काठमाडौं, ७ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको नयाँ संविधानमा जनताको साझा धारणा समेटिनुपर्ने बताएका छन् ।
बुधबार राजधानीको वसन्तपुरमा भएको क्षमापूजामा सहभागी भएका उनले संवाददातासँग भने, ‘जनताको चाहनाअनुसारको संविधान बनाउन नेताहरू तत्पर बनून् ।’
विश्वहिन्दू युवा महासंघले राष्ट्र कल्याणको कामना गर्दै वसन्तपुरको मखनस्थित पशुपतिनाथको मन्दिरमा क्षमापूजा गरेको थियो । ज्ञानेन्द्र त्यहीँ सरिक थिए । पूजापछि उनले भने, ‘संविधानको प्रारम्भिक मस्यौदा जनतासमक्ष पेस भई सुझाव संकलन भएको अवस्थामा जनताको विचारलाई समेट्नुपपर्छ ।’
उनले कसैलाई काखा र कसैलाई पाखा नगरी संविधान साझा दस्तावेजका रूपमा ल्याउनका लागि संविधानसभालाई आग्रह गर्दै थपे, ‘सबैको साझा धारणाको प्रतीक बनोस् ।’
पूजाको प्रमुख कर्ताका रूपमा पूर्वराजा ज्ञानेन्द्र शाहले हवन तथा यज्ञ गरेका थिए । उक्त कार्यक्रममा भूकम्प तथा त्यसपछिका परकम्पनका कारण अकालमा मृत्युवरण गरेका व्यक्तिको आत्माको चिर शान्तिको कामनासमेत गरिएको थियो । पूर्वराजा शाहले हनुमानढोका, काष्ठमण्डप, मरु गणेस्थान र त्यसआसपासका क्षेत्रको निरीक्षण पनि गरेका थिए ।
प्रतिक्रिया