काठमाडौं । अग्लो कद, कसिएको शरीर अनि घुङ्रिएको कपाल । राजधानीको अनामनगरस्थित पूर्वी गेटअगाडि रहेको मन्डला थिएटरमा यस्तै रूपका एक युवक यताउता गरिरहेको अवस्थामा दैनिक भेटिन्छन् ।
उनको दौडधूप हेर्दा कुनै व्यस्त जागिरे जस्तै भए पनि उनको काम जागिरभन्दा पृथक छ, त्यो हो अभिनय । सिन्धुपाल्चोकको लिप्से घर भएका यी युवा हुन्, अंकित खड्का । जो मन्डला थिएटरमै दिनरात अभिनयको काममा व्यस्त छन् ।
कलाकार बन्ने धोको लिएर राजधानी भित्रिएका अंकितले विगत आठ वर्षदेखि सानाठूला भूमिकामा नाटक, फिल्म र म्युजिक भिडियोमा अभिनय कला देखाइसकेका छन् ।
‘म्युजिक भिडियो, केही ठूला फिल्म र थुप्रै नाटकहरू खेलिसकेको छु,’ उनी भन्छन्, ‘तर भने जस्तो भूमिकामा अभिनय गर्न पाएको छैन ।’ अभिनयलाई विद्यालय मान्ने अंकित आफूलाई अभिनय सिक्दै गरेको विद्यार्थी मान्छन् ।
मन्डलामा नाटक सिकेर त्यही कलाकारको रूपमा काम गर्दै आएका अंकित घरमा जान पनि भ्याउँदैनन् । ‘कलाकारिता क्षेत्रमा पाइने सानातिना रोलमा अभिनय गर्दागर्दै समय गएको पत्तै हुँदैन रहेछ,’ उनी खुले । अनामनगरमै कोठा भाडामा लिएर बस्दै आएका उनी दैनिक खर्च चलाउन अभिभावकको भर पर्दैनन् । ‘बरु कमाइ हुँदा दुई/चार पैसा घर पठाउने गरेको छु,’ हाँस्दै उनले भने ।
‘बाबुआमाले छोरोले नाम र दाम कमाएको हेर्न चाहनुहुन्छ,’ हाँसोपछि गम्भीर हुँदै उनले भने, ‘के गर्ने अहिलेसम्म न नाम कमाउन सकियो, न दाम कमाउनै, तैपनि बाबुआमा र घरपरिवारबाट मलाई सहयोग गरिरहनुभएको छ ।’(सौस)
प्रतिक्रिया