पोलिटिकल कल्चरको अपेक्षा

एमाले पार्टी पनि छ भन्ने सामान्य हेक्कासमेत नराखेर, उसको अस्तित्वलाई नै नकारेर र एकलौटी तवरले बजेट तर्जुमा गरेको भनेर नेकपा एमाले कांग्रेससँग रिसाएको छ । अत्यन्त संवेदनशील विषयमा चोट पुग्नेगरी गरिएका व्यवहार हेर्दा एमालेको यो प्रतिक्रिया जायज देखिन्छ । मध्यपहाडी लोकमार्गलाई पुष्पलाल मार्ग भन्न थालेको धेरै वर्ष भइसकेको थियो । हरेक आर्थिक वर्षका बजेट कार्यक्रममा ‘पुष्पलाल’ शब्द नै उल्लेख हुन्थ्यो र जनजिब्रोमा समेत बसिसकेको थियो । खास कुनै कारणले डा. रामशरण महतलाई पुष्पलालप्रति द्वेष हुनसक्छ । आफूले द्वेष गरिराखेको व्यक्तिको नाम देख्नासाथ उनलाई झोक चल्नु स्वाभाविकै हो । झोक पोख्ने ठाउँ अन्यत्र नपाएपछि त्यहाँ मौका पाउनासाथ त्यो नाम तुरुन्त केरिदिए । पुष्पलालको नाम काटिदिनु, मदन भण्डारी र हरि खाड्कामा के नै अन्तर छ र ? भन्ने भान पार्नु यो सबै संकीर्ण राजनीतिको अभिव्यक्ति मात्र हो ।
यसमा रामशरण महतको मात्र दोष छैन, नेपालको समग्र राजनीतिक अभियान नै रिएक्टिभ छ र पार्टीनेताहरू निषेधको राजनीति गर्न अभ्यस्त छन् । राजनीतिक अभियानकै विषयमा केन्द्रित हुने हो भने २००७ सालको क्रान्ति राणाविरुद्ध थियो । २०४६ सालको आन्दोलन पञ्चायतीविरुद्ध र ०६२/६३ को जनआन्दोलन राजतन्त्रविरुद्ध थियो । यी सबै रिएक्टिभ आन्दोलन थिए । प्रोएक्टिभ आन्दोलन हुँदा हुन् त क्रान्ति वा आन्दोलन कसैको विरुद्ध नभएर लोकतान्त्रिक राष्ट्र निर्माणका लागि हुन्थ्यो । राणा वा पञ्चायत वा राजा त लोकतान्त्रिक अभियानका लागि बाधक भएकाले मात्र फाल्नुपरेको भनिन्थ्यो । अभियान नै रिएक्टिभ भएकाले राणा शासन ढल्नासाथ, पञ्चायत हट्नासाथ र राजतन्त्र पन्छिनासाथ अभियानले अन्तिम बिसौनीमा पुगेर लक्ष्य प्राप्त गरेको ठाने । प्रोएक्टिभ हुन्थ्यो भने त्यहाँबाट अभियानले झन् गति पक्डनुपथ्र्यो ।
प्रोएक्टिभ अभियान सिर्जनात्मक, कल्पनाशील र गतिशील हुन्छ । सिर्जनात्मक नवीन प्रयोगको उपलब्धिमा रमाइरहेको हुन्छ । तर, रिएक्टिभ अभियान ध्वंसात्मक हुन्छ । सधैँ अरूको रीस गरेर बस्छ । यो ‘जिरो सम गेम’ सिध्दान्तमा आधारित हुन्छ । ‘जिरो सम गेम’ अर्थात् त्यसको नाश मेरो प्राप्ति, त्यसको पतन मेरो उत्थान र त्यसलाई सिध्याउनु नै म हुनु हो । यही सिध्दान्तअनुसार २०४७ सालमा कांग्रेस र एमाले पार्टीहरू पञ्चायत शब्द नामेट गर्दैथिए । आक्रोश पोख्ने ठाउँ अन्त नपाएर अक्षर र शब्दमाथि पो पोख्दै थिए । रिएक्टिभ अभियान सार र अन्तर्वस्तुमा प्रवेश गर्न नसक्ने भएकाले रूपमै अल्मलिन बाध्य हुन्छ । २०६३ र २०६४ सालमा माओवादी पार्टी सबै काम छाडेर पृथ्वीनारायण शाह, वैदिक सनातनी हिन्दू धर्म र पहाडे बाहुनमाथि अरिंगालको गोलोसरी खनिएका थिए । पृथ्वीनारायण शाहको शालिक तोडिरहेका थिए ।
अर्को समस्या के छ भने पार्टीनेताहरूसँग पोलिटिकल कल्चर छैन । भन्नलाई त सामन्ती राजालाई फाल्यौँ भन्छन्, तर यथार्थमा यिनीहरू आफैँ महासामन्ती छन् । यिनीहरू झन् चर्का अहंकारी छन् । यिनीहरूमा कोलिसन कल्चर पनि छैन । कोलिसन कल्चर नहुनुको प्रमुख कारण के हो भने यिनीहरूसँग टिम स्पिरिट र टिम कल्चर नै छैन । कोलिसन कल्चर हुँदो हो त राजस्वको खण्डबाहेक बजेटको बाँकी भाग सरकारमा सँगै रहेको पार्टीलाई देखाउनु र सल्लाह तथा सुझाव प्राप्त गर्नु कुनै कठिनाइको विषय हुँदैनथ्यो । अर्को पक्षको सुझाव ग्रहण गर्ने बानी हुन्थ्यो भने वृद्धभत्तासँग मनमोहनको नाम गाँसिदिएर कसैलाई हानिनोक्सान गर्दैनथ्यो । निषेधको राजनीति कतिसम्म तुच्छ र संकीर्ण हुन्छ भन्ने यो लक्षण हो ।
विषय सामान्य भए पनि च्वास्स बिझ्नेगरी संवेदनशीलतामा घोचिहाल्नु पनि हुँदैन । संवेदनशीलताको ख्याल गरेको हुन्थ्यो भने एमालेका नेताले ऐया आत्थु गरिरहेकै बेलामा रामचन्द्र पौडेलले रोष्ट्रममा उभिएर ‘मदन भण्डारी त के हुन् र ? हरि खड्काको मृत्यु हुनासाथ उहाँको गाउँमा म पुगेको थिएँ । उहाँको टोल र समुदायमा उहाँलाई सम्झने मान्छे कत्ति भेटँ’ भनेर आलो घाउमा नुनचुक थप्ने काम गर्दैनथे ।
कोलिसन गभर्नमेन्ट बनाएपछि कोलिसन कल्चरको अभ्यास गरून्, नेताहरूले व्यवहारमा पोलिटिकल कल्चर देखाऊन् र सिर्जनात्मक राजनीति गरून्, जनताले यहाँभन्दा बढी केही चाहेका छैनन् ।

प्रतिक्रिया