साउनमा संविधान

Sushil,-kp,-puspakamala-&-Vकाठमाडौं, २९ असार । प्रमुख राजनीतिक दलका शीर्ष नेताले साउनमै देशले नयाँ संविधान पाउने दाबी गरेका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति सुशील कोइराला, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एकै मञ्चबाट नयाँ संविधान जारी गर्न संसारको कुनै शक्तिले रोक्न नसक्ने उद्घोष गरे ।
गिरिजाप्रसाद कोइराला स्मृति भवन शिल्यान्याशका लागि झापा पुगेका शीर्ष नेताले संविधानसभाको जहाज उडिसकेको र ल्यान्ड गर्ने अन्तिम चरणमा पुगेको जिकिर गरे ।
प्रधानमन्त्री कोइरालाले साउनभित्र नयाँ संविधान जारी भइसक्ने बताए । उनले मुलुकमा ठूलो बलिदानी र संघर्ष गरेर परिवर्तन सम्भव भएको भन्दै त्यही परिवर्तन संस्थागत गर्ने दिशामा मुलुक अगाडि बढेको उल्लेख गरे । प्रधानमन्त्रीले जनतामा परिवर्तनले जागरण आएको बताउँदै जनताको चेतनाले लोकतन्त्र जोगाउने धारणा व्यक्त गरे ।
एमाले अध्यक्ष ओलीले साउनभित्र संविधान जारी भइसक्ने दाबी गर्दै नयाँ संविधानमा सबैको हकअधिकार सुनिश्चित हुने बताए । भेदभाव र असमानता अन्त्य गर्ने दिशामा मुलुक अगाडि बढेको भन्दै चिन्ता नलिन पनि उनले आग्रह गरे । १६ बुँदे सहमतिको विरोधमा रहेका दलहरूप्रति लक्षित गर्दै ओलीले आफूहरू पनि अन्याय र विभेदविरुद्ध लडेर आएको भन्दै सोही कुरालाई लिएर चिन्ता नलिन आग्रह गरे ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको जहाज उडिसकेको भन्दै संविधानसभारूपी जहाज ल्यान्ड गर्ने अन्तिम चरणमा रहेको बताए । सभासद्े राय सुझावका लागि जनताको घरदैलोमा पुगेको र जनताको सुझावअनुसार संविधानको मस्यौदा परिमार्जन गर्ने ठाउँ बाँकी रहेको उल्लेख गर्दै दाहालले असन्तुष्ट पक्षका भावनालाई नयाँ संविधानमा समेटिने आश्वासनसमेत दिए ।
कार्यक्रममा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले देशको संकट समाधान हुने ठानेर आफूहरूले १६बुँदे सहमति गरेको स्पष्ट पारे । देशलाई संक्रमणकालबाट अन्त्य गर्न र नयाँ संविधान जारी गर्न १६ बुँदे सहमति गरेको भन्दै सहमतिपछि मुलुकले निकास पाएको दाबी गरे ।
१६ बुँदे सहमति गरेर संविधान निर्माण प्रक्रिया टुंग्याउन अघि बढेका प्रमुख दलका शीर्ष नेताले संविधानको मस्यौदा राय सुझावका लागि जनतामा पठाइसकेका छन् । जनताको रायसुझाव समेटेर चाँडो संविधान जारी गर्नेमा शीर्षनेता लागेका हुन् ।

प्रतिक्रिया