उपाधिका लागि फेडेरर र जोकोभिच भिड्ने

teniss-(2)लन्डन, २७ असार । विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिच र विश्व नम्बर दुई स्विस रोजर फेडेरर विम्बल्डन टेनिसको उपाधिका लागि भिड्ने भएका छन् ।

इंग्ल्यान्डमा शुक्रबार भएको खेलमा घरेलु खेलाडी एन्डी मुर्रेलाई ३–० को सोझो सेटमा पराजित गर्दै सात पटकको च्याम्पियन स्विस खेलाडी फेडेररले नोभाक जोकोभिचसँगको भेट पक्का गरेको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको पहिलो र दोस्रो सेटमा मुर्रेले कडा टक्कर दिए पनि खेल जित्न सकेनन् । पहिलो र दोस्रो सेटमा मुर्रे समान ७–५ ले पछि परे ।
अन्तिम तथा निर्णायक सेटमा मुर्रे निरीह हुँदै फेडेररलाई ६–४ को नतिजा सुम्पियो । मुर्रेलाई पराजित गर्दै फेडेररले विम्बल्डनमा १०औँ पटक फाइनलमा स्थान सुरक्षित गर्न सफल भएका हुन् । हारपछि मुर्रेले फेडेररले उत्कृष्ट खेल खेलेको बताए । ‘पहिलो र दोस्रो सेटमा फेडेररले उत्कृष्ट सर्भिस गरे ।
यो नै जितको आधार बन्यो ।’ मुर्रेले भने, ‘पाएको केही मौकाको सदुपयोग गर्न सकिनँ र खेलमा निराश हुनुपर्‍यो ।’ यस्तै जितपछि स्विस फेडेररले यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएका मुर्रेसँगको खेल उत्कृष्ट भएको बताए । ‘मुर्रेविरुद्व सर्भिस उत्कृष्ट हुँदा खेललाई आफ्नो पक्षमा पार्न सफल भए ।’ उनले भने, ‘अब जोकोभिचविरुद्वको फाइनलखेलमा पनि यस्तै उत्कृष्ट सर्भिस गर्नेछु ।’
यस्तै शुक्रबारै भएको पहिलो सेमिफाइनलमा फ्रान्सका रिचार्ड ग्यास्क्योटलाई ३–० कै सोझो सेटमा पराजित गर्दै विश्व नम्बर एक नोभाक जोकोभिच पनि फाइनल प्रवेश गरेका छन् । जोकोभिचले ग्यास्क्योटलाई ७–६, ६–४ र ६–४ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।
जोकोभिच र फेडेररबीचको फाइनल खेल गतवर्षकै पुनरावृत्ति हुने भएको छ । गतवर्ष पनि यी दुईले उपाधिका लागि भिडेका थिए । जसमा जोकोभिचले बाजी मारेको थिए ।

प्रतिक्रिया