‘दाताको सहयोगले मुलुक बन्दैन’

dr-mahatकाठमाडौं, २३ असार । अर्थमन्त्री डा.रामशरण महतले विदेशी दाताहरूले दिएको सहयोगले मात्रै मुलुक नबन्ने बताएका छन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९२औँ जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित पोस्ट अर्थक्विक सेटलमेन्ट प्लानिङ एन्ड हाउजिङ विषयक विचार विमर्श कार्यक्रममा अर्थमन्त्री महतले सो कुरा बताएका हुन् ।
सरकारले व्यवस्थित एकीकृत बस्ती विकासको तयारी गरिरहेको भन्दै स्वास्थ्य शिक्षा, खानेपानीलगायतका मानिसका आधारभूत आवश्यकता परिपूर्ति गर्नका लागि र विकासका पूर्वाधारहरू सहज ढंगले निर्माण गर्नका लागि छरिएर रहेका बस्तीलाई एकीकृतगरी व्यवस्थित र आधुनिक सहर बनाउनुपर्नेमा अर्थमन्त्री महतले जोड दिए ।
अर्थमन्त्री महतले भूकम्पपछि पुनर्निमाणका लागि भएको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा दाताले गरेको प्रतिबद्धता व्यवहारमा परिवर्तन हुुनुपर्नेमा जोड दिए । उनले भने, ‘ भूकम्पपछि हामी महत्वपूर्ण चरणमा पुगेका छौँ, यसका लागि हामीले आफ्नै श्रम सीप र पुजीँको अधिकतम प्रयोग गर्दै आम नागरिक राष्ट्र निर्माणमा लाग्नुपर्छ अनि मात्र मुलुक नयाँ निर्माणको चरणमा पुग्नेछ ।’ ‘हामीसँग भएको सीमित स्रोत र साधनका बाबजुत पनि भूकम्पपछिकोे उद्धार र राहतमा उल्लेख्य कामहरू गरेका छौँ’ अर्थमन्त्री महतले भने, ‘हामीले स्रोत साधन र रकमको आवश्यकता र प्राथमिकता बुझ्नुपर्छ ।’ १२ वैशाखको भूकम्पका कारण पाँच लाखभन्दा बढी घर ध्वस्त भएका छन् । १० हजार विद्यालय पूर्णरूपमा क्षति भएका छन् त्यस्तै स्थानान्तरणको मुख्य चुनौति रहेको छ । ‘भूकम्पपछि बस्ती बसाल्न पनि सरकारका लागि मुख्य चुनौति रहेको छ त्यसैले राजनीतिक विवादमा नलागी राष्ट्रनिर्माणमा लाग्नुपर्छ,’ अर्थमन्त्री महतले भने ।
राजनीतिक विवादलाई छाडेर आर्थिक एजेन्डामा केन्द्रित हुनुपर्ने भन्दै मन्त्री महतले राष्ट्र पुनर्निमाणका लागि पुनर्निमाण प्राधिकरण गठन भएकाले सरकारले दिएका घरहरूको नमुनाका आधारमा मात्रै भूकम्प प्रतिरोधी घर निर्माण गर्न सबैलाई आग्रह गरे । यसका लागि सिटिइभिटीमार्पत ४४ देखि ४५ हजार प्राविधिकलाई तालिम दिने पनि अर्थमन्त्री महतले जानकारी दिए ।
कार्यक्रममा गिरिजाप्रसाद कोइराला फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले नमुना गाउँको रूपमा बस्तीहरूको विकास गर्नुपर्नेमा जोड दिइन् । भूकम्पपछि नमुना गाउँ निर्माणका लागि चीनका ठूला दुई कम्पनीसँग सम्झौता भइसकेको जनाउँदै संस्कार, संस्कृति र पहिचान झल्कने गरी नमुना गाउँको निर्माण गरिने स्पष्ट्याइन् । सोही कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जीवराज पोखरेलले घर बनाउँदा कस्तो किसिम र कहाँ बनाउँदै छु भन्ने कुराको राम्रो ख्याल गरेर मात्रै बनाउनुपर्ने बताए ।

प्रतिक्रिया