काठमाडौ, १५ असार । राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक कृष्ण थापाले वर्तमान राष्ट्रिय खेलकुद परिषद् बोर्ड गठनमा अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाको भूमिका रहेको आशंका व्यक्त गरेका छन् । फुटबल संघको प्रतिनिधित्व गर्दै मोहम्मद समिउल्लाह परिषद् सदस्य बनेपछि उनको यस्तो आशंका रहेको हो । एमाले विचारका थापाले फुटबलभित्रको विकृति समाधानका लागि परिषद् बोर्डमा आफ्नो उपस्थिति सार्थक हुने जनाएका थिए ।
थापा नेतृत्वको विरुद्धमा फुटबल फुटबल संघका उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजय नारायण मानन्धर र किशोर राइको साथमा पंकज नेम्बाङले आन्दोलन गरिरहेका छन् । नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीले फुटबल विवादमा आफ्नो धारणा सार्वजनिक गरेका छैन भने महासंघ मातहतको राष्ट्रिय फुटबल संघका अध्यक्ष सुनील कपाली र एमालेबाट सभाषद् उम्मेदवार भएका फुटबल प्रशिक्षक छिरिङ लोप्साङ थापा नेतृत्वको विरुद्धमा रहेका छन् ।
एन्फाको व्यवस्थापन पक्षमा लामो समय रहेका कृष्ण भक्त मानन्धर पनि थापा विरोधी आन्दोलनको पक्षमा रहेका छन् । कृष्ण थापाले फुटबल संघमा प्रशिक्षकलाई भेदभाव गरिएको र उचित सम्मान नदिइएको साथै व्यक्तित्व विकासमा फुटबल संघ नै बाधक रहेको बताउँदै एन्फा अध्यक्ष थापाको विरुद्धमा आफूलाई उभ्याउँदै आएका छन् । नेपालको पहिलो व्यावसायिक खेलाडी थापा एन्फा अध्यक्ष गणेश थापाको राष्ट्रिय टोलीका स्ट्राइकिङ पार्टनर हुन् । उनले राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । हाल परिषद् बोर्ड सदस्यमा नियुक्त समिउल्लाह एन्फा अध्यक्ष गणेश थापाका निकट पात्रका रूपमा परिचित छन् ।
यसैगरी, राष्ट्रिय फुटबल संघका अध्यक्ष सुनील कपालीले समिउल्लाहलाई बोर्ड सदस्य बनाउनेबारे कुनै सल्लाह नभएको जनाएका छन् । ‘फुटबल संघभित्रको विकृतिका बारे हामीले आन्दोलन गर्दा थुप्रैपटक उनीसँग कुरा गरेका हौँ । तर, उनले जे भए पनि गणेश थापाका विरुद्धमा म बोल्न नसक्ने बताउँथे ।’ कपालीले समिउल्लाहको बारे भने । एमलेबाट गत संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका फुटबल प्रशिक्षक छिरिङ लोप्साङ पनि गणेश थापाका निकट पात्र समिउल्लाह चयन हुनुमा आफ्नो संगठनसँग केही सल्लाह नभएको बताउँछन् । यसरी, असन्तुष्टि व्यक्त गर्ने सुनील कपाली एन्फाका पूर्वउपाध्यक्ष तथा मच्छिन्द्र क्लबका पूर्वअध्यक्ष हुन् । २०६२ मा मनाङ मस्र्याङ्दी क्लबलाई राष्ट्रिय च्याम्पियन बनाउने लोप्साङ गत संविधानसभा निर्वाचनमा एमालेबाट मनाङमा उम्मेदवार भएका थिए ।
प्रतिक्रिया