जनक शिक्षाको पुस्तक बिकेन

काठमाडौं, १४ असार । पाठ्यपुस्तक बिक्रीवितरणमा निजी क्षेत्रले बदमासी गरेको सरकारी आरोप छ ।

विद्यालय तहको कक्षा ५ सम्म पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको निजी क्षेत्रले माथिल्लो तहको पुस्तक छापेर बिक्रीवितरण गरेपछि सरकारले ‘धमिलो पानीमा माछा मार्न खोजेको’ आरोप लगाएको हो ।
जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक अनिल झाले निजी क्षेत्रले माथिल्लो तहको पाठ्यपुस्तक छापेर बिक्रीवितरण गरेको बताए । ‘निजीले धमिलो खोलामा माछा मार्न खोजिरहेका छन्’, उनले भने, ‘कक्षा ५ सम्मको जिम्मेवारी पाएको निजी क्षेत्रले माथिल्लो तहको पाठ्यपुस्तक पनि बिक्रीवितरण गरेको छ ।’
उनले कक्षा ६ र ७ का दुई लाख प्रति पाठ्यपुस्तक निजी क्षेत्रले बिक्रीवितरण गरेको बताए । निजी क्षेत्रले पाठ्यपुस्तक बिक्री गर्दा जनकका छापिएका पुस्तक थन्किएर बसेको बताए । ‘हामीकहाँ अझै दुई लाख ५० हजार पुस्तक थन्किएर बसेका छन् । माग नै आउँदैन’, उनले भने, ‘कहाँबाट पाए त डिपोले ? बिक्रीका लागि राखिएका पुस्तकको किन माग नआएको भन्दा त निजी क्षेत्रले आफ्ना पुस्तक बेचेको पाइयो ।’ महाप्रबन्धक झाले ५० प्रतिशत मात्र कक्षा ६ र ७ का पुस्तक बिक्री भएको जानकारी दिए ।
निजीलाई यसव र्षदेखि कक्षा ५ सम्म छपाई गरी बिक्रीवितरण गर्न भने पनि नियमविपरीत माथिल्लो तहसम्म पुस्तक प्रकाशन गरेर बेचेका छन् । महाप्रबन्धक झाले जनक अहिले पनि विद्यालय तहका सबै कक्षाको पुस्तक पु¥याउन सक्षम भएको दाबी गरे । ‘हामी प्राइभेटसँग प्रतिस्पर्धा गर्न सक्छौँ’, उनले भने, ‘अब हामी सबै कक्षाका पाठ्यपुस्तक पु¥याउन सक्छौँ ।’ उनले ९९ प्रतिशत ठाउँमा पुस्तक पुगेका दाबी गरे ।
जनकले कक्षा ६ देखि १० सम्मका लागि १ करोड ४५ लाख थान पुस्तक छापेको थियो भने करिब १ करोड २५ लाख थान पुस्तक बिक्रीवितरण गरिसकेको छ । निजी छापाखानाका दीपक भण्डारीले निजी क्षेत्रलाई माथिल्लो तहसम्मको पाठ्यपुस्तक छाप्ने दिने हो भने समयमा नै पुस्तक पु¥याउने दाबी गरे । यस वर्ष कक्षा ५ सम्म १ करोड ८८ लाख पुस्तक छापेको थियो ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले पाठ्यपुस्तकबारे समीक्षा गरी नियमविपरीत छापेर बेच्नेमाथि कारबाही गरिने जानकारी गराए । ‘गत वर्षभन्दा यस वर्ष सुधार भएको छ । हामीले जनकका पुस्तक किन बिकेन भनेर छलफल गर्छौं’, उनले भने, ‘नियमविपरीत पुस्तक छाप्नेलाई हामी कारबाही गर्छौं ।’ धादिङका पाठ्यक्रम व्यवसायी नारायण श्रेष्ठले विज्ञानका २ हजार दुई सय ३०, अर्थशास्त्रका ३ हजार तीन सय ९ र अंग्रेजी विषयका १ हजार पाँच सय पुस्तक अभाव रहेको बताए ।
नेपाल स्टेसनरी तथा पुस्तक व्यवसायी महासंघका उपाध्यक्ष प्रभात सुवेदीले अघिल्लो वर्षजस्तै यो वर्षमा पनि पाठ्यक्रम अभाव भएको बताए । उनले जनकले करोडौँ पुस्तक छापेको छु भने पनि आफूहरूले नपाएको बताए । अविभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षा मन्त्रालय विद्यार्थीप्रति उत्तरदायी नभएकाले हरेक वर्ष पाठ्यपुस्तकको अभाव हुने गरेको बताए ।

प्रतिक्रिया