गोरखाबजार, २२ असार । स्याललाई थापेको पासोमा परेको चितुवालाई चितवन लगेर जङ्गलमा छाडिएको छ ।
गोरखाको पालुङटार नगरपालिका–३ च्याङ्लीस्थित पुर्नेडाँडामा सोमबार पासोमा परेका तीन फिट लामो र दुई फिट अग्लो पोथी माउ चितुवालाई चितवनको टिकौली जङ्गलमा छाडिएको गोरखाका जिल्ला वन अधिकृत जीवनाथ पौडेलले जानकारी दिए ।
‘स्याललाई थापेको पासोमा चितुवा परेको हो’, उनले भने, ‘चितुवालाई पासोमुक्त बनाएर चितवन पठायौं ।’ स्यालले कुखुरा खाएको अनुमान गरेर गाउँलेले पासो थापेका थिए ।
चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले चितुवालाई लठ्याएर चितवन लगेको अधिकृत पौडेलको भनाइ छ ।
स्थानीयवासीका अनुसार गाउँका ५० भन्दा बढी कुखुरा हराएपछि स्यालले लगेको हुनसक्ने अनुमानमा पासो थापिएको थियो ।
पासोमा स्यालको सट्टा चितुवा परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया