माहिका र इरा छानिए

tennis-photoकाठमाडौं । रोड टु सिंगापुरमा सहभागी हुने दुई महिला टेनिस खेलाडीको आइतबार अन्तिम टुंगो लागेको छ । अखिल नेपाल लनटेनिस संघले आयोजना गरेको तीनदिने छनोट प्रतियोगिताको दुई उमेर समूहमा पहिलो भएका खेलाडी छानिएका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको छनोटको अन्तिम दिन यु–१६ उमेरसमूहमा अपराजित रहँदै माहिका राणा पहिलो भइन् । चार खेलाडी सहभागी यो स्पर्धामा माहिकाले राउन्ड रोविन लिगको अन्तिम खेलमा जुम्ल्याहा दिदी मायांकालाई ८–१ ले सहजै पराजित गरिन् । त्यसअघि माहिकाले श्लेशा प्रधान र विजिशा श्रेष्ठलाई हराएकी थिइन् ।त्यस्तै यु–१४ उमेरसमूहमा कुनै खेल नगुमाएकी इरा राउतले सिंगापुर यात्रा पक्का गरिन् । अन्तिम दिन इराले तीन प्रतिद्वन्द्वीलाई निराश पारिन् । इराले खुसी पाण्डेलाई ८–३, प्रेरणा कोइरालालाई ८–१ तथा अभिलाषा विष्टलाई ८–२ ले पाखा लगाइन् । ५ खेलाडी सहभागी यो स्पर्धाको अघिल्ला प्रतिस्पर्धामा इराले मेधावी गिरी र सलोनी तामाङलाई पन्छाएकी थिइन् ।
रोड टु सिंगापुर अक्टोबर १९ देखि २५ तारिखसम्म सञ्चालन हुनेछ । त्यसका लागि लनटेनिस संघका अध्यक्ष मनोज राणा र महासचिव मनोहरदास मुलले छनोट हुन सफल खेलाडीद्वयलाई रोड टु सिंगापुरको ब्यानर प्रदान गरी शुभकामना दिएका थिए । सोही अवसरमा यसै महिना थाइल्यान्डको बैंककमा सम्पन्न चाङ थाइ राष्ट्रिय टेनिस च्याम्पियनसिप तथा टोयोटा राइजिङ स्टार रोड टु ओलम्पिक– २०१६ का पदक विजेतालाई बधाई ज्ञापन गरिएको थियो ।
चाङ थाइमा संरक्षक भूषण वज्राचार्यले स्वर्ण तथा टोयोटामा रजत जितेका थिए । उनले यु–१४ उमेर समूहमा पदक जितेका थिए । त्यस्तै, टोयोटाको यु–१६ उमेर समूहमा सक्षम कार्कीले रजत हात पारेका थिए । (सौस)

प्रतिक्रिया