काठमाडौं । दक्षिण कोरियाको ग्वान्जुमा हुने २८ औँ समर युनिभर्सियाड गेम– २०१५ मा सहभागी हुने नेपाली खेलाडीलाई मंगलबार बिदाइ गरियो । विश्वविद्यालय खेलकुद संघ नेपालले खेलाडीलाई वानेश्वरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरेको हो । ३ देखि १४ जुलाईसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट विभिन्न ७ खेलका १९ खेलाडीले प्रतिस्पर्धा गर्ने विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिंह बोहराले जनाकारी दिए ।
टेबलटेनिसको पुरुषमा दीपक साउन, ज्याकी महर्जन, अभयराज श्रेष्ठ, आशिष अवाले र विनेश खनियाँ तथा महिलामा नविता श्रेष्ठ र अनिता महर्जनले भाग लिने छन् ।
तेक्वान्दोमा निशा रावल, सीता तामाङ र नीमा गुरुङले प्रतिस्पर्धा गर्नेछन् । पौडीको पुरुषमा यासिफ मानन्धर र महिलामा जित्ज्वाली महर्जनले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । ब्याडमिन्टनको पुरुषमा दीपक बोहरा र महिलामा नङशलदेवी तामाङ सहभागी हुनेछन् ।
फेन्सिङको पुरुषमा सञ्जीव लामा र महिलामा राखी शर्मा तथा आर्चरीको पुरुषमा प्रकाश गुरुङ र महिलामा कृष्णमाया स्याङतानले भागलिने छन् । लनटेनिसमा एक खेलाडीको सहभागिता रहनेछ । लनटेनिसको महिलातर्फ प्रीति बरालले प्रतिस्पर्धा गर्नेछिन् । टोली नेतामा विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी छन् । खेलाडी र अफिसियलसहितको सम्पूर्ण टोली बुधबार ग्वान्जु प्रस्थान गर्ने छन् । दुई वर्षको अन्तरालमा हुने समर युनिभर्सियाडमा नेपालले २६ औँ संस्करणदेखि नियमित रूपमा सहभागिता जनाउँदै आएको बताइएको छ । ( सौस)
प्रतिक्रिया