एनआरएन जापानमा चुनावी माहोल

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएन) जापानको नयाँ नेतृत्वका लागि हुने चुनाबमा उपाध्यक्ष पदमा पाँच जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षपछिको शक्तिशाली पद उपाध्यक्ष भएकाले अन्य पदमा उम्मेदवारी नदिएको उनीहरूले बताएका छन् ।

आगामी भदौ १३ देखि सुरु हुने गैरआवासीय नेपाली संघ जापानको राष्ट्रिय समन्वय परिषद् (एनसिसी)को अधिवेशनलगत्तै सुरु हुने चुनावमा अध्यक्ष पदमा अहिलेसम्म चार जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
अध्यक्षका प्रत्याशीमा चिरञ्जीवी थापा, सुदन थापा, नरबहादुर थापा र तुल्सीराम खरेल रहेका छन् । थापा रेस्टुराँ व्यवसायी र खरेल रेमिट्यान्स व्यवसायी हुन् । त्यस्तै विगत आठ वर्षदेखि जापानी कम्पनीमा कार्यरत महिला संगीता अधिकारीसहित देवीलाल भण्डारी, ऋद्धिन्द्र गिरी, तासी लामा र हर्क थापाले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
पहिलोपटक उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी महिला नेत्री अधिकारीले अध्ययन तथा रोजगारीका लागि जापान आएका महिलाको पक्षमा खटिने प्रतिबद्धता जनाएकी छन् भने बाँकी चारै जनाको प्रतिबद्धतामा आपसी एकता र संगठनात्मक शुद्धताका विषयलाई प्राथमिकता दिइएको छ । यी चार विप्रेषण र रेष्टुराँ व्यवसायी हुन् ।
महासचिव पदमा अनुज थापा, सरोज खत्री र जयप्रकाश पण्डितले उम्मेदवारी परेको छ । यी तीनैजना रेष्टुराँ व्यवसायी हुन् । एनआरएन जापानको कोषाध्यक्षमा प्रेम कँडेल, सुमी केसी र राजेन्द्र श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । कोषाध्यक्षमा यसअघि उम्मेदवारी घोषणा गरेका ताराविक्रम बस्नेतले उम्मेदवारी फिर्ता लिएर हालका कोषाध्यक्ष दीपक थापालाई समर्थन गरेको छ । त्यस्तै, सचिव पदका लागि बुद्धिराज घिमिरे, विष्णुप्रसाद घिमिरे र भवानी पन्तले उम्मेदवारी घोषणा गरेका छन् । डा.नेत्रप्रसाद भण्डारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

प्रतिक्रिया