कम्युनिस्टसँग आस्था छ, आँट छैन

guru-danku-chorसत्तामा बसेका र सत्तामा जान आतुर भएका अधिकांश नेता ज्योतिष बिहङ्मराज तिमल्सेनाकोमा पुग्छन् । कैयौलार्ई पद जोगाउने चिन्ता कतिलाई पदप्राप्तिको । कति नेता कसैले थाहा नपाऊन् भनेर खुसुक्क जान्छन् कति सहयोगीमार्फत कुन्डली देखाउन पठाउछन् । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईदेखि, एमाले नेता झलनाथ खनाल, एमाओवादी अध्यक्ष प्रचण्ड, शेरबहादुर, रामचन्द्र पौडेललगायतका नेताको कुन्डली हेरेका छन् तिमल्सेनाले । मुलुकको भविष्यबारे निकै चिन्तित तिमल्सेना यतिबेला प्रमुख नेताहरूलाई एकै ठाउ राखेर ग्रहदशा शान्ति गराए देशले निकास पाउने बताउछन् । अहिलेसम्म आफूले गरेको सबै भविष्य पूरा भएको दाबी गर्ने उनका विचार बेला–बोला सञ्चारमाध्यममा छाउछ । ज्यातिष विद्या विज्ञान हो भन्ने उनी यतिबेला पुनः मुलुकको भविष्य र देशको नेतृत्व गर्ने ग्रह कसको बलियो छ भन्नेबारे सौर्य दैनिकसग गरिएको संवाद :

कति भयो ज्योतिष काम गर्न थाल्नुभएको ?

१४ वर्षको उमेरमा पण्डित भएँ । त्यतिबेला हस्तरेखा र चिनाको आधारमा मान्छेको भविष्यवाणी गर्थें । त्यतिबेला म पूर्ण रूपमा ज्ञाता थिइनँ वा जानेको थिइनँ । अहिले भन्नुपर्दा सामान्य गुरु थिएँ । अझ केही सिक्नुपर्छ भनेर अध्ययनका लागि बनारस गएँ । बनारसमा अध्ययन गरेपछि हस्तरेखा र चिनाबाट मात्र होइन मान्छेको अनुहार हेरेर पनि उसको भविष्य र वर्तमान जान्न सकिन्छ भन्ने सिकेँ ।

के–को आधारमा गर्नु हुन्छ भविष्यवाणी ?

मैले बनारसमा अध्यन गर्दा पाएको ज्ञानअनुसार मान्छेको अनुहार, बोली, भाषा, हिँडाइ, आँखा, शरीरमा भएका कोठी, हेराइ, कपाल, हातका चक्र, हातखुट्टाका औँला जस्ता कुराको आधारमा भविष्यवाणी गर्छु । आजसम्म जति गरेको छु, फेल भएको छैन । मान्छेको स्वर चन्द्रोदय, सूर्योदय हुन्छन् । त्यो पनि अध्ययन गर्ने विषय हो । मान्छेको नाम, जन्म, लग्न, नक्षत्र जस्ता कुरा थाहा नभए पनि अनुहारकै आधारमा भविष्यवाणी गर्न सकिन्छ । त्यो ज्योतिषको ज्ञान र अध्ययनमा भर पर्छ । म अनुहार पढेर मान्छेको विगत, वर्तमान र भविष्य भन्छु ।

नेताहरूको भविष्यवाणी कतिको गर्नुभयो ?

०५१ सालमा एकपटक कांग्रेस नेता बलबहादुर केसीले कृष्णप्रसाद भट्टराईकोमा लानुभयो । त्यतिबेला किसुनजीका निजी स्वभाव आनिबानिबारे बाहिर चर्चा थिएन । पहिलोपटक उहाँको अनुहार हेरर भने, ‘तपाईं रसिक स्वभावको हुनुहुन्छ ।’ उहाँ त्यतिबेला प्रेममय जीवन व्यतित गर्दै हुनुहुन्थ्यो । जे पर्ला भनेर निसंकोच भने, ‘तपाईं सन्त भए पनि जीवनमा रसिक गर्न मन पराउनुहुन्छ ।’ साथै उनमा भएका प्रभाव भने । विगतको जीवनमा भएका र आउने जीवनमा हुने सबै कुरा भनेँ । उनको निवासमा कांग्रेस नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेल पनि सँगै थिए । मेरो कुरा सुनेर किसुनजीले खुसी हुँदै भने, ‘मैले आजसम्म तपाईं जति जान्ने गुरु भेटेको थिइनँ । फेरि पनि तपाईंलाई भेट्छु’ भनेर मेरो ठेगाना लिनुभयो । अमिता कपाली उनको सेवामा थिइन् ।

कुन–कुन नोताको भविष्यवाणी गर्नुभयो ?

कांग्रेस नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, एमाले नेता झलनाथ खनाल, राप्रपा नेता सूर्यबहादुर थापा, सुनिल थापालगायत धेरैको ग्रह कुन्डली हेरेँ । जे छ त्यो भनिदिएको पनि छु । एमाओवादी नेता प्रचण्डको प्रत्यक्ष हेरेको छैन । तर, उनका मान्छेमार्फत कुन्डली हेरेको छु । राष्ट्रपति हुने चर्चा हँुदा उनको कुण्डली मकहाँ आएको थियो । जति नेताको हेरे जानेअनुसार भनेको छु । जसको ग्रह जस्तो छ त्यसैअनुसार सुझाव दिन्छु । ग्रहअनुसार के गर्दा त्यसलाई ठीक पार्न सकिन्छ त्यो पनि सुझाव दिन्छु । ग्रहका बारेमा मात्र हेर्दिनँ शारीरिक समस्या छन् भने त्यसको उपचार पनि गर्छु । नाम चलेका ठूला डाक्टरहरू आउँछन् । उनीहरूको स्वास्थ्यमा भएको समस्या तान्त्रिक विधिबाट उपचार गरिदिन्छु । औधषि खाँदा–खाँदा नभएर हैरान भएका बिरामी पनि आउँछन् । उनीहरूको उपचार तान्त्रिक विधिबाट गर्ने गरेको छु । ठीक हुन्छ । आश गरेर आउनेलाई समस्या मात्र देखाउँदिनँ, उपचारको विधि र प्रक्रिया आफूले सकेको गर्छु । सबै रोग डाक्टरको औषधिले निको हुँदैन । कैयौँ उपचार तान्त्रिक विधिबाट हुन्छ । त्यसका लागि मैले सकेको गर्छु ।

अहिलेसम्म तपाईंले गरेको कति भविष्यवाणी पूरा भएको छ ?

कति भविष्यवाणी गरे भनेर साध्यै छैन । केही–केही यस्ता छन्, जसले नेपालको राष्ट्रिय राजनीतिमा महत्व राख्छ, ती स्मरण छ । पहिलो संविधानसभा असफल हुँदै थियो त्यतिबेला भनेको थिएँ । केही समयका लागि गैरराजनीतिक मान्छे देशको प्रधानमन्त्री हुन्छ । पार्टीका नेताले यतिबेला नेतृत्व गर्दैनन्, खिलराजलाई पार्टीहरूले सत्ता सुम्पिए, त्यतिबेला पनि पत्रिकामा समाचार आएको थियो । खिलराज प्रधानमन्त्री भएपछि धेरैले शंका गरेका थिए । ‘निर्वाचन हुँदैन, देशमा अशान्ति हुन्छ, जातीय द्वन्द्व हुन्छ’ भनेर । मेरो अध्ययनले त्यतिबेला प्रस्ट पारेको थियो, ‘उनको ग्रहमा वृहस्पति छ । उनले सजिलै निर्वाचन गराउँछन्’ भनेको थिएँ । साथै मंसिरमा निर्वाचन भएर छाड्छ र त्यसको परिणाम पनि भनेको थिए । एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा भएर सुशील कोइराला प्रधानमन्त्री हन्छन् । साथै माघ सातमा केही निकास नभए सुशीलको सम्भावना टर्छ भनेको थिएँ, पुग्यो । विश्वकप हुँदै गर्दा एकजनाले सोधे, कसले जित्छ गुरु ? त्यतिबेला बेलायतबाट निस्कने पत्रिकालाई जवाफ पनि दिएको थिएँ । ‘ज’ मा सूर्य र चन्द्रमाको पावर भएकाले जर्मनीले जित्छ भनेर । सेनापति हुने विषयमा गौरव शम्शेर र नेपाल भूषणको बीचमा प्रतिस्पर्धा थियो । मैले गौरव शम्शेर सेनापति हुन्छन् भनेँ, भए पनि । यस्ता केही विषयमा मैले गरेको भविष्यवाणी मिलेको छ ।

यतिबेला तपाईंले गरेको अध्यन र तपाईंको शास्त्रले मुलुक कता जाने संकेत गरेको छ ?

यतिबेला नेपालको अनराधा नक्षत्र, राशि वृश्चिक, स्वामी मंगल छ । नेपाललाई अहिले नवग्रहको राम्रो पालो छ । नवग्रहको ग्रह जुपिटर ग्रहले साथ दिएको छ । तर, राहु र स्वामी त्यसको विपक्षमा छ । त्यसले काम हुन दिँदैन त्यसको उपचार गर्नुपर्छ । यसका बारेमा धेरै ठाउँमा भनेको छु । यसको उपचार पनि छ । यदि मुख्य दलका मुख्य नेताहरू सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल, विजय गच्छदारलगायतका नेतालाई एकै ठाउँमा राखेर पशुपतिनाथको माटो, गहुमति चक्र, घोडाको टाँप राखेर अनुष्ठान गर्नुपर्छ । त्यसैगरी नेपालको सुख, शान्ति दीर्घायु र संविधान निर्माणका लागि पूजा गर्नुपर्छ । यदि कसैले त्यो गराउन सक्यो भने मुलुकले निकास पाउँछ । नत्र फेरि भाँडभैलो हुन सक्छ । ग्रहदशाको पूजा गर्नुपर्छ । यो पूजा र यसको मन्त्र दुर्लभ छ । पूजा गर्नु भनेको ब्राह्मणलाई दान दिनु वा टपरी थाप्नु मात्र होइन । असल साधना पनि हो । अहिले पनि केही बिग्रेको छैन । वृहस्पति राम्रो छ । शनिले दुःख दिन सक्छ । बेलैमा शनिलाई तह लगाउनुपर्छ । विश्वको ठूला मुलुकमा ग्रह नक्षत्रको आधारमा काम हुन्छ । नेपालको नेता लाज मान्छन् ।

कस्ता–कस्ता नेता आएका छन् भविष्य हेराउन ?

कैयौँ नेता आउँछन् । घरमा पनि बोलाउँछन् । तर, कसैले थाहा नपाओस् भन्छन् । ज्योतिष शास्त्रसँग कसैले लजाउनु वा डराउनु पर्दैन । ज्योतिष शास्त्र भनेको विज्ञानमा आधारित छ र दशमहाविद्या पनि विज्ञानको रूप हो । ज्योतिष विज्ञानको पनि देवता हो । बिनाहिच्किचाहट आउँदा हुन्छ । कोही त ‘हल्ला नगर्नु है गुरु, पत्रकारले थाहा पाउँछन्’ भन्छन् । ज्योतिष शास्त्रमा आस्था राख्ने धेरै कम्युनिस्ट छन् । तर, बाहिर भन्न डराउँछन, आँट गर्दैनन् । कम्युनिस्टसँग आस्था छ, आँट छैन । विज्ञानमा आस्था राख्नेले ज्योतिष शास्त्रमा विश्वास गर्नुपर्छ । डराउनु वा लजाउनु पर्दैन ।

धार्मिक रूपमा देश कता जाँदै छ ?

धर्मको नाममा देशमा अशान्ति ल्याउने काम कसैले गर्नु हुँदैन । हिन्दु राज्य हुँदैमा अरूको धर्मको अस्तित्व हराउने होइन । हिन्दु धर्मको छाताभित्र सबै अटाउने व्यवस्था गर्नुपर्छ । हिन्दुधर्म स्थापना हुँदैमा देशमा राजतन्त्र आउला भनेर ढुक्क हुने वा तर्सनुपर्ने कुनै कारण छैन । हिन्दुधर्म राख्दैमा केही हुन वा हटाउँदैमा तर्सनु पर्दैन । धर्मको नाममा कचिंगल हुनुभएन । यो विषयमा नेताहरू दूरदर्शी हुनुपर्छ । दुई/चार वर्षपछि यसैको विषयमा पछुताउने वा यसलाई संशोधन गर्ने अवस्था नआओस् भन्ने मेरो धारणा हो । जे गर्दा देशले निकास, शान्ति र समृद्धि पाउँछ त्यही गर्नुपर्छ । धर्मको नाममा कसैलाई काखा र कसैलाई पाखा गर्नु हुँदैन ।

अब यो मुलुकमा राष्ट्रपति र प्रधानमन्त्री को–को हुने देख्नुहुन्छ ?

यतिबेला मैले दुईजना नेतामा त्यो योग्यता देखेको छु । प्रधानमन्त्री हुने ग्रह एमाले नेता केपी शर्माको बलियो छ । राष्ट्रपति हुने ग्रह छविलाल दाहाल प्रचण्डको छ । मैले उनीहरूको कुण्डली बनाइसकेको छु । त्यसैको आधारमा भनेको हो । पार्टी, नेता र राजनीतिसँग मलाई कुनै सरोकार छैन । अब यी दुई नेतालाई जिम्मेवारी दिन सकियो भने मुलुकले निकास पाउँछ । सबै पार्टीलाई समेटेर अगाडि बढ्नका लागि त्यसको विकल्प छैन । उनीहरूको ग्रह बलियो छ । तर, सबैलाई सहमतिमा ल्याएर अगाडि बढ्नुपर्छ । त्यो पनि सबैभन्दा शक्तिशाली दशमहाविद्याको आधारमा गर्नुपर्छ । त्यसो गर्न सकियो भने कसैले बिगार्न सक्दैन । दश महाविद्याको भगवान् शिवजी, कृष्णजी, राम र रावण सबैले अनुसरण गर्थे ।

यदि तपाईंले भनेजस्तो सहमति भएन भने के हुन्छ ?

यो कसै न कसैले गर्नुपर्छ । यतिबेला नेताहरूको मस्तिष्क लाइट अफ गरे जस्तै भएको छ । यसलाई अन गर्ने उपाय यही हो । सबैलाई एकै ठाउँमा राखेर गर्नुपर्छ । यसो गर्न सकिएन भने मुलुकले सहज रूपमा निकास पाउन गाह्रो छ ।

तान्त्रिक विद्या भनेको के हो ?

तान्त्रिक विद्या सबैभन्दा शक्तिशाली दुर्लभ विद्या हो । तनमा भएका नकारात्मक कुरालाई नियन्त्रण गरेर सकारात्मक प्रभाव पर्ने सबैभन्दा शक्तिशाली विद्या हो तान्त्रिक विद्या । नेपालमा यो विद्या मबाहेक कसैले गर्नै सक्दैन । पहिला धनशम्शेर तान्त्रिक विद्याका ज्ञाता थिए । उनीपछि मै हुँ । रावणमा पनि तान्त्रिक विद्या थियो । कसैले रावण र राममा रोज भने म रावणलाई रोज्छु । उनी विद्वान् र शाक्तिशाली थिए । उनको तर्क वैज्ञानिक थियो । रावणमा नकारात्मक विचार कहिल्यै थिएन । रावण पृथ्वीका सबैभन्दा ठूला बौद्धिक र वैज्ञानिक थिए । म उनको भक्त हुँ ।

प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया