काठमाडौं । नेपालकी प्रीति बराल २८औँ समर युनिभर्सियाड गेम– २०१५ अन्तर्गत लनटेनिसमा शनिबार पराजित भएकी छन् । दक्षिण कोरियाको ग्वाङजुमा भएको महिला एकल स्पर्धामा प्रीति बेलारुसकी मुन भिक्टोरियासँग ६–० र ६–० को सोझो सेटमा पराजित भइन् । प्रीति कोर्टमा ३० मिनेट मात्र टिकिन् ।आर्चरीको व्यक्तिगत पुरुष रिकर्भको ¥याङकिङ राउन्डको ७० मिटर दुरीमा नेपालका प्रकाश गुरुङले सात सय २० पूर्णांकमा पाँच सय ३२ अंक जोडे ।
सोही स्पर्धाको महिलामा नेपालकी कृष्णामाया स्याङतानले सात सय २० अंकमा चार सय ८४ को प्रदर्शन गरिन् । अब इलिमिनेसन राउन्डमा आइतबार प्रकाशले मंगोलिया तथा कृष्णाले स्लोभाकियाका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै फेन्सिङको महिला इपी स्पर्धामा नेपालकी राखी शर्मा पनि पराजित भइन् । पुरुषमा नेपालका सन्जिप लामाले फोइल स्पर्धामा सोमबार खेल्नेछन् ।
यसअघि प्रतियोगिताको दक्षिण कोरियाकी राष्ट्रपति पार्क गिन हेले ग्वाङजु वल्र्ड कप स्टेडियममा आयोजित एक भव्य कार्यक्रमबीच उद्घाटन गरिन् ।
मार्चपास्टमा नेपालभन्दा अगाडि नामिबिया र पछाडि नेडरल्यान्डको टोली थियो । प्रतियोगितामा विभिन्न एक सय ४६ राष्ट्रका करिब एक हजार तीन सय खेलाडी सहभागी छन् । युनिभर्सियाडको इतिहासमा राष्ट्र र खेलाडी सहभागीको संख्या अहिलेसम्मकै उच्च हो ।
नेपालले विभिन्न सात खेलमा १९ खेलाडीलाई सहभागी गराएको विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिंह बोहराले जनाएका छन् । नेपालले लनटेनिस, आर्चरी, फेन्सिङसहित टेबलटेनिस, तेक्वान्दो, पौडी र ब्याडमिन्टनमा खेलाडी सहभागी गराएको टोली नेता एवं विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी (टेकराज) ले जनाएका छन् ।
सबैभन्दा कम लनटेनिसमा एक, आर्चरी, फेन्सिङ, ब्याडमिन्टन र पौडीमा दुई–दुई, टेबलटेनिसमा सबैभन्दा बढी सात तथा तेक्वान्दोमा तीन गरी १९ खेलाडी सहभागी छन् ।
त्यस्तै नेपाललगायत विभिन्न राष्ट्रको झन्डोतोलन गरिएको थियो । प्रतियोगिता जुलाई १४ सम्म चल्नेछ । (सौस)
प्रतिक्रिया