संस्था फिगोले सञ्चालन गरेको कार्यक्रमको डा. चौधरी राष्ट्रिय संयोजक छिन् ।

सो कार्यक्रम २०१५, १ जनवरीदेखि २०१७ डिसेम्बर ३१ सम्म रहने सम्झौतामा उल्लेख छ । त्यसबापत उनलाई संस्थाले मासिक तलब एक हजार पाँच सय अमेरिकी डलर दिने पनि सम्झौतापत्रमै उल्लेख गरिएको छ ।

डा. चौधरी सन् २०१३ देखि २०१५ सम्मका लागि प्रसूति तथा स्त्रीरोग विशेषज्ञको पेसागत संगठन नेपाल (नेसोग) को अध्यक्ष थिइन् । हाल नेसोगको अध्यक्षमा डा. लता बज्राचार्य छिन् ।

डा. चौधरी नेपाल सरकार परिवार स्वास्थ्य महाशाखाकी निर्देशक हुन् । निर्देशकका रूपमा परिवार स्वास्थ्य महाशाखाले नेपालको समग्र स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रमको योजना तर्जुमा, मूल्यांकन र समग्र स्वास्थ्य क्षेत्रको सुधारमा उनको प्रमुख जिम्मेवारी हुन आउँछ ।

यसरी नियामक निकायको उच्च पदमा आसीन व्यक्ति कुनै गैरसरकारी संस्थाको राष्ट्रिय संयोजकका रूपमा बहाल रहनु निजामती सेवा ऐनविपरीत देखिन्छ ।

निर्देशकको रूपमा परिवार स्वास्थ्य महाशाखाको तर्फबाट प्रोजेक्टसँग समन्वय गर्नुपर्ने अधिकारी स्वयंले उक्त प्रोजेक्टको संयोजक रही तलबमा काम गर्र्नु पदीय मर्यादाविपरीत छ ।

निजामती सेवामा रहेका राष्ट्रसेवकले गैरसरकारी संस्थामा आबद्ध भई पारिश्रमिकमा काम गर्न नपाउने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले जानकारी दिए । नयाँ संशोधित व्यवस्थाले पनि सो कार्यलाई निषेधित गरेको छ ।

सरकारी ओहोदाको उच्च पदमा आसीन कुनै पनि निजामती कर्मचारीले पारिश्रमिक लिएर वा नलिई अन्यत्र काम गर्न नपाउने निजामती सेवा ऐनमा उल्लेख छ ।

नेपाल सरकारले आवश्यक ठानेमा मन्त्रिपरिषद्को निर्णयले छोटो अवधिका लागि काम गर्ने अनुमति दिन सक्ने छ । यसरी आपूm प्रमुख रहेको नियामक निकायले नियमन गर्नुपर्ने गैरसरकारी संस्थाको संयोजकको रूपमा कार्य गर्नु उक्त प्रावधानविपरीत छ ।

नेसोग भन्ने प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरूको पेसागत साझा संस्था हो । सो संस्थाको नियमानुसार कुनै पनि प्रोजेक्टहरू सञ्चालन गर्दा सो समाजका बहालवाला पदाधिकारीले नै प्रोजेक्ट सञ्चालन गर्न पाउने विधानमा प्रस्ट उल्लेख छ ।

आफू संगठनको अध्यक्ष हुँदा अनुमोदन गराई नेसोगको तर्फबाट निर्वतमान अध्यक्ष भइसकेपछि पनि सो प्रोजेक्ट आफूले नै सञ्चालन गर्नु नेसोगको विधानविपरीत देखिन्छ ।

यस सम्बन्धमा जिज्ञासा राख्दा नेसोगका वर्तमान अध्यक्ष डा. बज्राचार्य र महासचिव डा. गणेश दंगालले औपचारिक निर्णय नभई केही नबोल्ने बताए ।

उनका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको र यस विषयलाई आयोगले विशेष प्राथमिकताका साथ अनुसन्धान गर्ने आयोग स्रोतको भनाइ छ ।

प्रतिक्रिया