अर्थमन्त्री महतलाई लक्ष्यित गरी पेट्रोल बम प्रहार

Ramsharan-Mahat-Dankaनुवाकोट, ४ साउन । संविधानबारे सुझाव सङ्कलन गर्न नुवाकोट आउँदै गरेका अर्थमन्त्री डा रामशरण महतलाई लक्ष्यित गरी सूर्यमती गाविसमा आज पेट्रोल बम प्रहार भएको छ । उनीसहित टोलीका सबै सदस्य सकुशल छन् ।

सूर्यमतीको पट्टवारी नजिकै सडक माथिबाट अज्ञात व्यक्तिले तीनवटा सिसी प्रहार गरेकामा अर्थमन्त्री डा महतको गाडी अगाडि बढिसकेकाले क्षति नभएको बताइएको छ । बिहान १० बजेतिर घटना भएको हो ।

घटनास्थल पुगेका प्रहरीले भने पेट्रोल बम प्रहार भए/नभएको विषयमा यकिन हुन नसकेको बताएको छ ।

घटनास्थल पुग्नुभएका नुवाकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अरुण पौडेलले घटनास्थलमा एउटा फुटेको सिसी र अरु दुईवटा सद्दे सिसी फेला परेको र सिसीभित्र पानीजस्तो पदार्थ बाहिरबाट बेरिएको अवस्थामा भेटिएको बताए ।

घटनास्थलभन्दा माथि एक मानसिक सन्तुलन गुमाएका व्यक्ति बस्ने भएकाले उनैले उपद्रो गरेको पनि हुन सक्ने अनुमान नुवाकोट प्रहरीले गरेको छ ।

घटनाको अनुसन्धान र छानबिन भइरहेकाले आक्रमण प्रयास भए/नभएको विषयमा यकिन गर्न नसकिने प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।

अर्थमन्त्रीका प्रेस सल्लाहकार गजेन्द्र विष्टले भने डा महतलाई लक्ष्यित गरी पेट्रोल बम प्रहार भएको बताए ।

अर्थमन्त्रीका सहयोगी एवम् नुवाकोट काँग्रेसका सचिव रमेश महतले मानिसको भीडबाट पेट्रोल बम प्रहार भएको र बम अर्थमन्त्री र आफ्नो गाडीको बीचमा परेकाले क्षति नभएको जानकारी दिए ।

अर्थमन्त्री महत नुवाकोट क्षेत्र नं २ को खरानीटारमा सुझाव सङ्कलनार्थ आयोजना हुने कार्यक्रममा सहभागी हुन आउने क्रममा बाटोमा आक्रमणको प्रयास भएको हो ।

प्रतिक्रिया