कराते किड्स निर्माताको निधन

Jerryलसएन्जल्स । हलिउडका चर्चित फिल्म ‘कराते किड्स’ र ‘ओसियन्स इलेभेन’ का निर्माता जेरी विनट्रउबको ७७ वर्षको उमेरमा निधन भएको छ । परिवारले हृदयाघातका कारण जेरीको क्यालिफोर्नियास्थित सान्ता बारबराको घरमा गत सोमबार निधन भएको पुष्टि गरेको छ ।
जेरीले फिल्म निर्माणमा प्रवेश गर्नुअघि एल्भिस पर्सले र फ्रेन्क सिनात्राको संगीत टुरको प्रबद्र्धन गरेर सांगीतिक क्षेत्रबाट करियर सुरु गरेका थिए ।
उनको निधनमा ‘ओसियन इलेभेन’ का स्टार क्लोनी र पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘आउँदा दिनमा उनीप्रति श्रद्धाञ्जली हुनेछ, उनका कथाहरूमा हामी हास्थ्यौँ र उनका क्रियाकलापमा हामी ताली पड्काउँँथ्यौँ,’ क्लोनीले विज्ञप्ति निकाल्दै भनेका छन् । तीनवटा संस्करणको ओसियन फिल्ममा जेरीले ब्राड पिट, जर्ज क्लोनी र म्याट डेमोनसँग काम गरेका थिए ।
जेरीले आफ्नै प्रयासमा हालै एचबिओको कमेडी सेरिज ‘द ब्रिन्क’ र नयाँ भर्सनको टार्जनको कथा तयार पारेका थिए । जुन आगामी वर्ष रिलिज हुँदैछ । न्युयोर्कको ब्रोकलिनमा १९३७ मा जन्मिएका उनी फिल्म क्षेत्र आउनुअघि कलाकारको व्यवस्थापन र कन्सर्टको प्रोमोसनमा संलग्न थिए । ब्रोन्क्समा हुर्किएका उनी सुरुवाती कालमा एयर फोर्समा रेडियो अपरेटरका रूपमा जीवनयापन गरिरहेका थिए ।
उनले सन् १९७५ मा रोबर्ट अल्टमेनको फिल्म ‘नेसभिले’ मा कार्यकारी निर्माता रहेर सफलताको स्वाद चाखेका थिए । धेरै फिल्ममा सफलता पाए पनि सन् १९९८ मा रिलिज भएको फिल्म भर्सनको टेलिभिजन सो ‘द एभेञ्जर्स’ बाट उनले असफलता पनि पाएका थिए ।
‘मेरो सफलताको गोप्य कुरा के हो भने म जोसँग काम गर्छु उनीहरूको नजिक रहेर काम गरिरहन चाहन्छु,’ उनले सन् २०१० मा भनेका थिए, ‘म प्रख्यात मान्छेसँग काम गर्छु त्यसकारण उनीहरूलाई सम्मान पनि गर्छु ।’ उनको परिवारमा श्रीमती सुसन एकिन्स र चार सन्तान छन् । (एजेन्सी)

प्रतिक्रिया