ओलम्पिक डे मनाइयो

olympicकाठमाडौं । ‘विपत्विरुद्ध हामी लड्न सक्छौँ’ भन्ने नाराका साथ मंगलबार नेपालमा पनि ओलम्पिक डे मनाइयो । नेपाल ओलम्पिक कमिटीअन्तर्गत रहेको स्पोट्र्स फर अल कमिसनको आयोजनामा नेपालमा १३ जुनदेखि ओलम्पिक डे मनाउन सुरु गरिएको थियो । मोर्डन ओलम्पिकको सुरुआत भएको २३ जुनलाई विश्वभरिका २ सय ५ राष्ट्रले ओलम्पिक डेका रूपमा मनाइन्छ । सन् १८९४ को २३ जुनमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) विधिवत रूपमा स्थापना भएको थियो ।
लगनखेलस्थित नेपाल आर्मी स्पोट्र्स एन्ड फिजिकल टे«निङ सेन्टरमा ओलम्पियन, खेलाडी, विद्यार्थी, खेल पदाधिकारी तथा खेलप्रेमीको उपस्थितिमा ओलम्पिक डे मनाइएको हो । नेपालमा ११ दिनसम्म विभिन्न खेलकुद, सांस्कृति र शैक्षिक गतिविधिसहित ३२ वटा कार्यक्रम गरी ओलम्पिक डे मनाएको कमिसनका चियरम्यान विष्णुगोपाल श्रेष्ठले बताए ।
मंगलबार भएको ओलम्पिक डेको विशेष कार्यक्रममा नेपालका ओलम्पियन जितबहादुर केसी, संगिना वैद्य, कमल अधिकारी, राजेन्द्र भण्डारी, चन्द्रकला थापा, देवु थापा, फुलमाया क्यापाछाकी, पुष्पराज ओझा, प्रविन तुलाधर, टीकाराम श्रेष्ठले ओलम्पिक टर्च लिएर मार्चपास गरेका थिए ।
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नेपालको उद्घाटन गरे । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धु्रवबहादुर प्रधानले नेपालमा गत वर्षदेखि ११ दिनसम्म विविध कार्यक्रम गरेर ओलम्पिक डे मनाइरहेको बताए ।
‘कुनै पनि भेदभावविना खेलकुदमा सहभागीता वृद्धि गर्ने र खेलाडीको स्तरवृद्धि गर्ने उद्देश्यले ओलम्पिक डे मनाउन थालिएको हो’, प्रधानले भने । उनले ओलम्पिकको मर्म र भावनालाई आत्मसाथ गरेर अगाडि बढे नेपालले भूकम्पको घाउलाई समेत छिटो निको पार्न सकिने बताए ।
नेपालका लागि जापानी राजदूत मासाइ ओगावाले १९६४ पछि २०२० मा जापानले ओलम्पिक खेल आयोजना गर्ने अवसर पाएको बताए । उनले नेपाल विविध धर्म र जातजाति रहेको देश भएकाले खेलकुदले मात्र एकजुट बनाउन सक्ने बताए । नेपालका लागि ब्राजिलका राजदूत मारिया टेरेसाले २०१६ को रियो ओलम्पिकका लागि नेपाललाई निम्तो दिँदै नेपाललाई भिसा प्रक्रिया सहज रहेको समेत बताइन् । नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठ र स्पोट्र्स फर अल कमिसनका चियरम्यान विष्णुगोपाल श्रेष्ठले ओलम्पिकको भावना र मर्मबारे प्रकाश पारेका थिए ।
सो अवसरमा ओलम्पिक संग्रालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो । त्यसैगरी मार्चपासमा सहभागी ९ जना ओलम्पियनलाई सम्मान गरिएको थियो । चर्चित गायिका कुन्ती मोक्तान, गायक सत्यराज आचार्य, रोज मोक्तानले आआफ्नो प्रस्तुति दिएका थिए । त्यैगरी, नाइटिङगेल स्कुल, अखण्ड विद्यासदनका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । सो कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्की सदस्यसचिव शकुन्तला नगरकोटी नेपाली आर्मीका रथी, राजेन्द्र क्षेत्री, उपरथी राजेन्द्र कार्कीलगायतको उपस्थिति थियो । (सौस)

प्रतिक्रिया