‘विश्वस्त हुनुहोस् लोकतान्त्रिक संविधान जारी हुन्छ’

Sushil-Koirala-In-Janakpurजनकपुर, ३१ असार । प्रधानमन्त्री सुशील कोइरालाले संघीयताविनाको संविधान कांग्रेसले सपनामा पनि सोच्न नसक्ने बताएका छन् । जनकपुरको रामचोकमा श्री राम युवा कमिटीले निर्माण गरेको श्री राम टावरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले भने, ‘विश्वस्त रहनोस्, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी हुन्छ र सबैको सहमतिमा मात्र हुन्छ ।’

कांग्रेसका सभापतिसमेत रहेका कोइरालाले कांग्रेस जहिले पनि देशको अभिभावकीय भूमिकामा रहेको र रहने जिकिर गर्दै भने, ‘संघीयता आत्मसात गरिसकिएकाले नेपाली कांग्रेसको नेतृत्वमा संघीयतासहितको संविधान नआउला की भन्ने शंका गर्नु बेतुकको कुरो हो ।’
कांग्रेसले भनेको कुरा कहिल्यै नफेरेको उनको दाबी थियो । संविधानमा कसैको भेषभुषा, भाषा, संस्कृती र धर्मसँग खेलवाड हुन नदिने उनले विश्वास दिलाए । ‘हामी जहिले पनि विदेसीलाई दोष दिन्छौँ’ उनले भने, ‘देशको विकासमा एकताका साथ लाग्यौँ भने अबको १० वर्षमा नेपाललाई विकसित हुन कुनै शक्तिले रोक्न सक्दैन ।’
कालो झन्डा
संविधानको पहिलो एकीकृत मस्यौदाको विरोध गर्दै जनकपुरका युवाहरूले प्रधाानमन्त्री सुशील कोइरालालाई कालो झन्डा देखाएका छन् । प्रधानमन्त्री सुशील कोइराला जनकपुरको जानकी मन्दिरबाट पूजा गरी निस्किने क्रममा मधेस अधिकार संघर्ष समितिका तीन दर्जन युवाले प्रधानमन्त्री कोइरालालाई कालो झन्डा देखाउँदै विरोध गरेका हुन् ।
उनीहरूले प्रधानमन्त्री सवार गाडीकै अगाडी पुगेर कालो झन्डा देखाउन भ्याएका थिए । प्रधानमन्त्री कोइराला जानकी मन्दिरको अगाडिको बाटो भएर जाँदैगर्दा संघर्ष समितिका युवाले नागरिकतासम्बन्धि व्यवस्था परिमार्जन गर्न तथा मधेस आन्दोलनको म्यान्डेटलाई स्वीकार गरी नामांकन र सीमांकनसहितको संविधान जारी गर्न नारा लगाउँदै कालो झन्डा देखाएका हुन् । प्रदर्शनकारीलाई कोइरालाले हात हलाएर सम्बोधन गरेका थिए ।
प्रधानमन्त्रीको आगमनको क्रममा विरोध हुन सक्ने सम्भावनालाई देखेर प्रशासनले जानकी मन्दिरदेखि दुई सय मिटरको दुरीमा रहेको टावरको उद्घाटनस्थल चार सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको थियो ।
सो समितिका युवाहरूले प्रधानमन्त्री कोइराला विरुद्धसमेत नाराबाजी गरेका थिए । मस्यौदाको विरोध गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्रीलाई कालो झन्डा देखाएर विरोध गर्ने कार्यक्रम तय गरे पनि अन्तिम समयमा आएर कार्यक्रम स्थगित गरेको थियो । कोइराला बुधबारै राजधानी फर्किएका छन् ।

प्रतिक्रिया