‘संविधान निर्माण रोकिन्न’

susil-koiralaकाभ्रे, १९ असार । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको प्रक्रिया सुरु भइसकेकाले कसैले रोक्न नसक्ने बताएका छन् । जापान सरकारको अनुदानमा निर्माण भएको बनेपा–सिन्धुली–बर्दिवास बिपी राजमार्ग शुक्रबार धुलिखेलमा आयोजित हस्तान्तरण कार्यक्रममा उनले भने, ‘अब संविधान आउँछ, आउँछ ।’

प्रधानमन्त्री कोइरालाले मुलुकमा संघीय गणतन्त्र स्थापना सामान्य विषय नभएको उल्लेख गर्दै जनआन्दोलनका उपलब्धि संस्थागत गर्ने समय आउन लागेको बताए । उनले मुलुकमा सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारशून्य अवस्था भए अबको १० वर्षमै मुलुकमा कायापलट हुने बताए ।
०५३ देखि सडकको निर्माण कार्य सुरु भएको २० वर्षमा सडक निर्माण भएको हो । एक सय ६० किलोमिटर लम्बाइ भएको सडकको निर्माणमा २६ अर्ब जापानी येन लगानी भएको छ ।
यस्तै, शुक्रबार नै प्रधानमन्त्री कोइराला वीरगञ्ज पुगे । नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गर्दै उनले भने, ‘द्वन्द्वका बेला उद्योग कलकरखाना बन्द हुँदा ४० लाख युवा विदेशी मरुभूमिमा पुगे, अब उनीहरूलाई फर्काउनुपर्छ र देशमै रोजगारी दिलाउनुपर्छ । वीरगञ्जको छपकैंयामा पूर्वप्रधानमन्त्री कोइरालाको पूर्ण कदको सालिक स्थापना भएको हो ।

प्रतिक्रिया