‘मसान्तसम्म भन्नुहोस्’

suwash-nembangकाठमाडौं, २९ असार । ‘दलका नेतासँग भएको छलफल र अहिलेको कार्यशैलीले हामी साउन मसान्तसम्म संविधान जारी गर्न सक्छौँ’, संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्बाङले भने, ‘जनतालाई पनि त्यही भन्नुहोस् ।’

संविधानको प्रारम्भिक मस्यौदामा संविधानसभामा छलफल सकेर जनताको मत संकलनमा जानुअघि संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले विभिन्न पक्षसँग सोमबार राखेको अन्तरक्रियामा अध्यक्ष नेम्बाङले यस्तो बताएका हुन् ।
‘यसपटक हामीले तत्कालका कामका लागि मात्र कार्यतालिका बनाउँदै अएका छौँ, त्यसकै आधारमा संविधानको प्रारम्भिक मस्यौदा र त्यसमाथिको छलफल सकिएको छ’, नेम्बाङले भने, ‘अहिलेसम्म गरिएका काम र बाँकी कामका लागि आवश्यक समय तथा शीर्ष नेतासँग मैले गरेको छलफलका आधारमा साउन मसान्तभित्र संविधान जारी हुनसक्छ ।’ नेम्बाङले जनमत संकलनका लागि जान लागेका सभासद्लाई पनि जनतालाई त्यही भन्न आग्रह गरे । उनले विगतमा पनि एउटा सहमति गरेर पछि हट्दा धेरै समय अन्योलमा बितेकाले त्यही पाठका आधारमा पनि अब दलहरू पछि नहट्ने बताए ।
‘म गत ०६९ जेठ २ गतेको सहमतिलाई स्मरण गर्न चाहन्छु, त्यसबेलाको सहमति कार्यान्वयन भएको भए अहिले धेरै अघि बढिसकिन्थ्यो र धेरैका अधिकार सुनिश्चत भइसकेका हुने थिए’, उनले भने, ‘त्यसैले अहिले पनि सबै कुरा सुनिश्चित गर्न खोज्ने भन्दा प्राप्त उपलब्धिको रक्षा गरेर बाँकी कुराका लागि लड्ने मैदान सुरक्षित गर्न आग्रह गर्छु ।’ नेम्बाङले संविधान नबन्दासम्म कसैका लागि पनि मैदान नबन्ने भन्दै मैदान नै नभएपछि खेल्ने र आफ्ना अधिकार सुनिश्चित गर्ने आधार प्राप्त नहुने बताए । उनले संविधान सहमतिको दस्तावेज भएको भन्दै धेरैका मुद्दा अहिले नसमेटिएका हुनसक्ने पनि स्वीकार गरे । ‘यो सबै दलको साझा दस्तावेज हो, त्यसैले धेरै विषय छुटेका पनि हुन सक्छन्’, नेम्बाङले भने, ‘संविधान बनेपछि मात्र सबैलाई अधिकारका लागि लड्न मैदान तयार हुनेछ ।’ अहिले सबैजसोले परिस्थिति बुँझिसकेको भन्दै त्यसले संविधान निर्माणको अधार बलियो बनाएको दोहो-याए । ‘म कसले मानेन र कसका कारण संविधान विगतको सहमति कार्यान्वलयन भएन भनेर दोष लगाउन चाहन्नँ तर सहमति कार्यान्वयन गर्न चुकियो भने कहाँ पुगिन्छ भनेर सबैले बुझेका छन्’, उनले थपे, ‘त्यसकारण ढुक्कसँग भन्न सक्छु, आगामी साउन मसान्तसम्म संविधान जारी हुन्छ ।’
नेम्बाङले संविधानसभाको प्रक्रियामा बहिष्कार घोषणा गर्ने दललाई आफूले सम्मानपूर्वक हेरिरहेको बताए । ‘अहिले बहिष्कार घोषणा गर्ने दलले संविधानको मस्यौदामा फरक मत राख्नुभएको छ, त्यो भनेको प्रक्रियामा सहभागिता जनाएर छ भन्ने हो’, उनले भने, ‘अबका प्रक्रियामा पनि सहभगिता जनाउनुहोस् र यो राष्ट्रिय अभियानमा सहभागी हुनुहोस् ।’
अन्तरक्रियामा संविधानसभाकी उपाध्यक्ष ओनसरी घर्तीले विगत संविधानसभाले गरेको जनमत संकलन र विभिन्न क्षेत्रबार आएका सुझावलाई पनि जनताको सुझावसरह संविधानसभामा भित्र्याएर संविधान निर्माण गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया