मुस्ताङ, १८ असार । पैतीस वर्षपछि मुस्ताङ जिल्लाको छोसेर गाविसमा नेचुङ भन्सार सञ्चालनमा आएको छ ।
असार ७ देखि १४ गतेसम्म नेपाल र तिब्बतको सीमा क्षेत्रमा सुरु भएको साताव्यापी अन्तरदेशीय व्यापार मेलाको अवसरमा छोसेर गाविसमा भन्सार कार्यालय सञ्चालनमा आएको हो ।
व्यापार मेलामा हुने कारोबारलाई करको दायरामा लिन र आगामी दिनमा सीमा क्षेत्रमा हुने अवैध कारोबारलाई नियन्त्रण गर्न भन्सार कार्यालय सञ्चालनमा ल्याइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिए ।
अघिल्ला वर्षमा सीमा क्षेत्रमा हुने कारोबार ‘जिरो राजस्व’मा नेपाल भित्रिने गर्थे ।
भन्सार तिर्नुनपर्ने भएपछि मोटरसाइकल, निर्माण सामग्री, फर्निचरदेखि लत्ताकपडा बढी भित्रिने गरेका थिए ।
यही सीमाबाट भित्रिएका मोटरसाइकल जोमसोम, लोमान्थाङलगायतका क्षेत्रमा निर्वाधरुपमा चल्ने गरेका छन् ।
‘स्थानीयवासीले सुरुमा त आपत्ति जनाएका थिए, तर हामीले विभिन्न चरणमा छलफल गरेर कार्यालय स्थापना गरेका हौँ, स्थानीयवासीसँग समन्वय गरेर यो कार्यालयलाई निरन्तरता दिनुपर्छ’, उनले भने, ‘सरकारले पनि यो क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।’
सीमा क्षेत्रका नागरिकका समस्या र समाधानका भन्सारसहित सीमा प्रशासन कार्यालय पनि सञ्चालनमा आएको छ । सीमा प्रशासन कार्यालय त्यस क्षेत्रमा नहुँदा उपल्लो मुस्ताङका नागरिकले सानो कामका लागि जोमसोम आउनुपर्ने बाध्यता रहेको थियो । सीमा प्रहरी चौकी भने यसअघि देखि नै सक्रिय रहँदै आएको छ ।
प्रतिक्रिया