मुरारका निर्विरोध

mahasangकाठमाडौं, १७ असार । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा पशुपति मुरारका निर्विरोध अध्यक्ष हुने भएका छन् । अध्यक्षका लागि उम्मेदवारी दिएका पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कार्यकारिणी सदस्य भवानी राणाले मनोनयन फिर्ता लिएपछि मुरारका निर्विरोध भएका हुन् ।

अध्यक्षमा उम्मेदवारी दिएका राजकर्णिकारले मंगलबार मुरारको समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । त्यस्तै राणाले बुधबार पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरिन् । मुरारका निर्विरोध भए पनि महासंघको शुक्रबार हुने विशेष साधारणसभाले औपचारिक अध्यक्ष घोषणा गर्नेछ । उम्मेदवारी मनोनयन फिर्ता लिने म्याद बिहीबारसम्म छ । मुरारका अब २१ महिनाका लागि अध्यक्ष बन्नेछन् ।
१५ महिनाअघि भएको महासंघको निर्वाचनमा प्रदीपजंग पाण्डे अध्यक्षमा निवार्चित भएका थिए । पाण्डे ३२ वर्ष पुरानो भ्रष्टाचार मुद्दामा कैद भुक्तान गर्न बाँकी अवधिका लागि जेल चलान भएपछि पद रिक्त रहेको थियो । पाण्डे जेल चलान भएपछि मुरारका कार्यवाहक अध्यक्ष थिए । मुरारका सोही निर्वाचनबाट महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका थिए ।
मुरारका अध्यक्ष भएपछि वरिष्ठ उपाध्यक्षमा भवानी राणा हुने सम्भावना बढी रहेको छ । राणालाई वरिष्ठ उपाध्यक्ष बनाउने भएपछि मात्र उनले उम्मेदवारी फिर्ता लिएको बुझिएको छ । उद्योगी व्यवसायीको सल्लाह र महासंघको एकताको लागि उम्मेदवारी फिर्ता लिएको उम्मेदवारी फिर्ता लिन आयोजित पत्रकार सम्मेलनमा राणाले बताएकी थिइन् ।
महासंघ एक ढिक्का भएर अघि बढ्नुपर्ने सर्वसम्मतको लागि आफूले उम्मेदवारी फिर्ता गरेको बताइन् । ५० भन्दा बढी जिल्ला तथा नगर संघको समर्थन रहँदारहँदै पनि एकताका मुरारकालाई समर्थन गरेको उनले बताइन् । पत्रकार सम्मेलनमा महासंघका चार पूर्वअध्यक्षहरू कुशकुमार जोशी, रविभक्त श्रेष्ठ, चण्डीराज ढकाल र निवर्तमान अध्यक्ष सुरज वैद्य उपस्थित थिए ।
यसअघि महासंघको अध्यक्ष निर्विरोध चयन गर्न ९ जना पूर्वअध्यक्षहरू सहमत भएका थिए । पूर्वअध्यक्षहरूको लामो प्रयासपछि अध्यक्ष निर्विरोध चयन भएका हुन् ।
अध्यक्षका अर्का प्रत्यासी भाष्करराज राजकर्णिकारले मंगलबार अपराह्न मुरारकालाई समर्थन गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएका थिए । महासंघमा ९३ जिल्ला नगर उद्योग वाणिज्य संघ र ९६ वस्तुगत संघ आबद्ध रहेको छ । त्यस्तै ६ सय ३५ एसोसिएट र २० अन्तर्राष्ट्रिय संघ आबद्ध रहेको छ ।
को हुन् मुरारका ?
मुरारका ‘मुरारका अर्गनाइजेसन’का सञ्चालक हुन् । विसं २०२४ मा सिरहाको लहानमा जन्मिएका मुरारका शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातक गरेका छन् । उनले नेपाल उद्योग वाणिज्य महासंघमा विभिन्न पदमा रहेर तीन कार्यकाल बिताइसकेका छन् भने १५ महिनाअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि केही समय उनले कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालेका छन् ।
सिरहाको लहानमा रहेको जेएस मुरारका बहुमुखी क्याम्पस पनि उनको लगानी रहेको छ । त्यस्तै, लहानमा रहेको स्मारक अस्पताल पनि उनको परिवारको लगानी रहेको छ ।

प्रतिक्रिया