ट्युसन पढ्नेको ओइरो

ताप्लेजुङ, २४ असार । ताप्लेजुङका ट्युसन सेन्टरहरूमा विद्यार्थीहरूको चाप बढेको छ । एसएलसी पूरक परीक्षा दिने विद्यार्थी तथा सामुदायिक विद्यालयको बर्खे बिदाका कारण विद्यार्थीको चाप ह्वात्तै बढेको ट्युसन सञ्चालकहरूले बताएका छन् ।

जिल्लामा सञ्चालित युनिभर्सल इन्स्टिच्युटमा सधैँको तुलनामा दोब्बर विद्यार्थी भर्ना भएको इन्स्टिच्युटका मेनेजर विष्णुकुमार लिम्बुले बताए । ‘गत वर्ष एसएलसीको पूरक परीक्षाको समयमा एक सय ५० विद्यार्थी ट्युसन पढ्न भर्ना भएका थिए तर यस वर्ष भने तीन सय बढी विद्यार्थी भर्ना भएका छन्, कोठाको अभावले अर्को फ्ल्याट लिएर विद्यार्थीको व्यवस्थापन गर्नुपरेको छ,’ लिम्बूले भने ।
ट्युसन पढाउने विषय शिक्षक तथा कक्षाकोठाको अभावका कारण एउटै विषय नौपटक एकै शिक्षकले पढाउनुपर्ने बाध्यता भएको लिम्बू बताउँछन् । उनले विद्यार्थी व्यवस्थापन गर्न असहज बन्दै गएपछि भर्ना बन्द गरिएको जानकारी दिए ।
यता जिल्लाकै पुरानो ट्युसन पढाइ हुने फ्लुएन्ट इंग्लिस ल्यांगवेज इन्स्टिच्युट तथा ट्युसन सेन्टरमा पनि विद्यार्थीको चाप धेरै रहेको प्रिन्सिपल राजमणि भट्टराईले जनाए । एसएलसी पूरक परीक्षाको तयारीमा रहेका विद्यार्थी तथा सामुदायिक विद्यालयका विद्यार्थी विशेष गरेर अंग्रेजी, गणित, विज्ञान तथा ऐक्षिक गणित पढ्न गाउँगाउँबाट आएको भट्टराईले जानकारी दिए । गाउँमा विद्यालय बिदा भएको र ट्युसन पढाउने शिक्षकसमेत नहुँदा सदरमुकाम आएर पढ्नुपरेको गुप्तेश्वर मावि फूलबारीको कक्षा १० मा अध्यायनरत विद्यार्थी अनिस आचार्यले बताए ।
सदरमुकाममै रहेको अर्को कान्तिपुर ट्युसन सेन्टरमा पनि सयौँको संख्यामा विद्यार्थी ट्युसन पढिरहेका छन् । सरकारी स्कुलमा सोचेअनुरूप राम्रो पढाइ नहुनु, मानिसको आम्दानीको स्रोत बढ्दै जानु, छोराछोरी उत्तीर्ण हुन् भन्ने अविभावकको चेतनामा विकास हुनु र कतिपयले फेसनको रूपमा लिनुलाई पनि विद्यार्थीमा ट्युसनप्रतिको मोह बढेको कान्तिपुरका मेनेजिङ डाइरेक्टर किसन सावादेनले बताए ।

प्रतिक्रिया