सशस्त्रलाई यातनाविरुद्ध मुद्दा

पाँचथर, २७ असार । सशस्त्र प्रहरीको कुटपिटबाट घाइते भएका पीडितहरूले जिल्ला अदालत पाँचथरमा यातनासम्बन्धी मुद्दा दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले सशस्त्र विरुद्धको सार्वजनिक अपराध मुद्दा दर्ता नगरेपछि पीडितहरूले शुक्रबार अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

सशस्त्रको कुटपिटबाट घाइते भएका फिदिम–२ का निरोज लावती, शंभु लावती, फिदिम–४ की सरिता योङहाङ (आङ्देम्बे) र सञ्चमाया आङ्देम्बेले नेपाल सरकार गृह मन्त्रलाय सिंहदरबार काठमाडौं, हिमशिखर गुल्मका फिदिमका इन्स्पेक्टर देशविक्रम थापा, हवल्दार यामबहादुर श्रेष्ठ, जवान ध्रुब तामाङ र ध्रुब प्याकुरेललाई विपक्षी बनाई मुद्दा दर्ता गराएका हुन् ।
गत बुधबार साँझ फिदिम–४ स्थित सालघारीमा सशस्त्र प्रहरी हिमशिखर गुल्मका जवानले सर्वसाधारणमाथि लाठी चार्ज गरेका थिए । हप्तादिनसम्म घाइतेको पाँचथर अस्पतालमा उपचार भएको थियो । कुटपिटबाट दाहिने हात भाँचिएका शम्भुको फिदिमस्थित पाथिभरा अस्पतालमा उपचार सम्भव नभएपछि अन्यत्र रेफर गरिएको थियो ।
शरीर र अनुहारमा निलडाम देखिएका अन्य दुईको जिल्ला अस्पताल पाँचथरमा उपचार भएपछि अहिले उनीहरूको अवस्था सामान्य बनेको छ । फिदिम–५ स्थित सशस्त्र प्रहरी बलको क्याम्पमा लगेर मरणासन्न हुनेगरी कुटपिट गरेपछि घाइतेलाई जिल्ला अस्पताल भर्ना गरिएको थियो ।
सशस्त्र प्रहरी बल हिमशिखर गुल्मका इन्स्पेक्टर थापाले आफ्ना जवानलाई कुटपिट गरेपछि त्यसमा संलग्नलाई नियन्त्रण लिने क्रममा घटना भएको स्विकारेका छन् । प्रहरीले सर्वसाधारणले दिएको मुद्दा दर्ता गर्न नमानेपछि आपूहरूले अदालको ढोका ढकढकाउनु परेको पीडित निरोजले बताए ।

प्रतिक्रिया