स्वास्थ्यको महत्वाकांक्षी योजना

काठमाडौं, २७ असार । आगामी आर्थिक वर्षका लागि तय गरिएका स्वास्थ्यसम्बन्धी सबै कार्यक्रम पूरा हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री खगराज अधिकारीले पूरा हुने कार्यक्रम मात्र नीति तथा कार्यक्रममा समावेश गरिएकाले यसलाई महत्वाकांक्षी भनेर टिप्पणी गर्न नहुने बताए । जनताको चाहना र आवश्यकतालाई ध्यानमा दिई स्वास्थ्य मन्त्रालयले आगामी आवका लागि स्वास्थ्य क्षेत्रमा नयाँ नीति तथा कार्यक्रम ल्याएको उनको दाबी थियो ।
राष्ट्रपति डा.रामवरण यादवद्वारा व्यवस्थापिका–संसद्मा यही असार २३ गते प्रस्तुत आगामी आव ०७२/७३ को सरकारको नीति तथा कार्यक्रमअन्तर्गत स्वास्थ्यका नीति तथा कार्यक्रम अति महत्वाकांक्षी एवं कार्यान्वयन हुन नसक्ने भन्ने टीकाटिप्पणीप्रति मन्त्रालयको यस्तो धारणा अघि ल्याएको हो ।
२६औँ विश्व जनसंख्या दिवस ०७२ का अवसरमा राष्ट्रसंघीय जनसंख्या कोष (युएनफपिए) र मन्त्रालयद्वारा संयुक्त रूपमा गरिएको पत्रकार सम्मेलनमा अधिकारीले नीति तथा कार्यक्रममा समाविष्ट भएका स्वास्थ्य सेवासँग सम्बन्धित विषयलाई कार्यान्वयनमा उतार्न सकिने जिकिर गरे । नीतिमा सरकारले प्रत्येक नगरपालिकामा न्यूनतम १५ शय्याको अस्पताल स्थापना गर्ने, केन्द्रीय, क्षेत्रीय तथा अञ्चलका सेवा विकेन्द्रीकरण गरी विशेषज्ञ सुविधासहितको स्याटलाइट अस्पताल सञ्चालनमा ल्याइने, दुर्गम ठाउँमा आकस्मिक सेवामा एयर लिफ्टिङको माध्यमबाट सेवा उपलब्ध गराइने, आयुर्वेदिक औषधि तथा जडीबुटीको अनुसन्धान, संकलन तथा प्रशोधन केन्द्र स्थापना एवं जडीबुटी खेती प्रवद्र्धन गरी गुणस्तरीय औषधि उत्पादनमा जोड दिइने जनाएको छ ।
यसैगरी, ‘हरेक गाउँ एक चिकित्सक पुर्‍याऔँ’ अवधारणालाई क्रमशः लागू गरिने, नवजात शिशुको जन्मदेखि २८ दिनसम्मको उपचार सेवालाई निःशुल्क बनाइने, विपत्मा स्वास्थ्य सेवा दिने साधन स्रोतसहितको विशेष समूह बनाइने, अभिघात सेवालाई बिस्तार गरिने, जनस्वास्थ्य ऐनलाई तर्जुमा गरिने, अति दुर्गम क्षेत्रमा एकीकृत स्वास्थ्य सेवा लागू गरिने, अस्पताल तथा स्वास्थ्य केन्द्रबाट चौबीसै घन्टा तोकिएका निःशुल्क औषधि उपलब्ध हुनेजस्ता कार्यक्रम समावेश भएका छन् ।
उनले गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको हकलाई व्यावहारिक रूपमा स्थापित गराउँदै जानका लागि नीति तथा कार्यक्रमले सहयोग पु¥याउने जानकारी दिँदै कार्यक्रमलाई कार्यान्वयन गर्न अब आवश्यक रकम विनियोजन गरिने बताए । भूकम्पपीडितको उपचारमा स्वास्थ्यकर्मीले गरेका सेवाको उच्च सराहना गर्दै अब पनि उच्च सतर्कता अपनाउँदै सेवा प्रवाहमा जुट्न निर्देशन मन्त्री अधिकारीले दिए ।
विश्व जनसंख्या दिवसको यस वर्षको नारा ‘जोखिमका जनसंख्यालाई सहयोग गरौँ, विपत्मा नवनिर्माणमा लागौँ’ भन्ने छ ।

प्रतिक्रिया