सडेको खाद्यान्न वितरण दुःखद

Subas-Nembangकाठमाडौं । सभामुख सुवासचन्द्र नेम्बाङले जनतालाई दिएको खाद्यान्न अखाद्य हुनु दुःखद भएको बताए ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले गुणस्तरहीन खाद्यान्न परीक्षणविना वितरण गर्न संघसंस्थालाई कारबाहीको माग गरी बुझाएको ज्ञापनपत्र बुझ्दै सभामुख नेम्बाङले विपत्को अवस्थामा झन् पीडा दिनु दुर्भाग्य भएको बताए ।
उनले यस्तो अखाद्य पदार्थलाई हेर्ने जिम्मा सरकारको भएको भन्दै छानविनका लागि उपसमितिमार्फत काम भइरहेको जानकारी दिए । सभामुख नेम्बाङले आफ्नै नेतृत्वमा रहेको राष्ट्रिय विपत् व्यवस्थापन समितिले यस विषयलाई छानबिन गर्न संसदीय समितिमा लैजाने बताए ।
ज्ञापनपत्र बुझाउँदै संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले विश्व खाद्य कार्यक्रम, नेपाल रेडक्रस सोसाइटी, सेभ द चिल्डेनलगायत संघसंस्थाले बाँडेको चामल गुणस्तरहीन भएकाले कैयौँले ज्यान गुमाएको हुनसक्ने उल्लेख गरे ।
उनले काभे्रपलाञ्चोकको दक्षिणी भेगमा पर्ने पाँचखाल नगरपालिकाका महादेवस्थान, चण्डेनी, जैसीथोक, गैह्रीबिसौना देउपुर, बालुवापाटी देउपुर, नयाँ गाउँ देउपुरमा वितरण गरिएको चामलमा गुणस्तरहीन भएको बताए ।
मञ्चले आवश्यक वस्तु संरक्षण ऐन–०१४, कालो बजार तथा केही सामाजिक अपराध ऐन–०३२ लगायत विभिन्न ऐन एवं संयुक्त बजार अनुगमन निर्देशिका –०६९ अनुरूप उजुरी लिने, अनुगमन गर्ने छानबिन तथा अनुसन्धान गर्ने मुद्दा दायर गर्ने, वस्तु र सेवा बन्द वा रोक्का वा नष्ट गर्ने तथा व्यवस्थापिका– संसद्का समितिले दिएको निर्देशन कार्यान्वयन गर्ने माग गरेको छ ।
यस्तै, अदालत र राष्ट्रिय मानवअधिकार आयोगलगायत अन्य आयोग तथा समितिले दिएको आदेश तथा सिफारिस कार्यान्वयन गर्ने, विपत्तिपछि राहत वितरणमा देखापरेका विसंगतिहरूको छानबिन गर्ने तथा छानबिनबाट दोषी ठहरिएकालाई मुद्दा दायर गर्नेुपर्नेलगायत माग मञ्चले राखेको छ । (सौस)

प्रतिक्रिया