अमेरिकी सर्वोच्च अदालत बामपन्थी हुँदै गयो

Suprim Cort Americaवासिङटन, १३ असार । डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिहरूले नियुक्त गरेका चार र रिपब्लिकन नेताहरूले नियुक्त गरेका पाँच न्यायाधीशका कारण सामान्यतया अमेरिकी सर्वोच्च अदालत परम्परावादीको पक्षमा ढल्किएको टिप्पणी गरेका छन् ।

एक सातामा प्रगतिशील कारणमा सर्वोच्च अदालतले दुई ऐतिहासिक निर्णय गरेपछि परम्परावादीहरू बाहिर परेको अनुभव गर्न थालेका हुन् । यी दुई निर्णयमा सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई अमेरिकाभर विस्तार गरेको छ र राष्ट्रपति ओबामाको स्वास्थ्य सेवालाई कायम राखिदिएको छ ।

परम्परावादीहरूले यी निर्णयबाट कानुनलाई होच्याइएको र अदालतले सार्वजनिक अभिमतलाई बिजयी बनाएको देखेका छन् ।

अतिपरम्परावादी न्यायाधीश एन्टोनिन स्कालियाले समलिङ्गी विवाहलाई देशव्यापी रूपमा कानुनी बनाउने पक्षमा पाँच न्यायाधीशको पक्षमा र चार न्यायाधीशको विपक्षमा निर्णय ‘न्यायिक क्रान्ति’ भएको र यसमा कानुनको झिनो पत्र पनि नरहेको दाबी गरे ।

प्रधान न्यायाधीश जोन रोबर्ट्स पनि समलिङ्गी विवाहको विपक्षमा रहेका छन् । उनले यो कुरा संविधानसँग सम्बन्धित नभएको र यो निर्णय चाहनाको कार्य भएको र कानुनी निर्णय नभएको बताए ।

आफ्ना सहयात्रीहरूले ‘ओबामाकेयर’ को मुद्दामा छ न्यायाधीश पक्षमा र तीन न्यायाधीश विपक्षमा बसेर निर्णय गरेकोमा न्यायाधीश स्कालियाले विरोध गरेका छन् । यस सेवाले लाखौँ अमेरिकी नागरिकलाई स्वास्थ्यबिमा उपलब्ध गराएको छ ।

परम्परावादीहरूले ओबामाकेयरलाई सरकारले नागरिकको निजी जीवनमा गरेको असंवैधानिक हस्तक्षेपको रूपमा लिएका छन् ।

स्कालियाले ओबामाकेयरको निर्णयमा ‘अफोर्डेबल केयर एक्ट’ का लागि कानुनको ब्याख्याको सामान्य नियम तोडिएको उल्लेख गरेका छन् ।

उनले यसलाई स्काउटकेयरको रूपमा लिनुपर्ने बताए । सामान्यतया यस शब्दले सर्वोच्च अदालतलाई बुझाउँछ ।

स्वास्थ्य तथा समलिङ्गी विवाहको निर्णयभन्दा बाहिर पनि अदालतले गत साता आवासमा हुने भेदभावविरुद्ध सङ्घर्ष गर्ने प्रमुख औजारका विषयमा निर्णय गरेको थियो । त्यसलाई पनि राष्ट्रपति बराक ओबामाको प्रशासनका लागि ठूलो बिजयको रूपमा लिइएको थियो ।

विगतमा सर्वोच्च अदालतको ऐतिहासिक निर्णयले गर्भपतनलाई अगाडि बढाएको छ, विद्यालयमा जातीय विभाजन अन्त्य गराएको छ र अन्तरजातीय विवाहलाई अनुमति दिएको छ ।

यस साताको निर्णयपछि केहीले अदालतलाई संविधानतर्फ नभएर सार्वजनिक मततर्फ झुकेको आरोप लगाएका छन् ।

परम्परावादी ह्यारिटेज फाउन्डेसनका अनुसन्धानकर्ता रायन एन्डरसनले समलिङ्गी विवाह सम्बन्धी निर्णय हालका वर्षमा देखिएका र भविष्यमा पनि देखिने न्यायिक सक्रियतावादको एउटा स्पष्ट उदाहरण भएको बताए ।

उनले अदालतको बहुमतले जनताको विचारमा विवाह के हो भन्ने कुराको धारणालाई नै प्रतिस्थापन गरिदिएको बताए ।

यस साताका तीन प्रमुख निर्णयमा सन् १९८० मा परम्परावादी रोनाल्ड रेगनको पालामा नियुक्ति पाउनुभएका र सुधारवादी मानिनुनभएका न्यायाधीश एन्थोनी केनेडी प्रगतिशील न्यायाधीशको साथमा देखिएका छन् ।

प्रधानन्यायाधीश रोबर्ट्सले पनि स्वास्थ्य सेवाको निर्णयमा पक्षमा मत दिए । राजनीति रेखामा रहेर मतदान गरेको भन्ने आरोप अदालतले नभोगोस् भनी उनले त्यसो गरेको पनि हुनसक्छन् ।

म्याकडरमोर्ट विल एन्ड एमरीका लिसा लिन्स्कीले यो अदालत परम्परावादी र उदारवादी भएको कुरा नभएको बताए ।

उनले सर्वोच्च अदालतले आफूवरपर भएको विश्व, आधारभूत सिद्धान्त तथा संविधानले दिएको सुरक्षालाई ध्यान दिएको बताए ।

उनले अमेरिकाका संस्थापक पिताहरूले संविधानलाई लचकदार र सभ्य समाजका जनताका लागि लामो समयसम्म निर्देशन दिने दस्तावेजको रूपमा सिर्जना गरेको बताए ।

उनले यी मुद्दाले वास्तविक जनतामा गहन रूपमा र दीर्घकालीन रूपमा प्रभाव पारेको बताए । उनले अन्यथा निर्णय भएको भए अराजकता उत्पन्न हुने बताए ।

ओबामाकेयरका विषयमा अन्यथा निर्णय भएको भए लाखौँ जनता स्वास्थ्यबिमाबाट वञ्चित हुन्थे ।

साउथ क्यालिफोर्निया विश्वविद्यालयको गाउल्ड स्कुल अफ लका विशेषज्ञ डेविड क्रुजले न्यायाधीशहरूको ध्यान स्वास्थ्यबीमा बजारको आर्थिक वास्तविकताको कानुनी ब्याख्यामा केन्द्रित भएको र के राम्रो नीति हुन्छ भनी स्वतन्त्ररूपमा दिइएको बिचारमा नरहेको बताए ।

समलिङ्गी विवाहका विषयमा निर्णय गर्दा न्यायाधीश केनेडीले समलिङ्गी दम्पत्तिलाई सामान्य विवाहित जोडीलाइ दिइने कर तथा पैत्रिक सम्पत्तिको अधिकार जस्ता अधिकारबाट वञ्चित गराउन नहुने उल्लेख गरे ।

टेक्सासको ए एन्ड एम विश्वविद्यालयका कानुनका प्राध्यापक म्यारी मार्गरेट पेनसरोजले यी सुविधा प्रदान गर्ने कुरा परम्परागत रूपमा नीति तथा कानुनको विषय भएको र संविधानको विषय नभएको बताए ।

इन्डियाना विश्वविद्यालयको मुरेर स्कुल अफ लमा संवैधानिक मुद्दा पढाउनुहुने स्टिभ सान्डर्सले अदालतले केही लचकता देखाउँछ भन्ने अपेक्षा गरिने बताए । उनले अभिमत सङ्ग्रहबाट कानुन बनाउनु नहुने कुरामा ध्यान दिइनुपर्ने बताए ।

उनले राजनीतिक बहुमतमा रहेका व्यक्तिहरूको अस्थायी आवेग तथा अश्रेयकारी उद्देश्यका अधारमा अल्पसङ्ख्यक समूहको आधारभूत अधिकार अस्वीकार भएको छ भने अदालतले त्यसमा प्रवेश गर्ने र काम गर्ने अपेक्षा गरिएको बताए ।

सोमबारसम्मको हालको सर्वोच्च अदालतको निर्णयहरूमा न्यायाधीशहरूले बढी बामपन्थी निर्णय लिएको तथ्याङ्कहरूले देखाएका छन् । सर्वोच्च अदालतले दिएको ५६ प्रतिशत निर्णय प्रगतिशील ठानिने न्यु योर्क टाइम्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया