निषेधित क्षेत्रमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । आफ्नो भविष्य अनिश्चित भएपछि तत्काल आफूहरूलाई अन्यत्र मेडिकल कलेजमा स्थानान्तरण गर्न मागसहित जानकी मेडिकल कलेजका विद्यार्थीले सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरे । सरकारले नाराजुलुस र धर्ना कार्यक्रम निषेध गरेको क्षेत्रमा बुधबार मेडिकल कलेजका विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन् ।
विद्यार्थीले जानकी मेडिकल कलेज सञ्चालक समितिले नौ महिनादेखि पढाइ सञ्चालन नगरेर विद्यार्थीको भाग्य र भविष्यमाथि खेलबाड गरिरहेको भन्दै उनीहरूले सञ्चालक समितिलाई राजनीतिक संरक्षण रहेकाले माग सुनुवाइ नभएको आरोप लगाए ।
यसअघि शिक्षा मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय तथा प्रधानमन्त्रीलाई समेत भेटेर आफ्ना मागबारे जानकारी गराएको भए पनि बेवास्ता गरेको भन्दै उनीहरूले प्रदर्शन गर्न बाध्य भएको जनाए । उनीहरूले व्यवस्थापन समितिमा भएको खिँचातानीले मेडिकल कलेज बन्द रहेको र यसको क्षतिपूर्तिसहित त्यहाँ अध्ययनरत विद्यार्थीलाई स्थानान्तरण गरिनुपर्ने माग राखे ।
विद्यार्थीहरूले सिंहदरबारको दक्षिण ढोकाअगाडि जम्मा भएर ब्यानर, प्लेकार्ड र सेतो पोसाकसहित प्रदर्शन गरे । शिक्षामन्त्रीविरुद्ध नाराबाजी हुँदा केही समय यातयात अवरुद्ध भएको थियो । (सौस)

प्रतिक्रिया