उपभोक्ता हित बुझ्न संसदीय टोली

पर्वत, असार २१ । १२ वैशाखमा गएको विनासकारी भूकम्पपछि राहत र आपूर्तिको अवस्था बुझ्न व्यवस्थापिका संसदअन्तर्गतको उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण संसदीय समिति पर्वतमा आइपुगेको छ । भूकम्पले जिल्लामा पारेको क्षति, राहतको अवस्था, विपत्को समय पारेर बजारमा बढ्न सक्ने कालो बजारी, अखाद्य बस्तुको खरिदबिक्री तथा सरोकारवाला सरकारी कार्यालयको क्रियाकलापको बारेमा समितिले व्यक्तिगत तथा सामुहिक रूपमा अध्ययन गर्न पर्वत आएको हो ।

समितिले सरोकारवालाको भेला राखेर अहिलेसम्म गरिएका काम र चुनौतिको बारेमा पनि चासो राखेको थियो । समितिले राहत, उद्दार र आपूर्तिको अवस्था तथा उद्योग व्यवसाय क्षेत्रमा पारेको असरका बारेमा र शैक्षिक संस्थामा भएको क्षतिका बारेमा जानकारी लिएको थियो । यस्तै वर्षाअघि र पछिको समयमा जान सक्ने बाढीपहिरो र सुरक्षित बसाइँका लागि भएका गतिविधिका बारेमा जानकारी लिएको थियो ।
सभासद् सुवासचन्द्र शाह ठकुरीको नेतृत्वमा आएको पाँच जनाको टोलीले तयार गर्ने प्रतिवेदन सरकारलाई बुझाएर आगामी दिनमा गर्ने क्रियाकलापको निर्देश गर्ने उनीहरूको योजना छ । ‘आम नागरिकले भूकम्पको कारण देखाएर कालो बजारी, अखाद्य बस्तुको प्रयोगजस्ता समस्या भोग्न नपरोस् भन्ने चाहनाले अभियानमा लागेका हौँ’ शाहले भने, ‘यो समस्यालाई समयमै समाधान गर्ने र जनताको पीडालाई पनि सम्बोधन गर्न सकिने विश्वास लिएका छौँ ।’ समिति अति प्रभावित जिल्लाको भ्रमण गर्दै सामान्य प्रभावित जिल्लामा आइपुगेको हो ।
समितिमा सभासद्हरू जमिन्द्रमान घले, भक्तिप्रसाद पाण्डे, वृन्दादेवी राना र रमेशकुमार लामा सहभागी छन् । सो अवसरमा तिवारीले जिल्लामा हालसम्म वितरण गरिएको राहतको जानकारी दिँदै बजार क्षेत्रको अवस्था तथा आगामी कार्यक्रम बारेमा बोलेका थिए । कार्यक्रममा एमालेका अध्यक्ष पदम गिरी, राप्रपा पर्वतका सचिव ईश्वर गिरी, नेकपा–माओवादीका दुर्गाबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने, राष्ट्रिय उपभोक्ता मञ्च पर्वतका अध्यक्ष सरिता भण्डारी, उपभोक्ता मञ्च पर्वतका अध्यक्ष सूर्यप्रकाश पौडेल, गैसस महासंघ पर्वतका सचिव शिवप्रसाद शर्मालगायतले आफ्ना धारणा राखेका थिए ।
समितिलाई सिडिओ तिवारीले जिल्लामा भएको क्षति र राहत तथा उद्दारको अवस्थाका बारेमा जानकारी दिएका थिए भने सहायक सिडिओ चुडाराज भट्टराईले बजार अनुगमन, सशस्त्रका एसपी भरत पनेरु र नेपाल प्रहरीका डिएसपी महेन्द्रकुमार श्रेष्ठले उद्दार तथा सुरक्षा तयारीका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया