सान्टियागो, ८ असार । मुख्य स्ट्राइकर नेयमार चार खेलको प्रतिबन्धमा परेपछि ब्राजिललाई खेलमा गाह्रो हुने आशंका गरिए पनि ब्राजिल समूह ‘सी’ को विजेता बन्दै चिलीमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनमा प्रवेश गरेको छ ।
चार खेलको प्रतिबन्ध भोगिरहेका आफ्नो मुख्य खेलाडी तथा कप्तान नेयमारविना आइतबार बिहान स्टेडियो मोनुमेन्टल सान्टियागोमा भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई २–१ ले पराजित गर्दै ब्राजिल अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भयो । सुरुआतबाटै उत्कृष्ट खेल खेलेको ब्राजिलले नवौँ मिनेटमा गोलको खाता खोल्यो । नेयमारको स्थानमा खेल्ने अवसर पाएका रोबिन्होको कर्नर प्रहारमा थियागो सिल्भाको हेडिङ भेनेजुएलाका गोलरक्षकले रोक्ने कुनै मौका पाएन । १७औँ मिनेटमा रोबिन्होले गोलको अर्काे मौका चुकाए । २३औँ मिनेटमा फिलिप लुइजको कडा प्रहार गोलरक्षकले मुस्किलले बचाए । लगत्तै विलियनको क्रस पासमा रोवर्टाे फिरमिनो गोल गर्न चुके । ३०औँ मिेनटमा भेनेजुएलाले बराबरी गर्ने मौका गुमायो । करिव ३५ यार्ड टाढाबाट रोसेलले गरेको फ्री–किकमा टुनेजको फ्लिक हेड ब्राजिली गोलरक्षक जेफर्सनले मुस्किलले बचाए । ४४औँ मिनेटमा रोसेलले क्लोज रेन्जबाट गरेको शक्तिशाली प्रहार बचाउँदा ब्राजिल पहिलो हाफमा १–० ले अघि रहन सफल भयो । पहिलो हाफमा १–० को अग्रता लिएको ब्राजिलका लागि ५१औँ मिनेटमा रोवर्टाे फिरमिनोले गोल गर्दै अग्रता दोब्बर बनायो । त्यसभन्दा अघि सिल्भा गोल गर्नबाट चुके । फिरमिनोहो विलियमले दुई रक्षकलाई कटाएर दिएको पासमा डी–एरियाबाट गोल गरेका हुन् । दुई गोलले पछि परेपछि भेनेजुएलाले पनि आक्रमक रणनीति अपनायो तर ब्राजिलको डिफेन्स तोड्न ८४औँ मिनेट कुर्नुप¥यो । ८४औँ मिनेटमा भेनेजुएलाका फेडरले गोल गरे पनि त्यो जितका लागि पर्याप्त भएन । पराजित भएपछि भेनेजुएला प्रतियोगिताको समूह चरणबाट बाहिरियो । पेरुसँग गोलरहित बराबरी खेलेको कोलम्बिया अघिल्लो चरण जानको लागि दुईमध्ये एक टोली पराजित हुनुपर्ने थियो । यस्तै आइतबार बिहान नै भएको खेलमा कोलम्बियालाई गोलरहित बराबरीमा रोक्दै पेरु पनि समूह ‘सी’ बाट उपविजेताको रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । बराबरीपछि पेरु र कोलम्बिया दुवैको समान चार अंक भएको छ । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका अवसरहरू सिर्जना गरे पनि गोलगर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । कोलम्बियाका जेम्स रोड्रिग्वेज र राडामेल फाल्काओले गोल गर्न सकेनन् ।
ब्राजिलले भेनेजुएलालाई पराजित गरेपछि कोलम्बिया अघिल्लो चरण प्रवेश भाग्यमानी टोली बनेको छ । उत्कृष्ट उपविजेताको रूपमा कोलम्बियाले इक्वेडरलाई पछि पार्दै अर्काे चरणमा स्थान बनायो । समुह ‘ए’ को इक्वेडर भने प्रतियोगिताबाट बाहिरियो । (एजेन्सी)
प्रतिक्रिया