भूकम्प र हाम्रो भविष्य

arjunभूकम्प आयो । धनजनको क्षति भयो । सबै सकियो । पराकम्पनहरू जारी छन्, तैपनि नेपाली मनहरूमा अझै आशा बाँकी छ । ज्यानमा जाँगर बाँकी छ । पराकम्पनसँगै समाजमा विभिन्न कुराबारे बहस जारी छ । त्यसमा पनि देश जापानतिर जाने हो कि हाइटीतिर भन्नेमा बहस चर्को छ । यसैमा धेरैको चासो छ । भूकम्पपछि देखिएका दुई प्रकारका दृश्यले हामीलाई दुवैतिरको बाटोको सम्भावना देखाएकै हुन् । आधार बलियो भएका कारण हाइटीतिरको बाटो समाइनहाल्ला कि भन्ने देखिन लागेको छ । तर पनि ढुक्क भइहाल्ने स्थिति भने छैन ।
भूकम्पका कारण नेपाली समाजले अहिले आफूलाई प्रस्ट रूपमा चिनाउन पाएको छ । देशी विदेशी गैरसरकारी संस्थाहरूले नेपालको विकास गर्ने ठेक्का लिएको जमानादेखि नै हो । तिनीहरूका कारण देशमा कति विकास भयो भन्नेबारे त्यसैबाट जीविका धान्नेहरूभन्दा बाहेककालाई सोधे हुन्छ । सुकिला लुगा लगाउने र पछाडि चिटिक्कका झोला बोक्नेले देशको विकास गर्न सक्दैनथे र सकेनन् पनि । तर पनि उनीहरू सधैँ देशको विकास गरेको भनेर चिच्याइरहे । विद्यालयमा गएर शिक्षा नलिनु, पश्चिमाको जस्तै जीवनशैली जीउन नजान्नुलगायतका कारणले नेपालीलाई दोस्रो दर्जाको नागरिक बनाइएको थियो अनि बनाइँदै छ । भूकम्पले सबै ध्वस्त बनाउँदै गर्दा नेपालीहरू पुनर्निर्माणमा जोसका साथ जुटे । यसले नेपालीहरू प्रचार गरिएजस्तै कमजोर होइनन् र छैनन् भन्ने तथ्यलाई पुष्टि गरिदिएको छ ।
राज्य सञ्चालकहरू त्यसमा पनि राजनीतिक दल, जसका बारेमा आम मानिसमा राम्रो धारणा छैन, उनीहरूका लागि भूकम्प नेपालीहरूमा आशा सञ्चार गर्ने गतिले समय बन्न सक्थ्यो, बनेन । अवसरको सदुपयोग कलाकार, प्रहरी, सेनाले गरे तर उनीहरूले गर्न सकेनन् । त्यसै भनिएको होइन– जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड । लाखौँ नागरिक घरबारविहीन भएका बेला किनिएको पालमा पनि घोटाला भएको सुन्नुप¥यो र भयो पनि । अझ यसै बेला सरकार फेर्नुपर्छ भनेर केहीले कम्मर नकसेका पनि होइनन् । यस्ता रमिताको सूचि बनाउँदा त्यो लामै बन्छ । राज्य सञ्चालकहरू यस्तै रमितामा मस्त हुँदै गर्दा गाउँ–गाउँमा घर बनाउनका लागि अर्मपर्म सुरु भइसकेको थियो । गाउँमा मानिसले छानाका लागि बाँसका चित्रा बनाउन थालिसकेका थिए । जस्तापाता किन्नका लागि पैसा साथमा थिएन । यता सरकारले कस्ता घर बनाउने भन्ने छलफल आयोजना गर्ने सुरसार गर्दैगर्दा उता गाउँ–गाउँमा बाँसका घर बनिसकेका थिए । पुनर्निर्माणका लागि दाता सम्मेलन सुरु गर्दा नागरिकहरू घर बनाइसकेर धानकोदो रोप्न खेतबारीमा छिरिसकेका थिए । अझै पनि उनीहरू काममै छन् । केही दाताहरू आफूअनुकुलका तस्बिरका लागि उनीहरूलाई बराल्दै छन् । त्यति मात्र होइन, समाजका अगुवा हामीलाई उर्दीसमेत लगाइरहेछन् । हामी पछाडि लागिरहेका छौँ ।
सहयोगको ओइरो लागेको छ । मनकारीहरू सडक नाघेर बस्ती छिर्न सकेनन् । उडेर पुगेकाहरू पनि चौरमै अलमलिए । चौरभन्दा अलि परका कुना कन्दरामा पनि मानिस छन् भन्ने जानेनन् वा नजानेझैँ गरे । कुरा धेरै सुनिएनन् । उनीहरूको आवाज कुनाकन्दरामै हरायो । खानेपानीको मुहानै मुहान भएका गाउँमा पानी राहत वितरण भयो । विपत्का बेलामा पोषणयुक्त खानेकुरा खानुपर्नेमा नाम चलेको संस्थाले नै कुहिएको चामल वितरण गरेको खबर आए । अझै पत्रकार सम्मेलन गरेर कार्यालयका जिम्मेवार व्यक्तिले वाहियात समाचार भन्दै सहयोग नै फिर्ता लैजाने धम्की दिए । घटनाका बारे संस्थाकै जिम्मेवार अर्का अधिकारीले एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै कुहिएको खाद्यान्न बाँडिएको स्वीकार गरे । अरूलाई अर्ती दिएर नथाक्नेहरूको वास्तविक अनुहार प्रस्टैसँग देखियो । नेपाल सरकारले अब उनीहरूलाई कस्तो व्यवहार गर्छ, त्यो नै मुख्य कुरा हो ।
दाताहरूको स्वभावै हो, दान राम्रैसँग बाँडिएको देखाउनु । दानको आवश्यकता अति नै धेरै थियो भन्ने पुष्ट्याइँ गर्नु । त्यसका लागि उसले जमात नै नचाहिने ठाउँमा जमात जम्मा गर्छ । व्यवस्थित तरिकाले बाँड्न सकिने राहत बाँड्न अनावश्यक जमात बटुलेर तनाव सिर्जना गराउँछ । गरिरहेकै छ । आफूलाई चाहिएको जस्तै फोटो खिच्छ । चाहिने नचाहिने शर्त थोपर्छ । हामी सचेत हुनुपर्ने नै यहीँनेर हो । हामीले चाहेजस्तै विकास गर्ने हो भने दाताहरूको चाहनाभन्दा आफ्नै चाहनालाई बढावा दिनुपर्छ । आफ्नै योजनामा विकास गर्न नसक्ने हो भने त्यसले हामीलाई दीर्घकालीन रूपमा मगन्ते बनाइरहनेछ । अन्त्यमा नेपालीहरू प्रचार गरिएझँै कमजोर, कंगाल र अशिक्षित रहेनछन् । प्रचार गरिएजस्तै भएको भए नेपालीहरू भूकम्पमा भन्दा धेरै वर्षामा रुझेर बित्ने थिए । जुन सम्भावना टरिसक्यो । गाउँ–गाउँमा राहत नपुग्दा पनि मानिस खानाकै कारण मृत्युको जोखिममा परेनन् । दाताहरूले प्रस्तुत गरेका रिपोर्टमा उनीहरूले गरेका कामको पुष्ट्याइँ गर्नुपर्छ । त्यस कारण कतिपय अवस्थामा उनीहरूलाई तथ्यको तोडमरोड गर्नु आवश्यक पर्छ । त्यस्ता रिर्पोटहरूमा शतप्रतिशत विश्वास नगर्दा फरक पर्दैन । यो विपत्मा जसरी एक नेपाली अर्को नेपालीको सहयोगका लागि जुट्यो त्यो उदाहरणीय छ । यसले नै भोलिको नयाँ नेपालको खाका कोरेको छ । जुन विदेशी दाताहरूले दिन नसक्ने नेपालीको सम्पत्ति हो ।

 

प्रतिक्रिया