खेलकुद महासंघको विवाद छताछुल्ल

Purshottam-Poudelकाठमाडौं, १२ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष एवं एमालेको भ्रातृसंगठन नेपाल खेलकुद महासंघका महासचिव लामा टेण्डी शेर्पाले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको आलोचना गरेका छन् ।

शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार सन्देश लेखेर मन्त्री पौडेलको आलोचना गरेका हुन् । आफ्नै संगठन खेलकुद महासंघका कार्यवाहक अध्यक्षसमेत रहेका उपाध्यक्ष केशव विष्टलाई मन्त्री पौडेलले बिहीबार राखेप सदस्यसचिवमा नियुक्त गरेपछि शेर्पाले विरोध गरेका हुन् ।
टेण्डीले खेलकुद महासंघले आपूलाई राखेपको सदस्यसचिवमा नियुक्तिका लागि सर्वसम्मत निर्णय गरेको दाबी गरेका छन् । महासंघको निर्णयविपरीत मन्त्री पौडेलले निर्णय गरेको भन्दै टेण्डीले आपत्ति जनाएका हुन् ।
‘नेपाल खेलकुद महासंघको सर्वसम्मत निर्णयबाट राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको पदमा मलाई प्रस्तावित गर्नुहुने सम्पूर्ण कमरेडहरूमा हार्दिक धन्यवाद दिन चाहन्छु’, टेण्डीले भनेका छन्, ‘तपाईंहरूले ममाथि गर्नुभएको विश्वासलाई अझ थप ऊर्जाका साथ खेलकुदको क्षेत्रमा पार्टीको र खेलकुदकर्मीको तर्पmबाट आफ्नो भूमिकालाई इमान्दारपूर्वक निभाउने प्रण गर्दछु ।’ ‘व्यक्तिगत लाभको आधारमा संगठनको मनोभावनाविरूद्ध जुन अप्रिय निर्णय वर्तमान खेलकुदमन्त्री पुरूषोत्तम पौडेलद्वारा भएको छ त्यसका विरूद्ध पनि खेद प्रकट गर्न चाहन्छु’, टेण्डीले सन्देशमा भनेका छन् । टेण्डीले प्रथमपटक राखेप सदस्यसचिव नियुक्त भएकी एमालेको महिला नेत्री शकुन्तला नगरकोटीलाई जानकारी नै नगराई हटाएर पौडेलले चीरहरणको स्वरूप देखाएको आरोप लगाएका छन् । ‘मन्त्री पौडेलको शैलीले सम्पूर्ण महिला जातिमाथीको अपमान भएको महसुस गरेको छु’, टेण्डीले भनेका छन् । खेलकुद महासंघको अध्यक्ष स्वयं खेलकुदमन्त्री पौडेल हुन् । पौडेलले नै बिहीबार राखेपमा विष्टसहित राजेन्द्र श्रेष्ठ र मोहम्मद समिउल्लाहलाई नियुक्त गरेका थिए । टेण्डीको सन्देशसँगै एमालेको खेलकुद महासंघको विवाद सडकमा आएको छ ।
फेसबुकमा सन्देशसँगै टेण्डीले आफ्नो र शकुन्तला नगरकोटीको तस्बिर पनि राखेका छन् । नगरकोटी बिहीबारदेखि नै सदस्यसचिवबाट मुक्त भएकी हुन् । शकुन्तला आफ्नो कार्यकक्षमा बसेर सञ्चारकर्मीसामु भावीयोजना बताइरहँदा उनले एक्कासी पदमुक्त भएको खबर पाएकी थिइन् । उनको कार्य योजनामा रहेको ६ विषयमा दुईमा निर्णय भइसकेको थियो भने चार विषय बाँकी नै रहेका छन् । परिषद् बोर्डमा एमालेको प्रतिनिधित्व गर्ने पाँच जना भए पनि शकुन्तला खेलकर्मीको रूपमा सबैभन्दा राम्रो पृष्ठभूमि भएकी व्यक्ति हुन् । उनी भलिबलको राष्ट्रिय टोलीमा छनोट भइसकेकी खेलाडी हुन् भने कबड्डीको पनि राष्ट्रिय तहको प्रतियोगिताको अनुभव छ । लामोसमयदेखि बास्केटबल संघको नेतृत्व गरेका लामा टेन्डी शेर्पासँग बास्केटबल खेलेको अनुभव पनि छ । अन्य तीनसँग कोर्ट र जर्सीको अनुभव सायदै छ ।

प्रतिक्रिया