अन्तर्राष्ट्रिय टि–ट्वान्टीमा नेपालको वरीयता

Nepal-cricketers-celebrate-काठमाडौं, २० असार । नेपालले शुक्रबार राती नेदरल्यान्डविरुद्धको टि–ट्वान्टी शृंखलाअन्तर्गत अन्तिम खेलमा रोमाञ्चक तीन विकेटको जित हात पार्‍यो ।

नेपालले दुई बल अगावै महत्वपूर्ण जित हात पारेको हो । नेदरल्यान्डका बलर जामिलले बलमा सोमपाल कामीले चौका प्रहार गर्दै नेपालको जित सुनिश्चित गरेका थिए । जितसँगै नेपाल टी–ट्वान्टी अन्तर्राष्ट्रियको विश्व वरीयतामा प्रवेश गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)ले जारि गर्ने नयाँ वरीयतामा नेपाल पनि रहने भएको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्डले सत विकेट गुमाई १३९ रन बनायो । नेदरल्यान्डले ओपनरद्वय स्टेफन मेबर्ग र मिचेल स्वार्टलाई आराम दिएको थियो । ओपनर रहिल अहमदले(२५)र पिटर बोरेनले(२३)रन बनाए ।
उसका लागि तल्लोक्रमका रोइलोफ भान डेर मर्वीले सर्वाधिक ४० रनको योगदान दिए । छैटौँ नम्बरमा ब्याटिङ गरेका मर्वीले २७ बलको समाना गर्दै तीन चौका र एक छक्का प्रहार गरे । नेदरल्यान्ड एक समय कमजोर अवस्थामा रहँदा मर्वीले आठौँ विकेटमा मिचेल रिपोनसँग ५६ रनको बलियो साझेदारी गरेका थिए ।
रिपोनले १४ बलमा दुई चौका प्रहार गरी २२ रन बनाए । नेदरल्यान्डले १५ ओभरमा सात विकेट गुमाइसकेको अवस्थामा ८३ रन मात्र जोडेको थियो । जसमा मर्वी र रिजोनले इनिङ सम्हाल्दै नेदरल्यान्डको सम्मानजनक स्कोर खडा गरेका थिए ।
नेपालको बलिङतर्प अफ स्पिनर सागर पुनले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा २६ रन खर्चे । वसन्त रेग्मीले चार ओभरमा ३१ रन खर्चेर दुई विकेट लिए । स्पिनर शक्ति गौचनले विनाविकेट किफायती बलिङ गर्दै चार ओभरमा १८ रन खर्चे । सोमपाल कामीले भने एक विकेट
मात्र लिए ।
कुल १४० रनको लक्ष्य पछ्याएका नेपालले १९ दशमलव ४ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य हात पारेको थियो । नेपालका माथिल्लो क्रमका ब्याट्सम्यानको प्रतियोगिताभर खराब प्रदर्शन रह्यो । जसमा नेपालले पहिलो बलमा चौका प्राप्त गरे तापनि दोस्रो बलमा सागर पुनलाई गुमाउनु
परेको थियो ।
चौथो खेलमा सुवास खकुरेलको स्थानमा अनिल मन्डललाई खेलाइएको थियो । विनोद भण्डारीले नेपालको विकेट किपिङको जिम्मेवारी सम्हालेका थिए । ज्ञानेन्द्र मल्लले २२ बलमा तीन चौकाको मद्दतले १८ रनमा आउट भए । अन्तर्राष्ट्रिय टि–ट्वान्टीमा ‘डेब्यू’ गरेका मन्डल नौ रनमा रनआउट भए ।
त्यस्तै विनोद भण्डारी(१३)र शरद भेषवाकर(१२)रनमा आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खड्काले नेपालको इनिङलाई मजबुत पारेका थिए । उनले आफ्नो करियरको पहिलो र नेपालको तर्पmबाट दोस्रो अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गर्दै ५४ रनको योगदान दिए । उनले ४१ बल खेली ६ चौका प्रहार गरे ।
नेपाललाई जितको लागि सात बलमा १० रन चाहिएको अवस्थामा खड्का १८ दशमलव ५ ओभरको दोस्रो अन्तिम बलमा आउट भए । पारस आउट भएसँगै ब्याटिङ गर्न आएका सोमपाल कामीले पहिलो बलमै चौका प्रहार गरे । १९औँ ओभरमा नेपाललाई ६ रन चाहिने अवस्थामा प्रदीप ऐरी पहिलो बलमै आउट भए ।
त्यसपछि नेपाल पुन संकटमा परेको थियो । वसन्त रेग्मीले दुई बलमा दुई रन जोडदै स्ट्राइक सोमपाल कामीलाई दिए । तर, सोमपालले चौथो बलमा चौका प्रहार गरेर नेपाललाई सानदार जित दिलाए ।
चार खेलमा एक सय दुई युरो बराबरको छक्का
दुई देशबीच भएको खेलअवधिभर नेदरल्यान्डको क्रिकेट संघले प्रहार गरिएको छक्काको मूल्य तोकेको थियो । जसबाट उठेको रकम नेपालका भूकम्पपीडितका लागि सहयोग गरिने नेदरल्यान्डको क्रिकेट सघंले जनाएको थियो । संघले एक छक्काको मूल्य ६ युरो तोकेको थियो । कूल १७ छक्कामा नेदरल्यान्डले १३ र नेपालले चार छक्का प्रहार गरेका थिए ।
कसरी पायो नेपालले वरीयता
क्रिकेटमा वरीयतामा प्राप्त गर्न थोरैमा आठ खेल खेल्नुपर्ने आइसिसीको नियम रहेको छ । जसमा नेपालले बंगलादेशमा भएको टि–ट्वान्टी विश्वकपको छनोटमा तीन, श्रीलंकामा हङकङसँग एक र नेदरल्यान्डसँगको चार खेलपछि आठ पूरा गर्दै वरीयताको प्रावधान पूरा गरेको थियो । अन्तर्राष्ट्रिय टि–ट्वान्टीमा नेपालले आठ खेलमा तीन जित र पाँच हार बेहोरेको छ । जसमा विश्वकप छनोटमा अफगानिस्तान तथा हङकङ र यो खेलमा नेदरल्यान्डलाई जितेको थियो ।

प्रतिक्रिया