आर्चरी र फेन्सिङमा चुनौति समाप्त

archary-and-fencingकाठमाडौं, २३ असार ।  दक्षिण कोरियाको ग्वाङजुमा जारि २८औँ समर युनिभर्सियाड गेम– २०१५ अन्तर्गत आर्चरी र फेन्सिङमा  नेपालको चुनौति समाप्त भएको छ । ग्वाङजु इन्टरनेसनल आर्चरी सेन्टरमा भएको पुरुष व्यक्तिगत रिकर्भको ७० मिटर दुरीको इलिमिनेसन राउन्डमा नेपालका प्रकाश गुरुङ मंगोलियाका खेलाडीसँग ०­­–६ ले पराजित भए ।

सोही स्पर्धाको महिलामा नेपालकी कृष्णामाया स्याङतानले मिश्रित प्रदर्शन गरिन् । कृष्णाले स्लोभायाकी खेलाडीलाई ६­–२ ले हराइन् । त्यसपछिको खेलमा कृष्णा मेक्सिकोकी खेलाडीसँग ०–६ ले चुकिन् ।
फेन्सिङको पुरुष फोइल स्पर्धाको पुल ‘जी’ को लिग खेलमा नेपालका सन्जिप लामाले एक खेलमा जित हात पारे भने अन्य खेलको नतिजा प्रतिद्वन्द्वीलाई सुम्पे । लिगमा सन्जिपले पाँच प्रतिद्वन्द्वी विरुद्ध प्रतिस्पर्धा गरेका थिए ।
किम डाइजुङ कन्भेन्सन सेन्टरमा सन्जिपले ब्राजिलका हेन्रिक ताभियन परिरा माक्वेर्सलाई ५–४ ले निराश पारे । त्यस्तै सन्जिप इटालीका अलेजेन्ड्रो परोलीसँग ३–५, हङकङका ताङ पुइ तिङसँग २–५, रसियाका रोमन कुट्ससँग ४–५ तथा चीनका डोङ लीसँग १–५ ले पछि परे ।
अब नेपाली खेलाडीले ब्याडमिन्टन, टेबलटेनिस, पौडी र तेक्वान्दोमा प्रतिस्पर्धा गर्न बाँकी छ । १४ जुलाइसम्म चल्ने प्रतियोगितामा विभिन्न १ सय ४६ राष्ट्रका करिब १३ हजार खेलाडी सहभागी छन् ।

प्रतिक्रिया