राजनीतिमा इमानदारिता

एनेकपा माओवादीका लोकेन्द्र विष्ट, गोपाल किराँती, लेखराज भट्ट, हेमन्तप्रकाश ओली, ध्रुव पराजुलीलगायत शीर्षस्थ नेताले पदीय जिम्मेवारीबाट राजीनामा दिएछन् । अर्को अर्थमा पार्टी कामको सक्रियताबाट पन्छिएछन् । एउटा सालको रुखमा पुराना पातहरू झर्दै, र नयाँ पातहरू पलाउँदै जानु स्वाभाविक भए झैँ नयाँको प्रवेश र पुराना बहिर्गमनलाई हचुवामा बोल्नेले स्वाभाविक ठान्लान् । एउटा पार्टीमा पनि पार्टी जिम्मेवारी बहन गर्न असमर्थ भइसकेका अतिशय वृद्धहरूले पार्टीको जिम्मेवारी बिसाउने इच्छा राख्नु त एकदमै जायज हो । तर, यहाँ त अनुभवले परिपक्व र ऊर्जाशील अवस्थामा पार्टी कामबाट पन्छनु भनेको सामान्य विषय होइन । लेखराज भट्टजीलाई पार्टीले वर्गीय राजनीतिलाई चटक्कै छाडेर जातपात र सम्प्रदायको राजनीतिमा होमिदा असहज मात्र होइन उकुसमुकुस नै भइरहेको थियो । त्यस्तै सुदूरपश्चिमका ९० प्रतिशत जनताले संघीय प्रदेश बनाउँदा नौ जिल्लालाई अखण्ड राखियोस् भनी विनम्र निवेदन गर्दा आफ्नै नेताले टेरपुच्छर नलगाएको विषयमा चित्त दु:खाएका थिए । जनताको आवाज नसुन्ने यी कस्ता नेता होलान् भन्ने प्रश्न उनको मनमस्तिष्कमा उठेको थियो ।
जब राजनीतिक नेताले सैद्धान्तिक आधारभूमि र वैचारिक राजनीति छाड्छन्, तब राजनीतिले मूलबाटो छाड्छ र आली, कान्ला, पखेरा र बगरतिर भट्किन थाल्छ । राजनीतिले जातपात, धर्म, सम्प्रदाय र क्षेत्रको आश्रय लिनपुग्छ । पार्टीनेताहरू तत्कालिकतामा झर्छन् । उनीहरू एक पाइला परसमेत् हेर्दैनन्, तत्कालै जे फाइदा हुन्छ त्यही गर्छन् । जातपातको राजनीतिमा फाइदा देखे जातीय उन्माद उराल्न कुँदिहाल्छन् । ठूलै गाँठ आउँछ भने ल्याक्र्याल लामा, रविन्द्रप्रताप शाहहरूलाई रातो तुल बिच्छ्याएर स्वागत गर्छन् । उनीहरूलाई एक्कैचोटी सभासद् बनाइदिन्छन् ।
पार्टीनेताहरूका अप्ठेरा र सकस पनि आफ्नो ठाउँमा नभएको होइन । एकातिर राजनीतिलाई तत्काल फाइदा हुने ट्याक्टिकल रणनीतिमा प्रयोग गर्नुपरेको छ भने अर्कोतिर संघर्षशील, इमानदार कार्यकर्तालाई हामी वर्ग संघर्षमै छौँ भनेर भ्रम र भ्रान्तिमा अल्मल्याइराख्न परिराखेको हुन्छ । जे गरिराखेको छ त्यो भन्न नमिल्ने र जे भनिराखेको छ त्यो नगर्ने स्थिति भनेको त्यो युवतीको जस्तै हुन्छ जसलाई लोग्ने र नाठोको बीचमा सन्तुलन मिलाउन सधैँ सकस भइराखेको हुन्छ । रचनात्मक, सिर्जनात्मक सोचका साथ राष्ट्र, देश र जनताका लागि काम गर्नुपर्ने समय यही ढाकछोप र रफु गर्दै बित्छ । एकातिर टाल्यो अर्कोतिर भ्वाङ देखिन्छ । हुँदाहुँदा स्थिति यस्तो हुनपुग्छ कि टालटुलले पनि काम नचल्ने हुन्छ । यो अवस्थामा पुगेपछि नै आफ्नै टिमका सबैभन्दा नजिकका सहकर्मीको अन्तर्हृदयमा गहिरो चोट पुग्छ र उनीहरू यस्तो कदम चाल्न बाध्य हुन्छन् ।
ज–जसले पार्टीकामबाट पन्छिने निर्णय लिए तिनीहरूचाहिँ दूधले धोएका थिए भन्न खोजेको होइन । पार्टी आज भर्खर कुहिएर सडेको पनि होइन । जुनबेलामा मूलबाटो छाडेर विचलनतिर गयो त्यहीबेलादेखि नै पतनतिर गइसकेको थियो । त्यसको असर, प्रभाव पनि देखिन थालेको थियो । दोस्रो संविधानसभा निर्वाचनकै प्रसंग कोट्याउँ । कपिलवस्तुको चार नम्बर निर्वाचन क्षेत्रको लागि एनेकपा माओवादीले अवध राज्यसमितिकी सदस्य सन्तोषी पान्डेयलाई उम्मेदवार बनाएको थियो । त्यही निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले उम्मेदवार बनाएका सुरेन्द्र आचार्यले सन्तोषीजीलाई भेटे । ८ लाख रुपियाँको अफर गरे । ८ लाख रुपियाँमा सौदा तय भयो र सुरेन्द्र आचार्यजीलाई जिताउन आफैँ खटिन् । कपिलवस्तुकै जाबेद आलम खाँले सिफारिसकर्तालाई कसैलाई मोटरसाइकल किनिदिएर र कसैलाइ पैसा दिएर पाँच नम्बर क्षेत्रको टिकट प्राप्त गरेका थिए ।
जनमुक्ति सेनाको सांगठनिक विघटन त धेरै पछि भयो, धेरै अघिबाटै मनोवैज्ञानिक विघटन गरिसकिएको थियो । संगठन मर्यादाको सीमाभित्र रहनुपर्छ । र विधि, अनुशासनमा चल्नुपर्छ भनेर निरन्तर आवाज उठाउनेहरूलाई नियोजित तवरले ‘साइलेन्ट पनिस’ गरिँदै आएको थियो । निर्वाचनको पूर्वसन्ध्यामा वाइसिएलको राष्ट्रिय सम्मेलन गर्दा सिंगै हलले एकै स्वरमा अस्वीकृत गरेको प्यानललाई नै स्थापित गरिएको थियो । हलभरि गुञ्जिएको त्यो चर्को आवाजलाई ‘करतल ध्वनीसहितको समर्थन’ भनेर व्याख्या गरियो । पार्टीको महाधिवेशनमा भ्रष्टाचारविरुद्ध अभियान चलाउने युवाहरूलाई मार्सल लगाएर खेद्ने काम गरिएको थियो ।
जहाँ ल्याक्र्याल लामा, रविन्द्रप्रताप शाहहरू माथिल्लो तलामा आइपुग्छन् त्यहाँ लेखराज भट्टहरू अटाउन सक्दैनन् । तर, उहाँहरुले पनि हिजो भएका तमाम गलत र घीनलाग्दा कर्महरूको यथार्थ विवरण जनतासमक्ष राख्नुपर्छ र खुला हृदयले जनतासँग क्षमा माग्नुपर्छ, तब मात्र जनताले विश्वास गर्नेछन् ।

प्रतिक्रिया