काठमाडौं, ९ असार । आइसिसी विश्व टी–ट्वान्टी छनोट तथा विश्व क्रिकेट लिग च्याम्पियनसिपको थप तयारीका लागि १९ खेलाडीसहित २३ सदस्यीय नेपाली टोली मंगलबार इंग्ल्यान्ड प्रस्थान गरेको छ ।
पारस खड्काको नेृतत्वमा रहेको नेपाली राष्ट्रिय टोलीले २४ देखि २९ जुनसम्म अभ्यास गर्ने र त्यसपछि जुलाई चारसम्म इंग्ल्यान्डका लन्डन र आर्मस्टर्डमका स्थानीय क्लबसँग चार अभ्यास खेल खेल्ने क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले जानकारी गराए । टी–ट्वान्टी विश्वकप छनोट तथा आयरल्यान्ड र स्कटल्यान्डमा ६ देखि २६ जुलाइसम्म हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले आयोजक आयरल्यान्डसँगै हङकङ, पपुवा न्युगिनी, नामिबिया, अमेरिका र जर्सीसँग समूह चरणको खेल खेल्नेछ । नेपालले पहिलो खेल १० जुलाइमा अमेरिकाविरुद्व खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । १४ टोलीले सहभागिता जनाएको प्रतियोगिताको शीर्ष ६ टोली अर्को वर्ष भारतमा हुने विश्व टी–ट्वान्टी प्रतियोगिताको लागि छनोट हुनेछन् । अन्य चार टोली भने प्लेअफ खेल्नुपर्ने हुन्छ ।
विश्वकप छनोटपछि नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत स्कटल्यान्डसँग दुई खेल खेल्नेछ । नेपालले च्याम्पियनसिपमा स्कटल्यान्डसँग जुलाई २९ र ३१ मा खेल्दै छ । क्यानका सदस्य नरेशकुमार श्रेष्ठको व्यवस्थापनमा जाने नेपाली टोलीमा कप्तान पारस खड्कासँगै ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, अनिल मण्डल, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सुवास खकुरेल, सागर पुन, विनोद भण्डारी, भूवन कार्की, प्रदीप ऐरी, जितेन्द्र मुखिया, पृथु बाँस्कोटा छन् । यस्तै सिद्धान्त लोहनी पहिलोपल्ट टोलीमा छन् । राजेश पुलामी, अविनाश कर्ण, महेश क्षत्री पनि टोलीसँगै जानेछन् । यस्तै भ्रमण टोलीमा संघका कार्यवाहक अध्यक्ष दीपक कोइराला, टेक्निकल एनलिस्ट रमन शिवाकोटी, छुम्मी लामा, मुख्य प्रशिक्षक पुवुदु दाासानायके, सहायक प्रशिक्षक विनोद दास रहेका छन् । सोही समारोहमा नेपाल टोलीले लगाउने नयाँ जर्सी पनि सार्वजनिक गरेको थियो ।
बिदाई कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा सिचाइँमन्त्री नारायणप्रकाश साउदले प्रतियोगितामा आत्मविश्वासी भएर खेल्न आग्रह गरे । ‘खेलाडी भनेका राष्ट्रका गहना तथा राजदूत जस्तै हुन् ।’ उनले पछिल्लोसमय नेपाली क्रिकेटले लामो फड्को मारेको भन्दै त्यही चार्मलाई यो प्रतियोगितामा पनि देखाउने बेला आएको बताए । यसैगरी मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले नेपाली खेलाडी सेलिब्रेटी भएकाले अरू केही पनि नसोचिकन खेलमा नै केन्द्रित भएर खेल्न आग्रह गरे । उनले सरकारले घोषणा गरेको पुरस्कार पाउन दुई÷तीन महिनाभन्दा पनि बढी लाग्ने भएकाले त्यस्तो झन्झटलाई कम गर्नका लागि छुट्टै खालको कार्यविधि तयार पारिरहेको बताए ।
बिदाई कार्यक्रममा बोल्दै क्यानका कार्यवहाक अध्यक्ष दीपक कोइरालाले जसरी अहिले बिदाइ गरिरहेको छ । त्यसैगरी गतवर्ष जस्तै प्रतियोगिताको छनोट हुने गरी खेल्न आग्रह गरे । कोइरालाले संघमा व्यवस्थापनका कुराहरू पनि बिस्तारै समाधान हुँदै गएको बताए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले टोलीको मुख्य लक्ष्य भनेको प्रतियोगिता जित्ने रहेको बताए । ‘गएको दुई वर्षको छनोटको वर्षहरूको इतिहास हेर्ने भने राम्रो भन्दा राम्रो नतिजा निकालिरहेकाले प्रतियोगिता जित्दै विश्वकपमा छनोट हुन सक्छ ।’ खड्काले भने, ‘टिममा प्रतियोगिता जित्न सक्ने क्षमता छ । तर, सबै टोलीले विश्वकप छनोटका लागि राम्रो तयारी गर्ने भएकाले प्रतियोगिता जित्न भने सजिलो भने हुने छैन ।’ खड्काले चाहिएको बेललमा खेल्नसके प्रतियोगिताको विजेता बन्न कसैले रोक्न नसक्ने बताए । उनले भारतको हिमाञ्चल प्रदेशमा राम्रो वातावरणमा तयारी गर्ने मौका पाएको भन्दै सबै फिट भएकाले प्रतियोगिता जित्नको लागि कुनै कसर बाँकी नराख्ने बताए । कप्तान खड्काले टोलीको सबै पक्ष बलियो भएको भन्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।
यस्तै उनले प्रतियोगिताको लागि कुनै पनि प्रेसर नभएको पनि थपे । यस्तै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुवुदु दासानायाकेले हिमाञ्चल धर्मशालामा १२ दिनसम्म सुविधायुक्त वातावरणमा प्रशिक्षण गर्ने मौका पाएकाले टोलीको मनोबल उच्च रहेकाले प्रतियोगिता जित्न सक्ने बताए । यसैबीच, नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षक पुवुदु दासानायकेको कार्यकाल डिसेम्बर ३१ सम्म थप गरेको छ । पुवुदुको कार्यकाल आगामी जुलाई १५ मा सकिँदै छ । क्यानले गतवर्ष पुवुदुको कार्यकाल नथपेपछि नेपाल सरकारले उनको कार्यकाल एक वर्षका लागि थप गरेको थियो । यस्तै इंग्ल्यान्ड भ्रमणका लागि क्यानले ब्याटिङमा भारतका मोन्टी देसाई र फिजियोमा एजाज अन्सारीले नियुक्त गरेको छ ।
प्रतिक्रिया