उत्कृष्टभित्र पर्‍यो मुस्ताङ

मुस्ताङ । प्रयोगात्मक विषयको नम्बर हराउँदा स्थगित भएको मुस्ताङ जिल्लाको प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

ढिला गरी प्राप्त नतिजाअनुसार मुस्ताङमा ८६.५९ विद्यार्थी उत्तीर्ण भएका छन् । देशभर ४७ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा हिमाली जिल्लाको नतिजा भने देशकै दोस्रो उत्कृष्ट भएको जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानेले जानकारी दिए । ‘भक्तपुरको नतिजा ८७ प्रतिशत छ, हामी देशकै दोस्रो भयौँ, यो हिसाबले हामीलाई गर्व लागेको छ,’ जिशिअ न्यौपानेले भने, ‘आगामी दिनमा यो नतिजालाई निरन्तरता दिन चुनौती पनि थपिएको छ ।’
जिशिका मुस्ताङका अनुसार ९७ जना विद्यार्थीले परीक्षा दिएकोमध्ये ४६ जना प्रथम श्रेणी, ३७ जना द्वितीय र एकजना तृतीय श्रेणीमा गरी ८४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
असार ४ गते प्रकाशित भएको प्रवेशिका परीक्षाको नतिजामा मुस्ताङको नतिजा समावेश भएको थिएन । जिशिकाले प्रयोगात्मक नम्बर पठाए पनि परीक्षा नियन्त्रण कार्यालयले समावेश नगर्दा समस्या भएको थियो । ‘ढिलै भए पनि राम्रो नतिजा आएको छ, अहिले हामीले हरेक विद्यालयमा मार्कसिट पुर्‍याइसकेका छौँ,’ जिशिअ न्यौपानेले भने । (सौस)

प्रतिक्रिया