पौडेल दुवै भूमिकामा असफल

Purshottam-poudelकाठमाडौं, १३ असार । शकुन्तला नगरकोटी राष्ट्रिय खेलकुद परिषद्( राखेप)की सदस्य सचिव भएको ११ दिनमै पदमुक्त भइन् । उनलाई सदस्यसचिव नियुक्त गर्ने संगठन अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नै अत्तोपत्तो नदिई पदमुक्त गरेका थिए । शकुन्तला नेपाली खेलकुदकी पहिली महिला सदस्यसचिव मात्र थिइनन्, राम्रो खेलपृष्ठभूमि भएकी व्यक्तित्व थिइन् । एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको सचिवालय सदस्य शकुन्तला भलिबलकी पूर्वराष्ट्रिय खेलाडी तथा कबड्डीको राष्ट्रिय प्रतियोगिता खेलेकी खेलाडी थिइन् ।

पुरुषोत्तम पौडेलले खेलकुद महासंघले नेतृत्व गरेको ६ वर्षयता आफू निकट खेलकर्मीको मानमर्दनको यो पछिल्लो घटना हो । आफ्नै संगठनको नेतृत्वले मनोभावनामा ठेस पु-याइएपछि आहत भएकी शकुन्तलाले केही दिन सञ्चारकर्मीसँग समेत कुरा नगर्ने जनाएकी छिन् । उता, केशव विष्ट सदस्यसचिवमा चयन भएलगत्तै लामा टेन्डी शेर्पाको फेसबुक स्ट्याटसले नेपाल खेलकुद महासंघ दुई चिरामा विभक्त भएको छ । टेन्डीको पक्षमा खेलकुद महासंघका अधिक सदस्य थिए ।
एमालेको बुटवल महाधिवेशनमा पराजित भएपछि खेलकुद महासंघको नेतृत्व गरेका पौडेल मन्त्रीको रूपमा मात्र होइन, संघ अध्यक्षको रूपमा पनि असफल भएका छन् । उनको कार्यकालमा एमाले विचार बोक्ने खेलकर्मी एकत्रित हुनुको साटो गुट र उपगुटमा विभाजित भएका छन् ।
६ वर्षअघि संगठन स्थापनाको घोषणा हँदा नै सरस्वती क्याम्पसमा अखिलको राजनीति गरेका कराते प्रशिक्षक सन्तोष श्रेष्ठसहितको समूहले पौडेलविरुद्ध धावा बोलेका थिए । खेलकर्मीलाई बेवास्ता गर्दै महासंघ स्थापना गरिएको उनको आरोप थियो । एमालेकै विचार बोक्ने माथिको खेलकुद महासंघको यो प्रवृत्ति यत्तिमा सीमित थिएन । नेपाल भलिबल संघको निर्वाचनमा तत्कालीन एमाले धनकुटा जिल्ला कमिटी सदस्य तथा भलिबल संघका उपाध्यक्ष गजेन्द्र ताम्ली माथि प्रतिशोधपूर्ण व्यवहारपछि महासंघ नेतृत्व अर्कोपटक चोइटिएको थियो । यसअघिको साधारणसभामा एमाले निकट उम्मेदवार गंगा थापाले गाम्लीको सहयोगमा आफू अध्यक्ष हँदै उनलाई अर्को कार्यकालका अध्यक्ष बनाउने सहमति गरेका थिए । तामाङसँगको पराजयपछि ताम्ली खेल क्षेत्रबाट टाढिए भने महासंघको समर्थन पाएर अध्यक्ष भएका दानबहादुर पनि महासंघविरुद्ध छन् ।
एमालेले कर्णबहादुर थापालाई खेलकुद इन्चार्ज चयन गरे पनि त्यसलगत्तै महासंघको इटहरीमा सम्पन्न केन्द्रीय कमिटीको बैठकमा उनको उपस्थितिलाई कम महत्व दिइयो । कर्णको आत्मसम्मानमाथि ठेस पु¥याएको महासंघ नेतृत्वको गतिविधि यत्तिमा सिमित भएन । पौडेल मन्त्री हँुदा स्थानीय तहको प्रतियोगिता आयोजना गर्दा बजेट दिइने आश्वासनमा महिनौँ झुलाउने र अन्त्यमा रित्तो हात फर्काउने उनको आदतको कारण धेरै खेलकर्मी आक्रोसित भए । यसरी आक्रोसित हुनेमा कुनै समय पौडेलका निम्ति दिलौज्यान दिनेहरू नै छन् । यसखाले व्यवहारका सिकार भएका थुप्रै पात्र हुनसक्छन् । तर, यसमध्ये एक खेलकुद महासंघ निकट कराते प्रशिक्षक सानोबाबु गिरी रहे । गत वर्ष मेलम्ची ओपन कराते प्रतियोगितामा यसै व्यवहारको सिकार भएका थिए । यसपछि उनीसहित एउटा समूहले विद्रोह गर्दै काठमाडांमा भएको कार्यकता भेला बहिष्कार मात्र गरेन, महासंघको हरेक गतिविधि टाढा रह्यो ।
महासंघको इटहरी बैठकमा पनि पार्टी नेतृत्वलाई अस्वीकार गर्दै आफूलाई इन्चार्ज नमान्न खोजिएको कर्ण स्वीकार्छन् । साथै उनले शकुन्तला माथिको व्यवहार दुःखद भएको बताउँदै भन्छन्, ‘कसैमाथि पनि यसखाले दुव्र्यवहार गर्न पाइँदैन ।’ थापाले पार्टीको कुनै निकायसँग सल्लाह नभई यस्तो निर्णय भएको बताएका छन् । उनले ओलम्पिक कमिटी महासचिव जीवन राम श्रेष्ठको भूमिका पनि खराब रहेको बताए ।
त्यत्ति मात्र होइन, खेलकर्मीमा रहेको खेलकुद ज्ञानको खिल्ली उठाउने गरेका पौडेलले आफू सभासाद् हुनेबित्तिकै राष्ट्रिय तेक्वान्दो संघले आयोजना गरेको सम्मान कार्यक्रममा यो पवृत्ति देखाए । खेलकुद पृष्ठभूमि भएर खेल नेतृत्वमा आउनु र खेलकुदबारे जानकारी नभई आउनुलाई ‘ विवाहअघि प्रेम गर्नु र प्रेम गरेर विवाह गर्नु’ जस्तै भएको संज्ञा दिँदै खिल्ली उडाएका थिए ।
परिसद् बोर्डका लागि आफूले तयार गरेको नामावली पार्टी नेतृत्वले बारम्बार अस्वीकृत गरेपछि पौडेलले संघ प्रतिनिधिको रूपमा सदस्य बनाउँदै केशवलाई सदस्यसचिव चयन गरेका थिए । तर, आफँैले सदस्यसचिव बनाएको शकुन्तला नगरकोटीलाई पदमुक्त भएको जानकारी दिन र सल्लाह गर्नसमेत उनले आवश्यक ठानेनन् ।
पौडेल नेतृत्वमा राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध थुप्रै संघमध्ये महत्वपूर्ण ५ संघमा एमाले नेतृत्वमा छ । भलिबल संघ र ह्यान्डबल संघ महासंघको प्रभावबाहिर छ । हक्की संघले लागातार २१ वर्ष निर्वाचन गर्न र साधारणसभा समेत गर्न नसकेपछि युवराज लामाले विघटन गरेका छन् । कराते महासंघको अन्तर्राष्ट्रिय मान्यता पुरेन्द्र विक्रम लाखेको संघलाई छ । तर, राष्ट्रिय मान्यताबारे आफू संघ अध्यक्ष रहँदा आन्दोलन गर्ने पौडेलले मन्त्री हुँदा त्यो विषयमा चासो दिएका छैनन् । राष्ट्रिय मान्यता दावा गुरुङको नेतृत्वलाई छ । बास्केटबल संघका अध्यक्ष टेन्डीले मन्त्रीको निर्णयबारे आफ्नो धारणा राखिसकेका छन् । मन्त्रीको रूपमा लगातार मुद्दामा पराजयको सामना गर्ने र कानुनको वास्ता नगर्ने भनी अलोचित पौडेल महासंघ अध्यक्षको रूपमासमेत असफल भएका छन् ।

प्रतिक्रिया