घुससहित दुई कर्मचारी पक्राउ

Bharastacharमहोत्तरी, २४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही र बाँकेमा गरी बुधबार दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला विकास समिति कार्यालय सर्लाहीका सब ईन्जिनियर रामबाबु साह र बाँके नापी कार्यालयका अमिन मनेलाल यादव रहेका छन् ।

मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाको सम्पर्क कार्यालय बर्दिबासको टोलीले सब इन्जिनियर रामबाबु साहलाई जिविस सर्लाहीबाट २० हजार घुस रकमसहित पक्राउ गरेको हो । साहले सर्लाही कालिन्जोर–६, स्थित बाँके नदी नियन्त्रण कार्यका लागि उपभोक्ता समितिसँग रकम नदिए जाँचपास नगरिदिने भन्दै घुस मागेका थिए ।
जिल्ला विकास समिति सर्लाहीमार्फत बाँके नदी नियन्त्रण र ग्याबिनका लागि उपभोक्ता समितिमार्फत दुई लाख रुपैयाँ रकम छुट्याइएको थियो । सबइन्जिनियर साहले सो योजनाको दशप्रतिशत रकम माग गर्दै उपभोक्ता समितिसँग बार्गेनिङ गरेको बताइएको छ । आयोगको बर्दिबासस्थित सम्पर्क कार्यालयमा सर्लाहीबाट एक सय ७३ उजुरी परेको आयोगले जनाएको छ ।
त्यसैगरी, घरजग्गा हालसाविक गर्ने कार्यका लागि मनिकापुर –७, बाँकेका एक जना सेवाग्राहीसँग घुस मागेको भन्दै अमिन यादव पक्राउ परेका हुन् । आयोगको बाँकेस्थित सम्पर्क कार्यालयले यादवलाई २४ हजार नगदसहित पक्राउ गरेकोे जनाएको छ । पक्राउ परेका दुवैलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिएका छन् ।

प्रतिक्रिया