काठमाडौं, २७ असार । दक्षिण कोरियाको ग्वाङजुमा जारि २८औँ समर युनिभर्सियाड गेम–२०१५ अन्तर्गत तेक्वान्दोमा नेपालकी निशा रावल शनिबार पराजित भएकी छन् ।
छोसुन युनिभर्सिटी जिम्नेसियममा भएको महिला ७३ केजीमाथि निशा चीनकी नि लुसँग १४–२ ले पराजित भइन् । पहिलो राउन्डमा निशाले एक अंक जोड्दा लुले तीन अंक जोडिन् । दोस्रो राउन्डमा लुले आठ अंक जोडिन् । त्यसमा निशा अंकविहीन बनिन् । तेस्रो राउन्ड ३–१ ले लुकै पक्षमा रह्यो । हारसँगै निशा प्रतियोगिताबाट बाहिरिएकी छन् । अघिल्लो दिन तेक्वान्दोमै नेपालकी सीता तामाङ प्रतियोगिताबाट बाहिरिएकी थिइन् । महिलाको ४९ केजीमुनि सीताले भुटानकी वाङमो छिमीलाई १५–४ ले हराएकी थिइन् भने दोस्रो चरणमा थाइल्यान्डकी सोन्खाम चनाटिपसँग ०–१२ ले पछि परेकी थिइन् ।
तेक्वान्दोमा नेपालबाट तीन महिला खेलाडी सहभागी छन् । अब निमा गुरुङले आइतबार कोलम्बियाकी पेड्रोजो इरिक सेसिलियाविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् । नेपालले गेरोगीमा मात्र सहभागिता जनाएको छ ।
दीप नकआउट चरणमा
टेबलटेनिसको पुरुष सिंगल्समा नेपाल नम्बर वान दीप साउन नकआउट चरणमा प्रवेश गरेका छन् । ग्रुप ‘४३’ को लिग खेलमा दुई जित र एक हार बेहोर्दै दीप नकआउट चरणमा प्रवेश गरेका हुन् । लिगको अन्तिम तथा तेस्रो खेलमा दीपले अर्जेन्टिनाका पेरेज पाब्लो एन्टोलाई ३–० को सोझो सेटमा हराए । दीपले पहिलो सेट ११–४, दोस्रो ११–६ र तेस्रो १६–१४ ले आफ्नो पक्षमा पार्न सफल रहे । लिगको पहिलो खेलमा दीपले अल्जेरियाका मोहम्मद अनिशलाई ३–२ ले हराउँदै विजयी सुरुआत गरेका थिए । प्रतिस्पर्धात्मक लिगको दोस्रो खेलमा दीप अस्ट्रेलियाका गुयेन फिसँग २–३ को साँघुरो अन्तरले पछि परेका थिए ।
जाङसियोङ होङग्लिडोङ जिम्नेसियममा दीपले नकआउट चरणको पहिलो खेलमा भेनेज्युएलाका कोरिए फिग्युरोसँग आइतबार भिड्ने छन् । उता महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ नकआउट चरणको पहिलो खेलमा पराजित भइन् । बेस्ट अफ सेभेनको खेलमा नविता ताइपेइकी छेङ छिङसँग ४–० ले चुकिन् । छिङले तेस्रो सेट ११–६ ले आफ्नो नाममा लेखाइन् भने बाँकी तीन सेट ११–३ को समान अंकमा आफ्नो पक्षमा पारिन् ।
युनिभर्सियाडको टेबलटेनिसमा नेपालको यात्रा सुखद रह्यो । कुनै पनि ठूलो अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नेपाली खेलाडी लिग चरणबाटै बाहिरिएका छन् । पहिलोपटक दुई नेपाली खेलाडी दीप र नविता नकआउट चरण प्रवेश गरेको अखिल नेपाल टेबलटेनिस संघका महासचिव कुवेरप्रकाश सिंहले जनाएका छन् ।
प्रतिक्रिया